उपल्लो डोल्पामा नेपाल टेलिकमको सेवा शुरु

डोल्पा :  दुर्गम हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने धो बस्तीमा पहिलो पटक नेपाल टेलिकमको सेवा विस्तार भएको छ ।

डोल्पाको बुद्ध गाउँपालिकामा पर्ने उपल्लो डोल्पामा पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोबाइल फोन सेवा शुरु भएपछि त्यहाँका बासिन्दाले मोबाइल बाट देश विदेशमा कुरा गर्न पाएका छन् ।

फोन सेवाको अभावमा वर्षौंदेखि सम्पर्क विहीन हुँदै आएको धोका बासिन्दा सञ्चार सुविधामा जोडिए पछि खुशी भएका छन् ।

धोमा नेपाल टेलीकमले माइक्रो विटियस नमस्ते टावर राखे संगै वर्षौं देखिको स्थानीयवासीको सपना साकार भएको दूरसञ्चार कार्यालयले जनाएको छ ।

माथिल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा पर्ने धो बस्तीमा माइक्रो बिटिएस जिएसएम मोबाइल टावर वैशाख ९ गतेदेखि सञ्चालनमा आएको हो ।

उक्त मोबाइल टावरबाट एक पटकमा १४ जना सम्मले मात्र कुरा गर्न सकिने टावर जडानका लागि डोल्पा पुगेका प्राविधिक खेमराजसिंह बोहोराले जानकारी दिए ।

पहिलो पटक माथिल्लो भोटमा परीक्षणका लागि पाँच वटा मात्र च्यानल भएको रसियन (टाइम स्लोट) उपकरण जडान गरिएको हो । यो प्रविधि अत्यन्तै महँगो पर्ने बताइएको छ ।

उक्त टावरले धो, ताक्सीलगायत बस्तीको कुनाकुना सम्म नधान्ने तर थोरै भए पनि समस्या समाधान भएको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताए ।

जिल्लाको विकट क्षेत्र मानिने उपल्लो डोल्पा साल्दाङ, भिजेर, फोक्सुण्डो, छार्कालगायत दर्जनौँ बस्ती अझै पनि फोन सम्पर्क विहीन छन् ।

पूर्व शान्ति मन्त्री तथा वर्तमान सांसद सत्या पहाडीले उपल्लो डोल्पालाई सञ्चार पहुँचमा जोड्न विशेष पहल गरिरहेका छौँ, अब छिट्टै त्यहाँका गाउँबस्तीमा फोन सुविधा विस्तार गरेर जनतालाई घरआँगन बाटै विश्व सँग जोड्छौँ भने ।

Credit : raranews.com

कर्णाली घोषणापत्रः ६ बुँदे प्रतिबद्धता, नौ बुँदे आह्वान

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ ।  कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र तथा नेप्लिज सिभिल सोसाइटी माउण्टेन इनिसियटिभको पहल तथा राष्ट्रिय मानवाधिकार आयोग नेपालको समन्वयमा आयोजित ‘समावेशी विकास अधिकारको सुनिश्चिताः सामाजिक न्याय र समृद्धिको पहल’ विषयक कर्णाली सम्मेलनबाट ‘कर्णाली घोषणा पत्र’ जारी गरिएको हो ।

कर्णाली प्रदेश सरकार, स्थानीय सरकार, सांसदहरु, योजनाविद्, विकास साझेदार, उत्प्रेरक र विभिन्न संघसंस्थाको सहभागितामा सम्पन्न सम्मेलन द्वारा जारी घोषणापत्रमा ‘छबुँदे प्रतिबद्धता र नौबुँदे आह्वान’ उल्लेख गरिएको छ ।

उक्त घोषणापत्रमा समुन्नत र समृद्ध कर्णाली निर्माण, लोकतान्त्रिक मूल्य मान्यता, कानूनी शासन, मानवाधिकारको पालना, सामाजिक उत्तरदायित्वका मूलभूत मान्यतालाई आत्मसात् गर्ने, विकास प्रक्रियामा ऐक्यबद्ध सहभागिता, मानव अधिकारमैत्री, लैङ्गिक समानता, समावेशी र सामाजिक न्यायपूर्ण योजना निर्माण र छनोट प्रक्रिया गरी सबैखाले विभेदको अन्त्य गर्ने प्रतिबद्धता गरिएको छ ।

त्यस्तै, कर्णाली प्रदेशको आर्थिक अभाव, पछौटेपनको अन्त्य गर्दै श्रमप्रतिको सम्मान र सकारात्मक सोचको विकास गरी यहाँका नागरिकको आधारभूत स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षामा पहुँचको सुनिश्चितता र जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा अनुकूलनका लागि आ–आफ्नोतर्फबाट पहल र प्रयत्न गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता गरिएको छ ।

त्यसैगरी, सो घोषणापत्रले आवधिक योजनामा भौतिक पूर्वाधार र मानव विकासको सन्तुलन कार्यक्रम योजना प्रक्रिया (तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन) मा सही परिपाटी बसाल्न, कर्णाली क्षेत्रको विशिष्टतालाई पहिचान गरी माउण्टेन विश्वविद्यालय, प्राविधिक, व्यावसायिक तथा रोजगारमूलक शिक्षाको प्रवद्र्धन गर्न आह्वान गरेको छ ।

साथै, आत्मनिर्भर अर्थतन्त्र अवलम्वनका लागि लगानीकर्ता र विकास साझेदारको प्रदेश सम्मेलन आयोजना गर्न, राष्ट्रियस्तरका विकास आयोजनाको निर्धारणमा क्षेत्रीय सन्तुलन प्रवद्र्धन हुनेगरी बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिन संघीय सरकारलाई अनुरोध गर्ने र समग्र कुरीतिको अन्त्य गर्दै लक्षित वर्गको सामाजिक न्यायसहितको समुन्नत समृद्ध समाज निर्माणका लागि प्रदेश तथा स्थानीय सरकारसँग आह्वान गर्ने सवाल घोषणापत्रमा उल्लेख छ ।

राष्ट्रिय योजना आयोगको भिन्दै शाखा खडा गर्न, प्राकृतिक स्रोतलाई सामुदायिक सम्पत्तिका रुपमा परिभाषित, अनुसन्धान, प्रशोधन र बजारीकरण व्यवस्था, राष्ट्रिय कार्ययोजनाभित्र कर्णाली क्षेत्रका महिलाको अर्थपूर्ण सहभागिता र समावेशीताको विषयलाई प्राथमिकता दिन संघीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गर्ने कुरा उल्लेख गरेको छ ।

त्यसका साथै जलवायु परिवर्तन विकास प्रक्रिया र तिनका उपलब्धिमा प्रतिकूल असर पार्ने जोखिम र अवसरको पहिचान गरी विकास आयोजनाको प्रक्षेपण, तर्जुमा र कार्यान्वयनमा जोखिम न्यूनीकरण तथा अनुकूलनको उपयुक्त नीति तथा मार्गदर्शन तयार गरी लागू गराउन नेपाल सरकार र राष्ट्रिय योजना आयोगलाई विशेष आह्वान गर्ने कुरा घोषणापत्रमा उल्लेख छ ।

Credit : raranews.com

डोल्पामा काँग्रेसले गठन गर्याे छायाँ सरकार

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ ।

नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो ।

छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको पनि नेपाली काँग्रेस डोल्पाले जानकारी दिएको छ ।

छायाँ सरकारले त्रिपुरासुन्दरी नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्ने पनि जनाइएको छ ।

अबको केही समयमै बाँकी ६ गाउँपालिका र ठूलीभेरी नगरपालिकामा पनि छायाँ सरकार गठन गर्ने तरुण दल, डोल्पाका सभापति तुलबहादुर बोहोराले जानकारी दिए ।

Credit : raranews.com

सल्यानमा नयाँ यातायात प्रा.ली.

सल्यानः नेपाल सरकारले सिन्डिकेटको अन्त्यको घोषणा गरेसँगै सल्यानमा नयाँ यातायात प्रा.ली खुलेको छ। शनिबार सल्यान खलंगामा कुमाख यातायात प्रा.ली.ले उद्घाटन कार्यक्रम गरेर सेवा सुरु गरेको जानकारी गराएको हो।

यात्रुहरुको माग र चाहानालाई मध्यनजर गरी नयाँ यातायात प्रा.ली सञ्चालनमा ल्याएको कुमाख यातायात प्रा.लीका अध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिए।

नेपाल सरकारले यातायात क्षेत्रको सिन्डिकेटका विरुद्ध काम कारवाही बढाई रहेको समयमा नेपाल सरकारलाई नै सहयोग पु¥याउने उद्देश्यले आफुहरुले नयाँ यातायात प्रा.ली सञ्चालनमा ल्याएको श्रेष्ठको भनाई रहेको छ।

सल्यानको सिन्डिकेटलाई टोड्नका लागि पनि आफुहरुले नयाँ प्राली खोलेको उनको भनाई रहेको छ । जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्लामा समेत सहज सेवा प्रदान गर्ने आफ्नो लक्ष्य रहेको श्रेष्ठले बताए ।

तत्काल १० वटा जीपबाट सेवा प्रदान गर्ने बताउदै केहिदिन भित्रै थप ११ वटा गाडी थप गरिने प्रालीका अध्यक्ष श्रेष्ठले बताए । जनताको मागलाई सम्बोधन गर्ने गरी सेवा प्रदान गरिने भएको छ ।

प्रालीले मार्के मदाना हुदै नेपालगञ्ज, सल्यान खलंगा सुर्खेत, कालिमाटी नेपालगञ्ज, सिलिंगे दाङ, खलंगा बालुवा, खलंगा सल्लीबजार लगायतका क्षेत्रमा सेवा प्रदान गर्ने भएको छ ।

Credit : raranews.com

रुकुममा विवाह मण्डप बाटै दुलाहा दुलही पक्राउ

रुकुम :  जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो ।

बालविवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले दुलाहा दुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो ।

सानीभेरी गाउँपालिका वडा नं १० अर्माका १८ वर्षीय बालक र सानीभेरी वडा नं ७ जैधुनेकी १७ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा प्रहरीले पक्राउ गरेको सिम्ली प्रहरी चौकीका प्रमुख गगनसिंह ठकुरीले जानकारी दिए ।

उनका अनुसार केटीका अभिभावक शिक्षक हुन । शिक्षित परिवारबाटै यसरी बालविवाह हुनु दुखद भएको उनको भनाइ छ । माइती घरमा विवाह अन्तिम चरणमा पुग्दै गर्दा प्रहरी त्यहाँ पुगेको थियो ।

प्रहरीले दुलाहा दुलहीलाई पक्राउ गरेपछि विवाह रोकिएको छ । विवाह रोकी केटाकेटीलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ ।
अशिक्षितभन्दा शिक्षित परिवारबाटै बालविवाह हुने गरेको प्रहरीको भनाइ छ । सरकारले केटाकेटी दुवै २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनेको छ । बालविवाह भएका प्रकृति हेरी छ महिना वा एक वर्षसम्म कैद हुन सक्ने कानूनी व्यवस्था छ ।

Credit : raranews.com

कर्णाली प्रदेशमा सेवा सुविधा सम्बन्धी विधेयक तयार

सुर्खेत : कर्णाली प्रदेश सरकारले स्थानीय तहका प्रमुखदेखि प्रदेशसभा सदस्य र मन्त्रीहरूको सेवा सुविधा तोक्ने गृहकार्य सुरु गरेको छ । बिहीवार मात्रै आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट सार्वजनिक गरेको सरकारले सांसद र मन्त्रीहरूको सेवा सुविधा र तलव तोक्ने तयारी गरेको हो । जसका लागि आवश्यक कानुन निर्माण थालिएको छ ।

मन्त्रीपरिषद बैठकले कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक, सेवा र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्री प्रकाश ज्वालाले सम्भवत आइतबारनै प्रदेशसभा बैठकमा उक्त विधेयक पेश गर्ने छन् । प्रदेशसभाबाट उक्त विधेयक पास भएपछि प्रदेशसभा सदस्य र मन्त्रीहरूले तलव र सेवा सुविधा पाउने बाटो खुल्नेछ ।

बैठकमा आन्तरीक मामिला तथा कानून मन्त्रालयले पेश गरेको उक्त मस्यौदा केही परिमार्जनसहित मन्त्रीपरिषद्को बैठकले प्रदेशसभामा पेश गर्ने स्वीकृति दिएको हो । भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले शनिबारको बैठकबाट कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्वन्धि विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय भएको बताइन् ।

कर्णाली प्रदेश सरकारको प्रवक्तासमेत रहेकी उनले मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति गरिएको जानकारी दिइन् ।

यस्तै, उनले प्रादेशिक सहकारी ऐन २०७५ तर्जुमा गर्नका लागि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई सैद्धान्तिक सहमति भएको बताइन् ।

Credit : raranews.com

प्रदेश प्रमुख काम बिहिन

काठमाडौं : सातै प्रदेशका प्रमुखलाई आजकाल खासै चटारो छैन। भूमिका नै कम भएपछि चटारो होस् नै कसरी? खासमा उनीहरू फुर्सदमै छन्। कार्यालयमा न मारामार काम छ, न त भेटघाट नै बाक्लो चल्छ। त्यसैले, हिजो हरपल सक्रिय रहेका उनीहरूलाई आजको निस्क्रिय दैनिकी पट्यारिलो लाग्दै छ। प्रदेश प्रमुखको कार्यालयमा सामान्यतः सचिवदेखि कार्यालय सहयोगीसम्म गरी १८ जनासम्म कर्मचारीको दरबन्दी हुन्छ। निजामती सेवाका सहसचिव कार्यालय सचिव रहन्छन्।

२ उपसचिव, ७ शाखा अधिकृत र २ नायब सुब्बाको दरबन्दी हुन्छ। खरिदारलगायत अन्य पदमा पनि दरबन्दी हुन्छ। प्रमुखले निजी सचिवालयतर्फ भने १२ जनासम्म नियुक्त गर्न पाउँछन्। प्रदेश १ : गोविन्दबहादुर तुम्बाहाङ बिहान ५ बजे उठिसक्ने तुम्बाहाङलाई निवास छाडेर कार्यालय दगुर्नु पर्दैन। उनको घरमै छ कार्यालय छ।

उठेर आधा घन्टाजति कम्पाउन्डमै ओहोरदोहोर गरेपछि एक झमट नुहाउँछन्। ‘बिहानको खाजा लिएपछि पत्रपत्रिकामा भुल्दाभुल्दै १० बजिसकेको हुन्छ। अनि, कार्यालयको कामतिर लाग्छु,’ प्रमुख तुम्बाहाङले भने, ‘सम्बन्धित कसैलाई केही काम पर्‍यो भने निवासमै पत्र लिएर आउँछन्।’ उनको दैनिकीमा भेटघाटको तालिका खासै हुँदैन। त्यसैले दिनभर फुर्सदिला हुन्छन्।

यो समय पुस्तक पढेर दिन छोट्याउँछन्। ‘दिउँसो कार्यक्रम हुँदैन, कहिलेकाहीँ हुने हो, त्यसैले दिउँसो व्यस्त हुन्नँ,’ तुम्बाहाङले सुनाए। प्रदेश २ : रत्नेश्वरलाल कायस्थ​ पूर्वप्रशासक रत्नेश्वरलाल कायस्थ योजनाविद् पनि हुन्। संघीय समाजवादी फोरमको राजनीतिमा सक्रिय थिए। हिजोको दौडधुपपूर्ण जीवन आज फेरिएको छ। प्रदेश प्रमुख नियुक्त भएपछि जनकपुरमा दिन काट्न सजिलो लागेको छैन उनलाई। कार्यालयमा खासै काम हुँदैन, कोही भेट्न आइदिए गफिने हो।

कसैले बोलाइदिए कार्यक्रममा पुग्ने हो, तर यस्तो मौका मुस्किलले जुर्छ। ५ बजे उठ्ने कायस्थ प्रणायाम गर्छन् ७ बजेसम्म। ‘त्यसपछि करिब ४५ मिनेट जनकपुर क्षेत्रमै ३–४ किमी पैदल हिंड्छु र फर्किएपछि पत्रपत्रिका पढ्न थाल्छु,’ कायस्थले सुनाए। समाचार पढ्दापढ्दै १० बजिसक्छ, यो समयमा कहिलेकाहीँ भेटघाट पनि हुन्छ।

खाना खाइवरी कार्यालय पुग्ने उनी साँझ ५ बजेतिर मात्रै निवास फर्किन्छन्। तर, कार्यालयमा रहँदा दिन के गरी कटाउँ भन्ने हुन्छ। कतै कसैले कार्यक्रममा बोलाएको दिन दिन बिताउन सजिलो भएको अनुभव उनले सुनाए। ‘२–३ दिनमा एउटा सामाजिक कार्यक्रममा निमन्त्रणा हुन्छ, उद्घाटन र शिलान्यास गर्छु,’ उनले भने।

प्रदेश ३: अनुराधा कोइराला सामाजिक अभियन्ता अनुराधा कोइरालाको विगत निकै व्यस्त थियो। तर, प्रदेश प्रमुख भइसकेपछि बाध्यतावश उनी बन्धनमा छिन्। संविधानले जुन पायो त्यो कार्यक्रममा जान र जहाँ पायो त्यहाँ निस्किन छुट दिएको छैन। अरू प्रदेश प्रमुखजस्तै कोइराला पनि आजकाल फुर्सदमै छिन्।

‘केही काम गरिरहनुपर्ने सक्रिय मान्छे हुँ, तर अहिले हैसियतले पनि धेरै सक्रिय हुन दिएन,’ उनले नयाँ पत्रिकालाई सुनाइन्। दिउँसोको समयमा कहिलेकाहीँ उद्घाटन र शिलान्यासका लागि निम्ता आउँछन्। उनी पुग्छिन्। ‘निम्तो आएका केही सामाजिक कार्यक्रममा सहभागी हुन्छु त्यस्ता कार्यक्रम पनि धेरै हुँदैनन्,’ कोइरालाले सुनाइन्।

कार्यालयमा १० देखि ५ बजेसम्म रहँदा खासै काम हुँदैन। तर, नियमित जान त परिहाल्यो। कार्यालयमा उनको भेटघाट पनि खासै हुँदैन। राजनीतिक व्यक्तित्व नभएका कारण भेटघाटका लागि कमै पुग्छन्। यो आजको नयाँ पत्रिकामा खबर छ

Credit : raranews.com

‘सरकारले बजेटमा विभेद गर्‍यो’

सुर्खेत : कर्णाली प्रदेश सरकारले बजेटमा विभेद गरेको सांसदहरुले बताएका छन्। विहीवार संसदमा पेश गरिएक आर्थिक वक्तव्यमा शुक्रबार भएको छलफलमा सांसदहरुले विभेद गरिएको बताएका हुन्।

दुई महिनाका प्रदेश सरकारले ल्याएको बजेटमा महत्वकांक्षी र विभेदपूर्ण भएको सांसदहरुले गुनासो गरेका छन्। बजेटले जनताका प्राथमिकता समेट्न नसकेको प्रदेशसभा सदस्य धर्मराज रेग्मीले बताए। संघीयताको कार्यान्वयन नै प्रमुख उद्देश्य राखेर सार्वजनिक गरिएको बजेटमा संघीयता कार्यान्वयनका मर्मअनुसार समानुपातिक रुपमा वितरण नभएको बताए।

‘कुनै जिल्लामा धेरै बजेट छुट्यिो, त्यसमा कुनै आपत्ति होइन्’ उनले भने,‘अरु जिल्लाको नाम नआएकोमा चिन्ता छ, अर्थमन्त्री कै जिल्लाका १२ वटा आयोजना छन् ।’ मन्त्री भएकै जिल्लामा थुप्रै विकास आयोजनामा बजेट विनियोजन हुनु संघीयताको मोडल नभएको उनले बताए। बजेट वितरणमा समानुपातिक नभएको भन्दै उनले स्रोत र साधनहरु पहुँचवालाकै क्षेत्रमा छुट्टाइनु संघीयको मर्मविपरीत भएको बताए।

‘सल्यानको नाम १२ ठाउँमा आउँदा दैलेखको नाम ४ ठाउँमा आएको छ’ उनले भने,‘दैलेखका माननीयहरुले विकास माग्नुपर्ने तरीका के हिजोको जस्तै हो ?’ सुर्खेत–जुम्ला केवुलकार दैलेख नछोएरै जाने हो?’ मन्त्रीहरुको शक्तिका आधारमा निती तथा कार्यक्रम तय गरिनुले संघीय व्यवस्थामा पनि जनप्रतिनीधि निराश हुनुपर्ने अवस्था रहेको उनले बताए।

‘सबै जिल्लाका स्थानीय तह वा जिल्ला जोड्ने सडकलाई प्राथमिकता दिनुपथ्यौं’ सांसद करविर शाहीले भने,‘बजेटले मन्त्री वा सरकारको प्रतिनीधि भएकै देखियो। योजना बनाउँदा आधार बनाइएका योजनामा सांसदहरुसँग छलफल हुनुपथ्र्यो ।’ शक्तिका आधारमा बजेट विनियोजना हुनुपर्ने अवस्था संघीयताले अन्त्य गर्न नसकेको उनले बताए। उनले जाजरकोट प्रदेश सरकारको बजेटमा उपेक्षामा परेको बताए।

‘सरकारले बजेट ल्यायो तर, सांसदहरुबाट के आयो भन्दा जनतालाई के जवाफ दिने ?’ उनले भने,‘कोही जिल्लामा दर्जन आयोजना पर्दा कुनै जिल्लामा लगायतका आयोजना भनिनु समानुपातिक बजेट वितरण होइन् ।’ बजेटमाथि शुक्रवार भएको छलफलमा अधिकांश सांसदहरुले सबै जिल्लामा समानुपातिक बजेट वितरणबाट समेट्न नसक्नु सरकारको कमजोरी भएको बताएका हुन्।

‘सानो बजेटमा सबै समेट्न सकिएन’
कर्णाली प्रदेश सरकारले बजेटमा धान्न नसकिने महत्वाकांक्षी योजनाहरु समावेश गरेको आरोप लाग्न थालेपछि सरकारले त्यसको बचाउ गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी बजेटमाथि भइरहेका टिप्पणीबारे आफ्ना धारणा सार्वजनिक गरेका छन्।

उनले सरकारले जानाजान महत्वाकांक्षी बजेट बनाएको बताए। ‘धेरै साथीहरुले महत्वाकांक्षी भयो भनेर असन्तुष्टी पनि व्यक्त गर्नुभयो, तर सरकारले जानाजान यो बजेट महत्वकांक्षी बनाएको हो’ उनले भने, ‘विकासका लागि महत्वकांक्षा नै नराख्ने, सपनानै नदेख्ने हो भने कसरी हामीले समृद्धिको मार्ग निर्माण गर्न सक्छौं ?’ मन्त्री ज्वालाले पहिलो पटक बजेट ल्याइएकाले केही छुटेपनि दिर्घकालिन रुपमा ऐतिहासिक दस्तावेज बन्ने दाबी गरे।

साथै मन्त्री ज्वालाले छोटो अवधिका लागि ल्याइएको बजेटमा कार्यान्वयन गर्न सकिने योजनाहरुका लागि मात्रै बजेट विनियोजन गरिएको बताए। बजेटको आकार नै सानो भएकाले सबै क्षेत्र र विषयवस्तु समेट्न नसकिएको उनको भनाइ छ।

‘छोटो समयमा निकै अन्योलताका बीचमा हामीले बजेट ल्याएका छौं, त्यसैले तत्काल कार्यान्वयन गर्न सकिने योजनाहरु मात्रै प्राथमिकतामा पारिएको हो’ मन्त्री ज्वालाले भने। चालु आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्रै बाँकी रहँदा काम सम्पन्न गर्न सकिने विश्वास लाग्ने योजनामा मात्रै बजेट विनियोजन गरिएको उनको भनाइ छ।

उनले बजेट कार्यान्वयन तत्काल अगाडि बढाइने बताए। ‘धेरै ढिला भइसकेको छ, आजैदेखि अख्तियारी दिने तयारीमा हामी जुटेका छौं। विषयगत मन्त्रालयहरुले कार्यक्रमहरु ल्याउने बित्तिकै बजेट कार्यान्वयनमा जानेछ’ उनले भने। उनले समय अभावका कारण खर्च खुम्चिएको तर बजेटले भने, दिर्घकालिन थिति बसाल्नमा सहयोग पुर्‍याउने बताए। ‘अहिले दुई महिनामै सबै बजेट खर्च गर्न सकिँदैन, तर आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन यसले मार्गनिर्देशन गर्नेछ’ मन्त्री ज्वालाको भनाइ थियो।

Credit : raranews.com

देहरादून बाट ल्याइएको दत्तात्रेय मूर्ति चन्दननाथमा

सुर्खेत: जुम्लाको चन्दननाथ मन्दिरमा भारतको देहरादूनबाट दत्तात्रेयको मूर्ति ल्याएर पुनःस्थापन गरिएको छ ।

विसं २०७३ मंसिर ११ गते राति कर्णालीको धार्मिकस्थल चन्दननाथ मन्दिरबाट १८ केजीको दत्तात्रेयको मूर्ति सहित २१ थान अन्य मूर्ति चोरी भएका थिए । चोरी भएका मध्ये अन्य मूर्ति देपालगाउँ गाविस, देपालगाउँ नजिकैको खोलामा २०७३ पुस १९ गते बेबारिसे रुपमा फालिएको अवस्थामा भेटिएका थिए । चोरी भएका मध्ये सबै भन्दा ठूलो दत्तात्रेयको मूर्ति हाल सम्म कतै नपाइए पछि देहरादून बाट ल्याएर चन्दननाथ मन्दिरमा पुनःस्थापना गरिएको चन्दननाथ भैरवनाथ गुठी संस्थानका सचिव रमानन्द आचार्यले बताए । सत्ताइस मूर्तिमध्ये दत्तात्रेय सहित छ मूर्ति पाइएका थिएनन् ।

मूर्ति हराएको डेढ वर्षसम्म मन्दिर खाली भएको र त्यसका विषयमा कोही कसैले चासो नदेखाएपछि देहरादून बाट बाबा भवानी गिरीले आफ्नै लगानीमा दुई पण्डित सहित पित्तल बाट निर्मित दत्तात्रेयको मूर्ति जुम्ला पु¥याएको हो । उक्त मूर्ति विधिवत् रुपमा मन्दिरमा पुनःस्थापना गरिएको सचिव आचार्यले बताए ।

यही वैशाख १३ गते बिहान ९ः४५ बजेदेखि २७ घण्टे अखण्ड हवन समेत मन्दिर भित्र चलाइएको थियो । दत्तात्रेयको मूर्ति व्यक्तिगत रुपमा ल्याएर प्रतिस्थापन गर्दा समेत सरकारी क्षेत्रको कुनै चासो नभएको धार्मिक सरोकार भएकाको गुनासो छ ।

हराएका बहुमूल्य मूर्तिको अनुसन्धान गरी पत्ता लगाउन नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले प्रत्यक्ष जिम्मा लिई स्थलगत अनुसन्धान थालेको थियो । बहुमूल्य चाँदीले बनेको र सुनको गजुर भएको मूर्ति पत्ता लगाउन ढिलाइ भएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिए । पन्धौँ शताब्दीमा सिद्ध चन्दननाथ बाबाले कालीमार्सी धान रोप्ने क्रममा चन्दननाथको पूजा आरम्भ गरे देखि निरन्तर पूजा भइरहेको धार्मिक व्यक्तित्वको भनाइ छ । चन्दननाथ बाबाले जुम्ला राज्यका संस्थापक कल्यालवंशी राजा बलिराज शाहीको राजतिलक लगाएको समेत ऐतिहासिक प्रमाणमा रहेको जानकार बताउँछन् ।

Credit : raranews.com

भर्ना अभियानमै बालबालिका भर्ना हुनबाट वञ्चित

सुर्खेत : ‘हामी सबैको इच्छा, अनिवार्य, निःशुल्क र आधारभूत शिक्षा’ यो सरकारले ल्याएको यस वर्षको शैक्षिक सत्रको नारा हो । यो नाराले भने सुर्खेत वीरेन्द्रनगर भित्रका विद्यालयमा भर्ना हुन आएका सयौँ विद्यार्थीलाई सम्बोधन गर्न सकेको छैन ।

हिमाली जिल्ला बाहेक नेपाल भरि नयाँ शैक्षिक सत्र शुरु भएसँगै भर्ना अभियान जारी छ तर भर्ना अभियान अवधिमै सुर्खेत वीरेन्द्रनगर उपत्यकामा सयौँ बालबालिका विद्यालय भर्ना हुनबाट वञ्चित भएका छन् ।

विशेषगरी बालबालिका भर्ना अभियान भोलि वैशाख १५ गते सम्म छ । तर सुर्खेत उपत्यका भित्रका नाम चलेका विद्यालयलाई बालबालिका भर्ना गर्ने चटारो बाट उम्कन पाएजस्तो लागिरहेको छ । अर्कोतर्फ आफूले चाहेको सरकारी विद्यालयमा भर्ना हुन नपाउँदा आवासीय विद्यालयबाट बाहिरिएका र अन्य जिल्लाबाट सुर्खेत भित्रिएका सयौँ बालबालिका अलपत्र अवस्थामा परेका छन् ।

पहिले देखि नाम चलेको सुर्खेत वीरेन्द्रनगर स्थित सरकारी जनमाध्यमिक विद्यालयमा भर्ना हुन नपाए पनि अमरज्योति मावि (नेवारे), श्रीकृष्ण संस्कृत तथा साधारण मावि (इत्राम)मा पनि भर्ना हुन नपाए पछि बालबालिका चिन्तित भएका छन् । गाउँघरमा शिक्षकको अनियमितताले शहर तिरै पढ्ने धोको लिएर आएका उनीहरु भर्ना हुन नपाउँदा अन्योलमा छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, विद्यालय शिक्षा शाखाका शाखा अधिकृत सुवर्ण खड्काले दिएको २०७३र७४ को तथ्याङ्क अनुसार हाल सुर्खेत जिल्लामा ४८४ र वीरेन्द्रनगर नगरपालिका भित्र ११ सरकारी सामुदायिक मावि छन् । जसमा यस जिल्लाको प्रावितर्फ ५५ हजार ९०८, निमावितर्फ २८ हजार ५१५, माविमा १२ हजार २५ र उमाविमा छ हजार १५५ विद्यार्थी अध्ययनरत छन् ।

शाखा अधिकृत खड्काले भने, “जिल्लाको सबै तहको विद्यार्थीको कूल संख्यालाई औसतमा ढाल्दा प्रावि तहमा ३६ जना विद्यार्थी बराबर एकजना शिक्षक, निमाविमा ७७, माविमा ४७ र उमाविमा ६५ पर्छ ।” तत्काल देखिएको समस्या सम्बोधनका लागि नीति आवश्यक भएको र त्यसका लागि आफूहरु लागिरहेको उनले बताए ।

चालू आवमा भने विद्यार्थी संख्या वृद्धि भएको छ नै । त्यसको वास्तविक तथ्याङ्क भने अहिले पाउन सक्ने अवस्था छैन । यो अवस्थालाई गहिरिएर नियाल्दा कुनै विद्यालयमा भर्ना हुने बालबालिकाको बाढी त कतै खाली छ । यसो हुनुमा केही सरकारी विद्यालयको उचित व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्कृष्ट जनशक्ति उत्पादन नै हो भने अधिकांश सरकारी विद्यालयको चरम लापरवाहीलाई पनि लिन सकिन्छ ।

अंग्रेजी विद्यालयको महँगो शिक्षाको भार थेग्न नसकेर नानी बाहिर झिकेका अभिभावकले सरकारी राम्रा विद्यालयमा भर्ना गर्न नपाएको स्थानीय हिमलाल न्यौपानेले दुःखेसो गरे । उनले भने, “सरकारी विद्यालयमै नानी भर्ना गर्न शक्ति लाउनुप¥यो । त्यो पनि भनेको विद्यालयमा बच्चा भर्ना गर्न पाइएन ।” आफ्ना बालबालिका सरकारी विद्यालयमा भर्ना गर्न नसक्दा धेरैजसो अभिभावक तनावमा छन् भने भर्ना हुन नपाउँदा बालबालिका निराश छन् ।

जन माध्यमिक विद्यालयमा बाहिरबाट आएका एक हजार ३०० बालबालिकामा प्रवेश परीक्षाबाट ४०० जनाले मात्र भर्ना हुने अवसर पाएको त्यहाँका शिक्षक मणिराम लामिछानेले बताए । यता अमरज्योति मावि नेवारेका प्राचार्य खगेन्द्र थापाले भौतिक संरचना अभावका कारण ५०० विद्यार्थीले प्रवेश परीक्षा दिएकामा मुस्किलले २०० जनालाई भर्ना लिएको बताए ।

श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम सुर्खेतका सूचना अधिकारी पूर्णप्रसाद पौडेलले पनि ५०० विद्यार्थी प्रवेश परीक्षामा आएकामा २०० जतिलाई भर्ना लिएको बताए । सूचना अधिकारी पौडेलले आफ्नो विद्यालयमा बिहान बेलुका गरेर एक हजार ७०० विद्यार्थी अध्ययन गरिरहेको तर शिक्षक संख्या आधारभूत र मावि तह गरेर जम्मा २४ जनाले भ्याउन नसक्दा भर्ना बन्द गर्न बाध्य भएको बताए ।

आधारभूत तहभन्दा मावि तहमा भर्ना हुन आउनेको संख्या ह्वात्तै बढेको छ, उनले भने । “यसो हुनुको प्रमुख कारण सरकारी विद्यालयको शुल्क महँगो हुनु र कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेत तोकिनु हो ।

अब सुर्खेत वीरेन्द्रनगर नगरपालिकाभित्रका जन माविका ९००, अमरज्योति र संस्कृत माविका ६०० गरी जम्मा एक हजार ५०० विद्यार्थीले सरकारी समुदायिक विद्यालयमा आफ्नो इच्छाअनुसार अध्ययन गर्नका लागि भर्ना हुन नपाउँदा उनीहरुको भविश्य के हुने भन्नेमा अन्योल छ । त्यसमा सरोकारवाला निकाय भने बेखबर जस्तै देखिन्छन् ।

सरकारी विद्यालयमै विभेद

नेपालको संविधान, २०७२ भाग ३ को मौलिक हकको धारा ३१ ले आधारभूत तहसम्म अनिवार्य र मावि तहसम्म निःशुल्क शिक्षाको प्रष्ट व्यवस्था गरेको छ । यद्यपि भर्ना अभियानकै समयमा बालबालिकाको विद्यालयमा भर्ना हुने अधिकार खोसिएको छ । निःशुल्क शिक्षाको उल्टो सरकारी सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट शिक्षण गर्ने नाउँमा बालबालिकाबाट रु एक हजार ५०० देखि रु तीन हजारसम्म शुल्क असुली रहेका छन् ।

त्यसमा पनि नेपाली माध्यममा पढ्नेलाई रु २०० सम्म र अँग्रेजी माध्यम पढ्नेलाई रु एक हजारदेखि रु तीन हजारसम्म भर्ना शुल्क लिँदै आएको पाइएको छ । एकै विद्यालयभित्र शुल्क तिर्न बाध्य बनाएर कसैले अँग्रेजी पढ्न पाउने र पैसा तिर्न नसकेर सो शिक्षा लिन नपाउने व्यवहारले सरकारी शिक्षामा समेत विभेदीकरण भएको अभिभावक बताउँछन् ।

विद्यालयका यी गतिविधिहरुले बालबालिकाको आफूले रोजेको सरकारी विद्यालयमा पढ्न पाउने अधिकार केही हदसम्म खोसिएको महसुस गरेका छन् । यसबाट सामान्य र पहुँचविहीन परिवारका बालबालिकालाई सरकारी विद्यालयमा समेत अध्ययन गर्न झनै गाह्रो भएको छ ।

बालबालिकाले सरकारी सामुदायिक विद्यालयमा भर्ना हुन पाएनन् भन्ने कुरामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले बताए । क्षमताभन्दा बढी विद्यार्थी आउँदा पनि गुणस्तर कायम नहुने भएकाले अवस्था बुझेर समस्या समाधानमा लाग्ने सचिव शर्माले विश्वास दिलाए ।

यता वीरेन्द्रनगर नगरपालिकाका नगर शिक्षा प्रमुख गजेन्द्र जिसीले विद्यालय सुधार योजना अनुसार हरेक विद्यालयले आफ्नै बालबालिका, दोस्रोमा सेवा क्षेत्रका बालबालिका भर्ना गर्ने प्रावधान रहेको बताए । बाहिरबाट आएका विद्यार्थीले खाली भएमात्र भर्ना हुन पाउने उनको भनाइ थियो ।

विद्यालयहरु गैरतरिकाले शुल्क उठाएको विषयमा भने सबै विद्यालय व्यवस्थापन समितिलाई नियमानुसार त्यसो गर्न जानकारी गराइएको उनले बताए । बालबालिकाको अधिकार सुनिश्चितताका लागि सम्बन्धित स्थानीय तहका सरकारले जिम्मेवारी लिनुपर्ने उनले तर्क गरे ।

Credit : raranews.com