गाउँघरमा एउटा बोकाको मूल्य कति पर्ला ? नवलपरासीको एक ब्यवसायिक बाख्रापालन फर्ममा एउटा बोकाको मूल्य ३ लाख रूपैयाँ छ । नवलपरासीको हर्कपुरमा रहेको बगैंचा फर्म हाउसमा अष्ट्रेलियाबाट ल्याइएको अष्ट्रेलियन बोयर जातका बाख्रा छन् ।
फर्ममा सबै यूरोपमा काम गरेर फर्किएकाहरु खटेका छन् । उनीहरूले पालेको एउटै बोकाको मूल्य यति धेरै रहेको हो । पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यका कान्छा छोरा वीरभद्र आचार्यलगायत १० जनाको लगानीमा सञ्चालित फर्ममा आबद्ध सबै युरोपमा बसेर कमाएकाहरू छन् । कृषिमा कुनै अनुभव नभएकाहरु आबद्ध भएपनि बाख्रापालन ब्यबसायमा सफल भएका छन् । उनीहरुको बाख्रापालनको सञ्जाल फैलँदो रहेको छ ।
‘आठ वर्ष अष्ट्रेलिया बस्दा महिनाको तीन लाख बच्थ्यो,’ सञ्चालकमध्येका सन्तोष धिताल भन्छन्– ‘त्यसले चित्त बुझेन र नेपालमा केही गरौं भन्ने इच्छा जाग्यो ।’ कृषि, पर्यटन र हाइड्रोमा लगानी गर्ने सोचाइ बनाएर फर्किँदा कृषिका अनौठा तथ्य बुझ्न पाएको उनले बताए । ‘कृषि मन्त्रालयमा तथ्यांक बुझ्न जाँदा भारतबाट नेपालमा वर्षेनी १७ अर्ब बराबरको खसीबोका आयात हुँदो रैछ, त्यसैले हामीलाई तान्यो,’ उनले भने– ‘त्यसपछि बाख्रापालन गर्ने निधो गरियो तर, अनुभव थिएन ।’ इन्टरनेटमा संसारकै उत्कृष्ट बाख्रापालन खोज्दै जादा अष्ट्रेलिया भेटियो । २०७२ सालमा त्यहाँबाट १२ पाठी र ७ वटा बोका ल्याएको उनले बताए ।
वीरभद्र आचार्य अमेरिका बसेका, अशोक शर्मा पौडेल ६ वर्ष डेनमार्क बसेका र धिताल अष्ट्रेलिया बसे पनि बाख्रापालनको योजना बनाउन्जेल पशु र कृषिसम्बन्धी कुनै अनुभव थिएन । ‘एउटै बोकाको २ लाख ६० हजार मूल्य तिर्यौं,’ धिताल भन्छन्– ‘अहिले वार्षिक ४० लाख आम्दानी छ।’ उनीहरुको फर्महाउसमा यतिबेला १ सय ६० वटा बाख्रा छन् । ४ बिघामा उन्नत जातको घाँसखेती छ ।
बोयर जातको बिशेषता जन्मेको ३ महिनामा कम्तिमा २६ किलो र वर्षदिनमा १३० देखि १५० किलोसम्म वजन हुने उनले बताए । बोयर जातको बाख्रा दैनिक २ सय ग्रामका दरले बढछ । बोका र पाठी बढा लम्बाइ बढ्छ । अग्लो हुँदैन, खँदिलो हुन्छ। मासुको स्वाद रैथाने जस्तो तिख्खर हुँदैन । बोसो नहुने र कोलेस्ट्रोल कम हुने हुँदा जुनसुकै रोगका लागेकाले पनि खान उत्तम मानिने भएकाले बजारमा माग बढ्दो छ । तर, फर्म सञ्चालकहरूको उद्देश्य मासु बेच्नु भने होइन ।
उन्नत जातका बोका र रैथाने बाख्रा क्रस गराएर उन्नत नश्लका पाठापाठीको उत्पादन बढाउनु हो । त्यसका लागि उनीहरुले ओखलढुंगा, झापा, रामेछाप, तनहुँ, बुटवल, बैतडी र नवलपरासीका दुई ठाउँमा बाख्रापालन सुरु गरेका छन् ।
रैथाने जातका खसीबोका एक वर्षसम्म पाल्दा ३० देखि ४० किलो तौलका मात्र हुन्छन् । खुवाइएको तुलनामा मासु कम हुन्छ । तनहुँको बन्दीपुरमा सरकारले ४० वर्षअघि खोलेको बाख्रा अनुसन्धान केन्द्रमा त्यस्तै जातका बाख्रापालन गरिए पनि व्यापकता पाउन सकेको छैन । यही परिबेशमा उनीहरुको फर्म हाउसमा हुर्काइएका खसीबोकाको माग भने बढी रहेकाे खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
