निर्मलाको घरमा प्रायः सधैंजसो रोशनीको आउ–जाउ भइरहन्थ्यो । तर, निर्मला कमै मात्रै रोशनीको घरमा जान्थिन्, त्यही पनि साथीहरुको साथमा मात्र ।
साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको घरमै पुगेकी थिइँन् । घरमा पुगेकी उनले निर्मलालाई चटपटेको २० रुपैयाँ दिन बाँकी थियो । ‘भोलि मेरै घरमा आउनू, चटपटेको पैसा पनि दिनु छ, सँगै बसेर होमवर्क गरौंला’– साउन ९ गते रोशनीले आफ्नी छोरीलाई भनेको कुरा सम्झिँदै दुर्गादेवी पन्त (निर्मलाकी आमा) ले भनिन्– ‘उसले अघिल्लो दिनमै आएर बोलाएकाले छोरी साउन १० गते बिहान ११ बजे उसको घरमा गएकी थिई ।’ रोशनीको घरमा उनी र उनकी दिदी बविता उर्फ अनिता बम बस्ने गर्थे ।
होमवर्क गर्न गएकी निर्मला दिउँसो २ बजे नै त्यहाँबाट फर्किसकेको बताइए पनि उनी भने घर पुगिनन् । ‘म त्यही दिन सामान लिन बनवासा गएकी थिएँ,’दुर्गादेवीले भनिन्– ‘घर पुगेर निर्मला कहाँ छे भनेर खोजें, अरु छोरीले साथी रोशनीकोमा गएकी छ भने ।’
साँझ पर्न लाग्दा समेत छोरी घर नआइपुगेपछि खोज्दै रोशनीको घरमा पुगेको उनले बताइन् । तर, त्यहाँ पुग्दा रोशनीले दिउँसै घर गइसकेको बताए पनि उसकी दिदी चाहिँ आक्रोशित शब्दमा आफूमाथि खनिएको दुर्गादेवीले बताइन् । होमवर्क गर्न गएको साथीकै घरबाट छोरी हराएपछि आमा दुर्गादेवीको शंका बढ्दै गएको थियो ।
‘मैले पटक–पटक रोशनीकै घरमा गएर छोरी खोज्ने प्रयास गरें,’ उनले भनिन्– ‘तर, रोशनीकी दिदी अनिताले घरको गेटभित्र समेत पस्न नदिएर उल्टै नराम्रो व्यवहार देखाइन्र ।’ स्थानीय प्रहरी प्रशासनले समेत छोरी खोज्नलाई सहयोग नगरिदिँदा पीडित बनेकी दुर्गादेवी पन्तलाई साउन १० गते रातभरि निन्द्रा परेन ।
अर्को दिन (भोलिपल्ट) पनि खोजी सुरु भयो । ‘त्यस दिन समेत फेरि मनले मानेन र म बिहानै सोध्न रोशनीकै ङर गएँ,’ उनले भनिन्– ‘त्यस दिन समेत उनले घरभित्र गएर हेर्न दिइनन्, नजिकैको खोलामा खोजी गर्नेले ‘साइकल भेटियो’ भन्दा उल्टै ‘साइकल भेटियो त, लाश पनि त्यतै भेटिएला नि’ भन्ने जवाफ फर्काइन् ।’
साउन ११ गते निम्बुखेडा खोला नजिकैको उखुबारीमा हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला पर्यो । बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया किशोरी निर्मला पन्तको निधन अघिको परिवेशबारे विश्लेषण गरिएको यो खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com