शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ ।

आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएका दुवैतर्फका अधिकारीहले जनाएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि वार्ताको आवश्यक तयारी सुरु भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्वीट गर्दै भन्नुभएको छ— अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको छ, यसले आगामी उक्त वार्ताको तयारीका आवश्यक कुराकानी गर्नेछ ।

उहाँले यस ट्वीटमा उत्तर कोरियाको निकै प्रसंशा पनि गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ— मेरो अनुभवका आधारमा भन्दैछु कि उत्तर कोरियासँग आफ्नो देशको सम्पन्नताका लागि निकै ठूलो अवसर छ र यसबाट उसको अभूतपूर्व परिवर्तन हुन सक्छ ।

यस विषयमा उत्तर कोरियाली नेता किम जोङ उन ‘कन्भिन्स’ हुनुभएको छ, यसबारे हामीले कुराकानी पनि गरिसकेका छौँ— उहाँले भन्नुभएको छ ।

तर सो प्रतिनिधिमण्डलमा को वा कुन तहका अधिकारीहरु सहभागी छन् भन्ने बारेमा भने केही बताइएको छैन ।

तर अमेरिकी प्रमुख अखबार वासिङ्टन पोष्टको आइतबारको संस्करणमा उक्त भ्रमणको पुष्टि गरिएको छ ।

उक्त अखबारले अमेरिकी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ र उक्त देशको उत्तरी भागमा रहेको सैन्यबिहीन क्षेत्रमा दुई देशका अधिकारीहरुले भेटवार्ता थालेका छन् ।

त्यस वार्ता सोमबार र मङ्गलबारसम्म पनि निरन्तर रहन सक्ने पनि उक्त छापाले पुष्टि गरेको बताइएको छ ।

यसअघि एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक भएको दुई दिनपछि शनिबार फेरि सोही मितिमै वार्ता हुनेमा आफू ढुक्क रहेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो ।

शनिबार साँझ ह्वाइट हाउसमा उपस्थित भएका सम्वाददाताहरुसमक्ष उहाँले भन्नुभयो– हामी पूर्व निर्धारित मितिमै वार्ता गर्नेमा ढुक्क भएका छौँ, जुन १२ मा नै हामी सिंगापुरमा भेट्नेछौँ, म उत्सुक छु र मलाई लाग्छ यसप्रति उत्तर कोरिया पनि इच्छुक छ ।

यसअघि गएको बिहीबार मात्र उत्तर कोरियाली नेता किमको आक्रोस र अमेरिकाप्रतिको सत्रुतापूर्ण व्यवहारका कारण वार्ता स्थगन गर्नुपरेको बताएका राष्ट्रपति ट्रम्पले आइतबारको ट्वीटमा भने उत्तर कोरिया वार्ताप्रति निकै संवेदनशील रहेको बताउनुभएको छ ।

आइतबार ट्वीटगर्दै राष्ट्रपति ट्रम्पले भन्नुभएको छ— उत्तर कोरियासँग आफ्नो देशको विकासका लागि कैयौँ सम्भावनाहरु छन्, मलाई लाग्छ यदि यी सबै सम्भावनाहरुको सदुपयोग गरेमा उत्तर कोरिया एक दिन ठूलो आर्थिक सम्पन्न तथा वित्तीय राष्ट्र बन्ने छ ।

राष्ट्रपति ट्रम्पले यस सम्भावनालाई उत्तरका नेता किमले स्वीकार गर्नुभएको र यस विषयमा उहाँ मेरा बिचारहरुप्रति सहमत हुनुभएको पनि बताउनुभएको समाचारमा जनाइएको छ ।

तर बिहीबार वार्ता राकिएको भन्ने राष्ट्रपति ट्रम्पको पत्र प्राप्त भएलगत्तै उत्तरका नेता किमले भने आफू अमेरिकासँग वार्ताका लागि जुनसुकै समय पनि तयार रहेको प्रतिक्रिया दिनुभएको थियो ।

यस पटकको उत्तर कोरियाको यो लचकता र संयमताका कारण पनि यसपटक अमेरिका छोटै समयमा अर्को निर्णय गर्न पुगेको र वार्ताका लागि तयार भएको केही विश्लेषकहरुको भनाई छ ।

उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि निकै दबाब दिएको थियो ।

उसले निर्धारित समयमै वार्ता गर्न उत्तर कोरिया र अमेरिकालाई आग्रह गरेको थियो ।

यसै प्रयास बमोजिम नै दक्षिण कोरिया र उत्तर कोरियाबीच शनिबार अकस्मात भेटवार्ता भएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तरका नेता किम जोङ उनबीच शनिबार सीमा क्षेत्रमा रहेको पानुमजोममा भेट भएको हो ।

यी दुई नेताले गत अप्रिल २७ मा एक महत्वपूर्ण शान्ति सम्झौता गरेका छन् ।

उक्त सम्झौतालाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । किनभने सन् १९५३ मा दुई कोरिया छुट्टिएपछि पहिलो पटक राष्ट्रपति तहमा यसरी शिखर भेट र वार्ता भएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले उक्त वार्ताका क्रममा आजसम्म विकसित सकारात्मक वातावरणलाई जोगाइराख्न आगामी दिनमा पनि वार्ताका प्रयासहरुलाई जारी राख्ने सहमति भएको जनाएको छ । रासस

Credit : raranews.com

उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ ।आगामी जुन महिनाको १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता स्थगित भएको भनी अमेरिकी राष्ट्रपति ट्रम्पले नै घोषणा गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक भएको दुई दिनपछि शनिबार फेरि सोही मितिमै वार्ता हुनेमा आफू ढुक्क रहेको बताउनुभएको हो ।शनिबार साँझ ह्वाइट हाउसमा उपस्थित भएका सम्वाददाताहरुसमक्ष उहाँले भन्नुभयो– हामी पूर्व निर्धारित मितिमै वार्ता गर्ने पक्षमा छौँ, जुन १२ मा नै हामी सिंगापुरमा भेट्नेछौँ ।

उत्तर कोरियासँगको शिखर वार्ता समयमै हुन्छ, यसका लागि हामीले वार्ताको माध्यमबाट धेरै नै प्रगति गरेका छौँ, मलाई लाग्छ हाम्रो र उत्तर कोरियाको तर्फबाट पनि अभूतपूर्व रुपमा प्रगति जारी रहेको छ ।

उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार मात्र बताउनुभएको थियो ।तर समाचारमा आएजस्तै फेरि उक्त वार्ता समयमै सम्पन्न गर्नेगरी परिस्थिति अघि बढेको बताएपछि भने पुनः कोरियाली प्रायद्वीपमा शान्तिको आशा जागेको बताइएको छ ।

सो सिंगापुर शिखर वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरियाले आफू दुःखी भएको बताएको थियो ।

साथै राष्ट्रपति ट्रम्पको उक्त पत्र प्राप्त भएलगत्तै नै उत्तरका नेता किमले आफू अमेरिकासँग वार्ताका लागि जुनसुकै समय पनि तयार रहेको प्रतिक्रिया दिनुभएको थियो ।

कोरियाली वार्ताले सहमति भयो

उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि अर्काे मिति तोक्ने तयारीमा लागिरहेको बताएको थियो ।

यी दुई देशबीचमा पनि मन्त्रिस्तरको बैठक स्थगित भएको र उता अमेरिकाले पनि सिंगापुर वार्तामा बस्न नसक्ने जानकारी गराएकोले त्यसको मध्यस्थतास्वरुप भूमिका निर्वाह गर्ने काम दक्षिण कोरियाले गरेको बताइएको थियो ।

अमेरिकाले एकतर्फी रुपमा वार्ता स्थगित गरेपनि अहिलेसम्म यी दुई देशबीच विकसित सकारात्मक वातावरणलाई कायमै राखिराख्न उत्तर कोरियालाई सम्पर्कमै राख्ने नीति दक्षिण कोरियाले लिएको हो ।

यसै प्रयास बमोजिम नै दक्षिण कोरिया र उत्तर कोरियाबीच शनिबार अकस्मात भेटवार्ता भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तरका नेता किम जोङ उनबीच शनिबार सीमा क्षेत्रमा रहेको एक गाउँ पानुमजोममा भेट भएको हो ।यी दुई नेताले गत अप्रिल २७ मा एक महत्वपूर्ण शान्ति सम्झौता गरेका छन् । उक्त सम्झौतालाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले उक्त वार्ताका क्रममा आजसम्म विकसित सकारात्मक वातावरणलाई जोगाइराख्न आगामी दिनमा पनि वार्ताका प्रयासहरुलाई जारी राख्ने सहमति भएको जनाएको छ ।

उहाँहरुको भेटवार्ताका क्रममा गत अप्रिल २७ मा भएको पानमुनजोम शान्ति सम्झौताकोे कार्यान्वयनबारे एक आपसमा विचार विमर्श र अनुभव आदानप्रदान भएको समाचारमा जनाइएको थियो ।

उहाँहरूले उत्तर कोरियाली नेता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिंगापुर शिखर वर्तालाई कसरी सफल पार्ने भन्ने विषयमा समेत छलफल गर्नुभएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

शनिबारको उक्त शिखर बैठकमा भएका सहमति र कुराकानीका बारेमा स्थानीयलाई आइतबार बिहान जानकारी गराउने कार्यक्रम रहेको ब्लु हाउसले जनाएको थियो । सोही बमोजिम नै यी सहमतिका कार्यक्रमहरु आएका हुन् ।

अमेरिकाले सिंगापुर वार्तामा नबस्ने भनी अकस्मात उत्तर कोरियालाई पत्र लेखेपछि उत्तर र दक्षिणका नेताकाबीचमा यो भेटवार्ता भएको थियो ।

त्यस क्रममा उत्तरका नेताले आफु अमेरिकासँग जुनसकै समय र स्थानमा पनि वार्ता गर्न तयार रहेको जानकारी गराएपछि त्यो कुरा दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालयमार्फत अमेरिकालाई जानकारी गराइएको छ ।यस उच्च बैठकपछि पुनः अमेरिका निर्धारित मितिमै वार्ता गर्न तयार भएको समाचार आएको अधिकारीहरुले जनाएका छन् ।

Credit : onlinepana.com

ओमानमा शक्तिशाली मेकुनु आँधी

शक्तिशाली मेकुनु आँधीका कारण ओमानको दक्षिणी क्षेत्रको जनजीवन प्रभावित भएको छ । आँधीका कारण तीब्र गतिमा हावा चलेको छ भने ठूलो वर्षा भएको छ ।

आँधीका कारण १२ वर्षकी बालिकाको ज्यान गएको पुष्टि भएको छ । यस्तै अरु तीनजना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । बालिकालाई हावाले उडाएर भित्तामा ठोक्काएका कारण ज्यान गएको हो ।

ओमानको ढोफर र अल–वस्त प्रान्तमा आँधीका कारण जनजीवन बढी प्रभावित भएको छ । त्यहाँको राष्ट्रिय टेलिभिजनले जनजीवन प्रभावित भएको देखाएको छ ।

आँधी शुक्रबार निकै तीब्र गतिमा हावा चलेको थियो । तर अहिले केही कम हुँदै गएको छ र बिस्तारै हट्दै जाने सरकारी अधिकारीले बताएका छन् ।

यो आँधी पहिले यमनको सोकोट्रा आइल्याण्ड भएर आएको हो । त्यहाँ कम्तिमा सातजनाको ज्यान गएको थियो ।

Credit : raranews.com

ट्रम-किम शिखर वार्ता सम्भव !

वासिङटन – उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी जुन १२ मा हुने भनिएको युगान्तकारी शिखर सम्मेलन पूर्वसहमति अनुसार अझै पनि जुन १२ मा नै पनि हुनसक्ने बताएका छन् ।

यो जुन १२ नै हुनसक्छ । हामी उनीहरूसँग कुराकानी गरेका छौँ, ट्रम्पले ह्वाइट हाउसमा एक समारोहकाबीच भनेका छन्, उनीहरू ९उत्तर कोरियालीहरू० सम्वादका लागि धेरै इच्छुक देखिएका छन् । हामी पनि यस बिषयमा सकारात्मक नै छौँ । हेरौँ, के हुन्छ ।’

ट्रम्पले एक दिन पहिले उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिङ्गापुरमा हुने भनिएको किमसँगको शिखर सम्मेलन तत्कालका लागि अवरुद्ध भएको बताएका थिए । अमेरिकी राष्ट्रपतिले सम्मेलन रोकिनुको कारण उत्तर कोरियाद्वारा देखाएको खुला विरोध भएको जनाएको थियो ।

बिहीबार ट्रम्पले किमलाई पठाएकोे पत्रमा लेखिएको छ, “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरूका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु ।”

यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गरेका थिए भने उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्र्ख’ को संज्ञा दिएको थियो । ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको थियो । तर उत्तर कोरियाली अधिकारी र अमेरिकी राष्ट्रपतिबीच सम्वाद नटुटाउने बिषयमा कुरा भएको बुझिएको छ

Credit : janasanchar.com

अमेरिकाले वार्ता रोकेकोमाउत्तर कोरिया निराश

उत्तर कोरियाले आफ्ना नेताकिमजोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच आगामीजुन १२ मा सिंगापुरमाहुने भनिएको शिखर वार्ता अमेरिकाले स्थगित गरेका छ ।

वार्त स्थगित गरेकोमाउत्तर कोरियाले निराशाव्यक्त गरेको छ ।उत्तर कोरियाले वार्ता स्थगितगर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय विश्वको इच्छाअनुसार नभएको जनाएको छ ।

उत्तर कोरियाली सरकारी समाचार एजेन्सीले नेताकिमजोङ उनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न निकै प्रयास गरेकोसमेत जनाएको छ । उत्तर कोरियाले अमेरिकासँग देखिएको विवाद ‘जहिल्यै र जसरी पनि’ समाधानगर्न आफूले चाहेको बताएको छ ।

Credit : onlinepana.com

मोदीले स्वीकारे विराट कोहलीको चुनौती

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिकेट कप्तान विराट कोहलीले दिएको फिटनेस च्यालेन्ज (शारीरिक व्यायामको चुनौती) स्वीकार गरेका छन्। कोहलीले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिएका थिए।

साथै उनले मोदीका अलवा पत्नी अनुष्का शर्मा र क्रिकेटर महेन्द्रसिंह धोनीलाई पनि चुनौती दिएका थिए। उक्त चुनौती पूरा गर्न मोदी, शर्मा र धोनीलाई भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नुपर्ने बताइएको थियो।

यसरी चुनौती दिने कामको सुरुवात भने मोदीको मन्त्रिपरिषद्का सदस्य एवं पूर्व व्यवसायीक सुटर राज्यवर्धन राठौरले गरेका थिए। राठौरले ट्विट गर्दै विराट कोहलीकासाथै अभिनेता ऋतिक रोशन र एथलेटिक खेलाडी साइना नेहाललाई चुनौती दिएका थिए।

जसमध्ये कोहलीले चुनौती स्वीकार गरे साथै मोदीलाई पनि चुनौती दिएका थिए। रोशन र नेहालले पनि चुनौती स्वीकार गरेको र यो कार्यको प्रसंशा गरेका थिए। यो एक अभियान हो। जसले व्यायाममा सहयोग पुग्ने र स्वस्थ रहनेमा विश्वास गरिएको छ।

Credit : raranews.com

ट्वीटर फलोअर्सलाई ब्लक नगर्न ट्रम्पलाई न्यायाधीशको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटर प्रयोगकर्ता ब्लक नगर्न जिल्ला अदालतका न्यायाधीश नामी राइस बुचवाल्डले आदेश दिएका छन् ।

राष्ट्रपति ट्रम्पले सात ट्वीटर प्रयोगकर्तालाई ब्लक गरेसँगै उनीहरुको तर्फबाट दी नाइट फस्ट अमेन्डमेन्ट इन्ष्टिच्यूटले अदालतमा मुद्दा दर्ता गराएको थियो । अभिव्यक्ति स्वतन्त्रतामाथि ट्रम्प र ह्वाइट हाउसले लगाम लगाएको भन्दै दायर मुद्दामा यस्तो कदम सच्याउन माग गरिएको थियो ।

त्यसमाथि फैसला गर्दै न्यायाधीशले विचारकै आधारमा ब्लक गर्नु नाजायज भएको भन्दै कदम सच्याउन आदेश दिएका छन् ।

जिल्ला अदालतका न्यायाधीश नामी राइस बुचवाल्डले ट्रम्पको @realDonaldTrump एकाउन्टलाई ब्लक गर्ने पहुँच दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको उल्लंघन हुने तर्क गरेका छन् । ‘सामाजिक सञ्जाल जनताको मञ्चको रुपमा अनुमोदित भएको छ । त्यसैले सम्पूर्ण अमेरिकी नागरिकलाई आफ्ना विचारहरु व्यक्त गर्न स्वतन्त्र छाडिदेऊ’, न्यायाधीशले ट्रम्पलाई आदेश दिँदै भनेका छन् ।

न्यायाधीशले यस्तो आदेश दिए पनि ह्वाइट हाउस भने अहिलेसम्म प्रतिक्रियाविहीन देखिएको छ ।

Credit : janasanchar.com

मलेसियाली प्रधानमन्त्रीद्वारा सरकारी खर्च र मन्त्रीमण्डलको तलवमा कटौति

मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार घोषणा गर्नुभएको छ । सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्य अनुरूप बयानब्वे वर्षीय नेताले सरकारी खर्चलाई २५१ अर्ब पाँच करोड अमेरिकी डलरमा झार्ने बताउनुभएको छ ।

मलेसियाको विकासका सुत्रधार मानिने प्रधानमन्त्री महाथिरले यस पहिले करिब २२ वर्ष मलेसियाको सरकारको नेतृत्व सम्हालेका आफ्नो मन्त्रीपरिषद्को पहिलो बैठकमा मलेसियाको सरकारी खर्चमा कटौति गर्ने बताउनुभएको हो । आजको बैठकमा नयाँ सरकारका लागि सपथ खाएका एक दर्जनभन्दा बढी मन्त्रीहरूको उपस्थिति रहेको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री महाथिरले भन्नुभयो, “हामी राष्ट्रको आर्थिक समस्याप्रति सजक छौँ ।” उहाँले थप्नुभयो, “हामीले अन्य उच्च सरकारी कर्मचारीको हकमा सुविधा कटौतिलाई बाध्यकारी बनाउने छैनौ । तर यदि कसैले देशका लागि योगदान गर्न चाहन्छ भने उनीहरू स्वतन्त्र छन् ।”

निर्वाचन अभियानका समय गरेका प्रतिवद्धतालाई प्रधानमन्त्रीले आफूले सत्ता सम्हालेकै दिनदेखि कार्यान्वयनमा लाने प्रयास गरिरहनुभएको छ । यसै अनुरूप उहाँले विभिन्न करको दायरालाई समेत परिवर्तन गर्न अग्रसरता लिइराख्नुभएको छ ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री महाथिरले भन्नुभयो, हाल मलेसियाको ऋण यहाँको कुल ग्राहस्थ उत्पादनको झण्डै ६५ प्रतिशत रहेको बताउनुभयो । महाथिरले पारिश्रमिकमा कटौतिबाहेक देशको अर्थतन्त्रलाई उकास्ने अन्य उपाय पनि उहाँले प्रस्तुत गर्नुभएको छ । उहाँले सानो आकारको मन्त्रीमण्डलका अलावा राज्यको विदेशमा उठ्न बाँकी कोषलाई पनि उठाउन पहल गरिने बताउनुभयो ।

उहाँले सार्वजनिक यातायात आयोगलाई निलम्वन गर्ने र यसको काम यातायात मन्त्रालयबाट गर्ने तथा अनावश्यक देखिने अन्य कैयौँ संघसंस्थालाई पनि निलम्बन गरिने बताउनुभयो । यसबाहेक उहाँले केही ठूला योजनाबारेमा पनि समिक्षा गर्ने बताउँदै सरकारले कुन योजना राख्नुपर्छ र कुनलाई हटाउनुपर्छ अध्ययन गरिरहेको बताउनुभयो ।

सरकारले चार वर्ष पहिले (मार्च २०१४) मा क्वालालम्पुरबाट बेइजिङ जाने क्रममा हराएको विमानको खोजीका लागि दिइएको अनुमतिलाई यही महिनादेखि रद्द गर्ने गरी समिक्षा गरिरहेकोसमेत सङ्केत गर्नुभयो ।केही दिन पहिले उडानसम्वद्ध विज्ञहरूको टोलीले विमानलाई पाइलटले जानाजानी विमानलाई दुर्घटनाग्रस्त गराएको हुनसक्ने सूचनाहरू आएका थिए ।

Credit : onlinepana.com

पुलिट्जर पुरस्कार विजेता उपन्यासकार फिलिप रोथको निधन

अमेरिकी उपन्यासकार फिलिप रोथको निधन भएको छ । पुलिट्जर पुरस्कार विजेता उपन्यासकार रोथको ८५ वर्षको उमेरमा मंगलबार निधन भएको उनको नजिका साथीलाई उद्धृत गर्दै द न्युयोर्करले जनाएको छ ।

रोथले सन् १९९८ मा ‘अमेरिकन पास्टोरल’ का लागि फिक्सन तर्फको पुलिट्जर पुरस्कार पाएका थिए । उपन्यासकार फिलिपको निधन भएको कुरा उनका नजिकका साथी जुडिथ थरम्यानले पुष्टि गरेको द न्युयोर्क टाइम्सले जनाएको छ ।

फिलिप उनको पुस्ताका सम्मानित उपन्यासकार मध्ये एक हुन् । उनी न्युयोर्क र केन्टुकीमा बस्दै आएका थिए । उनले साहित्यमा दिइने नोबेल पुरस्कार त पाएनन् तर अरु सबै जसो उच्च सम्मानहरु पाएका छन् ।

उनले दुई पटक राष्ट्रिय पुस्तकर अवार्ड, दुई पटक नेशनल बुक क्रिटिक्स सर्कल अवार्ड, तीन पटक पेन/फल्कनर अवार्ड, पुलिट्जर पुरस्कार तथा म्यान बुकर इन्टरनेशनल पुरस्कार पाएका छन् ।

उनले आफ्नो उमेरको ६० को दशकमा ऐतिहासिक उपन्यासको श्रृङ्खला नै प्रकाशित गरे । जसमा अमेरिकन पास्टोरल, द ह्युमन स्टेन र आइ म्यारिड अ कम्युनिष्ट रहेका छन् ।

यी उपन्यासमा उनले अमेरिका र अमेरिकनसँगको आफ्नो रि–इनगेजमेन्टको थिमलाई प्रयोग गरेका छन् ।

Credit : raranews.com

मोदी-पुटिन भेट, अमेरिकालाई काउन्टर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार अनौपचारिक भेटवार्ता भएको छ। दुवै देशका राष्ट्रप्रमुखले इतिहासदेखि चल्दै आएको सहकार्य अटुट रहेको बताएका छन्।  चीन-भारत युद्ध र शितयुद्धकालदेखिका यी दुई मित्रराष्ट्र उस्तै रणनीतिक साझेदारीमा रहेको दुवै देशका प्रमुखले बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस शिखर वार्तापछि भारत र रुसबीच सम्बन्धको नयाँ आयाम रेखांकित भएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार रणनीतिक साझेदारी अब विशेषाधिकार प्राप्त रणनितिक साझेदारीमा बदलिएको छ। रुसको काला सागरस्थित तटीय शहरमा पुटिनले मोदीलाई लन्चका लागि आमन्त्रण गरेका थिए। भेटघाटको सुरुमै मोदीले रुस र भारतबीच लामो समयदेखि मित्रता रहँदै आएको र यो मित्रता अटूट रहेको बताए।

‘म राष्ट्रपति पुटिनप्रति आभारी छु। उनले मलाई अनौपचारिक भेटका लागि बोलाए। हाम्रो सम्बन्धमा नयाँ आयाम थपिएको छ। यसलाई म द्विपक्षीय सम्बन्धमा एक ठूलो अवसर मान्छु।’ भेटका क्रममा मोदीले ७ पटकसम्म पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको नाम लिए। सन् २००१ मा तत्काली प्रधानमन्त्री बाजपेयीसँगै मोदी पहिलोपटक रुस गएका थिए। त्यतिबेला उनी गुजरातको मुख्यमन्त्री थिए। भ्रमणका क्रममा उनले पुटिनसँग भेटेका थिए। मोदीले पुटिनसँग आफु निकै प्रभावित रहेको बताएका छन्। उनले आफ्नो राजनीतिक करियरमा रुस र पुटिन महत्वपूर्ण रहेको बताएका छन् किनकी गुजरातको मुख्यमन्त्री बनेपछि मोदीले भेटेका पहिलो विश्वस्तरका नेता नै पुटिन थिए।

मोदीले भनेका छन्,’उक्त घटनाको १८ वर्ष बितिसकेको छ र तपाईंले मलाई विभिन्‍न मुद्दाको विचार विमर्शका लागि बोलाउनुभएको छ। यसबीच हामीले दुई देशको सम्बन्धलाई अघि बढाउन धेरै कोसिस गरेका छैनाैँ।’ उनका अनुसार तत्कालीन प्रधानमन्त्री बाजपेयी र राष्ट्रपति पुटिनद्वारा रोपिएको रणनीतिक साझेदारीको बीउ अब दुवै देशका लागि विशेषाधिकारप्राप्त रणनीतिक साझेदारी बनेको छ।

मोदीले संघाई सहयोग संगठनको स्थायी सदस्यता दिलाउन रुसले भारतलाई गरेको सहयोगप्रति धन्यवाद प्रकट गरेका छन्। आठ देश सम्मिलित यस संगठनको उद्देश्य सदस्य देशबीच सैन्य एवं आर्थिक सहयोग बढाउनु हो। भारत र पाकिस्तानलाई यस संगठनमा अघिल्लो वर्ष समावेश गरिएको थियो। मोदीले अन्तर्राष्ट्रिय उत्तर दक्षिण परावहन र ब्रिक्समा मिलेर काम गर्ने बताएका छन्। उनले चौथोपटक राष्ट्रपति निर्वाचित भएकोमा पुटिनलाई बधाई दिएका छन्। गत मार्चमा चौथो कार्यकालका लागि राष्ट्रपति चुनिएका पुटिनले दुई साताअघिमात्रै शपथ लिएका थिए।

उनले फिफा विश्वकपको आयोजनाका लागि पनि रुसलाई बधाई दिएका छन्। पुटिनले दुई देशका जनताबीचको  मैत्रि सम्बन्धमा यो भेटले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले दुई देशबीच विदेश नीति र सैन्य सहकार्य हुने बताए।   अमेरिकालाई काउन्टर इरानको परमाणु सम्झौताका विषयमा पनि दुई नेताबीच छलफल भएको छ। अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट पछि हट्दै उसमाथि नाकाबन्दी लगाउने निर्णय गरिसकेको छ। भारत र रुस दुवैको इरानसँग राम्रो सम्बन्ध छ। रुसमाथि अमेरिकाले सन् २०१४ देखि नै विभिन्न खाले नाकाबन्दी लगाएको छ।

त्यस्तै, यसै वर्षको जनवरीबाट अमेरिकी कंग्रेसले रुस, इरान र उत्तर कोरियासँग सैन्य सहकार्य गर्ने राष्ट्रमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ। यस कानुन पारित भएसँगै भारतसँग अमेरिकाको सम्बन्ध कस्तो रहन्छ भन्‍ने बहस सुरु भइसकेको छ।   भारत रुसको सबैभन्दा धेरै हतियार खरिद गर्ने राष्ट्र हो। भारतीय सेनाको ६८ प्रतिशत हतियार रुसबाट आउँछ। भारतले रुससँग थप सैन्य जहाज तथा अत्याधुनिक मिसाइलहरु खरिद गर्ने प्रक्रिया अघि बढाइसकेको छ भने रुसको सहयोगमा आफ्नै देशमा पनि विभिन्‍न काम गर्दैछ। रुससँगको आफ्नो सम्बन्धमा तेस्रो पक्षको हस्तक्षेप मान्य नहुने भारतले स्पष्ट पारिसकेको छ। सोभियतकालदेखि नै रुस र भारतबीच न्यानो सम्बन्ध र सहकार्य रहँदै आएको छ।

इरानको पनि भारतसँग राम्रो सम्बन्ध छ। भारतले इरानबाट ठूलो परिमाणमा पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। इरानमाथि अमेरिकाले नाकाबन्दी लगाएसँगै त्यसको असर भारतको तेल आयात र चाबहार बन्दगाह सम्झौता पर्नसक्ने आशंका गरिएको छ। मोदी र पुटिनबीच अफगानिस्तान, सिरिया र आतंकवादका विषयमा पनि छलफल भएको छ। रुस र भारत दुबैले आतंकवाद विरुद्ध लड्दै आएका छन्। पाकिस्तान र चीनलाई हेर्ने दृष्टीकोणका विषयमा पनि दुई देशबीच छलफल भएको छ। पछिल्लो समय चीन र रुस नजिक छन्। यता, चीनसँग राम्रो सम्बन्ध रहेको पाकिस्तानसँग भारतले खतरा महसुस गरिरहेको छ।

मोदीले पुटिनसँग भेट्नुअघि गत अप्रिल २७ र २८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यसरी नै अनौपचारिक भेट गरेका थिए। उक्त भेटपछि भारत र चीनबीचको सम्बन्ध नयाँ ढंगले अघि बढ्ने संकेत मिलेको चिनियाँ पत्रिकाहरुको विश्लेषण थियो। संसारका तीन ठूला शक्तिराष्ट्र चीन, रुस र भारत एकआपसमा मिलेर अघि बढेमा अमेरिकाका लागि त्यो पक्कै टाउको दुखाइको विषय हुनेछ।

ध्रुवीकरणबाट बच्नुपर्ने चुनौती

अहिले एसिया र पूरै विश्वमा ध्रुवीकरण देखिएको छ। एसिया प्यासिफिक क्षेत्रमा अमेरिका, अष्ट्रेलिया र जापानबीचको एउटा ध्रुव छ  भने मध्यपूर्वमा इरान, चीन र रुस र सिरियाबीच गठबन्धन छ। यस्तो परिस्थितिमा भारतलाई सन्तुलित बस्न मुस्किल भइरहेको विश्लेषकहरुको तर्क छ। मोदीले पनि यस विषयमा पुटिनसँग कुराकानी गरेका छन् किनकि भारत कसैसँग लड्न चाहँदैन र अमेरिकासँग पनि उसको राम्रो सम्बन्ध छ।

Credit : raranews.com