२०२२ को वर्ल्डकपका लागि कतारले नेपालसँग माग्यो ‘सुरक्षा गार्ड’

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद तथा संयुक्त अधिराज्य (बेलायत) का राजदुत रिचार्ड मोरिसबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार गृह मन्त्रालयमा भएका छुट्टाछुट्टै भेटमा नेपाल–कतार तथा नेपाल–बेलायतबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जनाएका छन् ।

गृहमन्त्री थापाले कतारी राजदूतसँगको भेटमा कतारले त्यहाँ कार्यरत नेपालीहरुको सेवा–सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग जिज्ञासा राख्दै सुझाव दिए । अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि गृहमन्त्री थापाले आग्रह गरे ।

राजदूत मोहम्मदले यस वर्ष नेपाल र कतारबीच कूटनीतिक सम्बन्धको ४० वर्ष पुगेको अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका निम्ति आग्रह गरे ।

कतारले सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्न गइरहेको सन्दर्भमा सुरक्षा गार्डमा ठूलो संख्यामा नेपालीहरुलाई लैजान कतार इच्छुक रहेको र त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न आफूहरु तयार रहेको उनले बताए । रोजगारीका लागि कतारमा हाल पाँच लाखभन्दा बढी नेपाली पुगेका छन् ।

त्यसैगरी, बेलायती राजदूतसँगको भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

बेलायती सेनामा कार्यरत नेपालीहरुका केही समस्या रहेको सुनिएको भन्दै गृहमन्त्री थापाले सोबारे चासो व्यक्त गरे । राजदुत मोरिसले नेपाल–बेलायत सम्बन्धको चर्चा गर्दै नेपालले तीव्रत्तर विकास गरोस् भन्ने आफूहरुको चाहना रहेको बताए ।

नेपालमा बेलायती लगानी भित्र्याउन आफूले सक्दो पहल गर्ने समेत राजदुत मोरिसले बताए । विपद् व्यवस्थापन, सुरक्षा निकायको तामिल र उपकरणलगायतका क्षेत्रमा गृह मन्त्रालयसँग समन्वय गरेर काम गर्न आफूहरु तयार रहेको पनि उनले बताए ।

पछिल्लो समय गृह मन्त्रालयले सुरु गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमनका विषयमा समेत भेटमा छलफल भयो ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.