सिमकोट : सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भनिएको वेला सिंगो गाउँपालिका नै एकजना कर्मचारीको भरमा चलेको सुन्दा अचम्म लाग्ला तर यो यथार्थ हो। हो हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका एक कर्मचारीको भरमा चलिरहेको छ। गोरखापत्र दैनिकका अनुसार गाउँपालिका कार्यालय र सबै वडा कार्यालय एक जना प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको हो।
गाउँपालिकामा अहिले विष्णुलाल सार्की मात्रै कार्यरत छन्। उनले वडाको काम गर्ने कि गाउँपालिका कार्यालयको? कर्मचारी अभावले पालो कुरेर काम लिनु परेको वडा नम्बर ३, मासपुर बस्तीबाट भुक्तानी लिन आएका काठेपुल निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष गौकला रोकायाले गुनासो गरिन्।
यस्तै वडा नम्बर १ को काँडाजिमानाबाट खानेपानी योजनाको भुक्तानी लिन आएका गम्भीर खड्काले कर्मचारी अभावकै कारण कागजात मिलाउन कठिन भएको गुनासो पोखे। एक वडा सचिव खटाएको भए पनि उनी साविकको गाविस सचिव रहँदासामाजिक सुरक्षा भत्ताहिनामिनाको उजुरीपछि अख्तियार दुरुपयोग अनसन्धान आयोगको नियन्त्रणमा रहँदा सिंगो गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए।
Credit : raranews.com
