जाजरकोट : स्थानीय सरकारको गठनपछि सदरमुकाम खलंगा सुनसान भएको छ। जिल्लामा रहेका सरकारी कार्यालय बन्द हुँदा खलंगामा चहलपहल घटेको हो। मानिसको चहलपहल घटेपछि व्यापार व्यवसाय गर्दै आएका समेतले खलंगा छाड्ने क्रम बढेको छ। यातायातको पहुँच, व्यापार व्यवसायको स्थापना, गाउँमै सरकारी सेवा प्रवाहलगायत सेवा सुविधाका कारण सदरमुकामबाट गाउँ फर्कने बढेको हो।
मानवीय चहलपहल घटेपछि खलंगामा व्यापार व्यवसायसमेत घटेको उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताए। विगतका वर्षभन्दा मानवीय चहलपहल चार गुणाले घटेको अध्यक्ष खत्रीको भनाइ छ। जिल्लास्थित सरकारी कार्यालयमा गर्नुपर्ने काम स्थानीय तहमा नै हुन थालेपछि खलंगामा चहलपहल घटेको उनले बताए। चहलपहल घटेपछि व्यापार व्यवसाय गर्नेहरूसमेत गाउँ फर्केको खत्रीले बताउँछन्।
चहलपहल घटेपछि व्यवसायीहरू पनि विस्थापित हुन बाध्य भएको उनले बताए। पसल तथा होटलमा ग्राहकले भरिभराउ हुने भए पनि पछिल्लो समयमा फाटफुट मात्र आउने गरेको व्यवसायीहरुको भनाइ छ। खलंगामा रहेका दुई दर्जन सरकारी कार्यालय स्थानीय तहमै समायोजन हुँदा थप चहलपहल घटेको हो। त्यस्तै कर्मचारी र सेवाग्राही दुवैको आवतजावत घटेको छ। सदरमुकामस्थित करिब चार दर्जन होटल र २०० पसलका व्यापारी कामविहीन बनेका छन्।
नागरिकताको प्रमाणपत्र लिन, जिल्ला अदालतमा मुद्दा दर्ता गर्न र बैंकिङ कारोबारका लागि मात्र ग्रामीण क्षेत्रबाट स्थानीय आउने गरेको व्यापारी बुद्धिबहादुर खत्रीले बताउँछन्। अन्य किनमेल, सरकारी सेवा गाउँमै प्राप्त हुने हुँदा खलंगा आउने सर्वसाधरण घटेको उनले बताए। दैनिक २५ हजारभन्दा बढी कारोबारो हुने उनको पसलमा पछिल्लो समय एक हजार पनि हुने गाह्रो भएको उनको भनाइ छ। व्यापार व्यवसाय घटेपछि लामो समयदेखि खलंगाममा बस्दै आएका व्यवसायी नेपालगन्ज, सुर्खेतलगायतका सहरतर्फ जान थालेको खत्रीले बताए। बैंकिङ कारोबार गाउँमै सुरु भएपछि खलंगा झन् सुनसान खलंगावासीको भनाइ छ।
खलंगामा चहलपहल कम भएपछि जिल्लाको तल्लुबगर, कालीमाठी, लिम्सा, सक्ला, पाँचकाटिया, बाटुल्ले, थहल, टापुचौर, स्यानाखोला, दसेरा, शिवालय, स्याउली बजारलगायत स्थानमा चहलपहल बढेको खत्रीको भनाइ छ। विगतमा जस्तो सदरमुकाम गएर हप्तौं कुर्नुपर्ने बाध्यता टरेको जुनिचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्यले बताइन्। ‘गाउँगाउँसम्म यातायात सुविधा, बजार व्यवस्था, गाउँमै सरकारी सेवाको उपलब्धलगायतका कारण खलंगा धाउनुपर्ने बाध्यता हटेको हो,’ आचार्यले भनिन्, ‘सबै सुविधा गाउँमै उपलब्ध भए खलंगा आउनुको अर्थ नै छैन।’
Credit : raranews.com
