प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताएका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सुशासन ल्याउने प्रतिवद्धताबाट आफू बिचलित नहुने स्पष्ट पारे ।
‘संविधान, नियम, कानुन र विधि अनुसार सरकारले काम गर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘जसले जे माग राख्यो त्यो पुरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुदैन । अहिलेको सरकारका उद्धेश्य अन्य सरकारका भन्दा फरक रहेको भन्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई थितीमा हिडाउन चाहेको दाबी गरे ।
जनताले सरकारलाई सुम्पिएको अभिभारा गर्नेमा कुनै सन्देह नभएको प्रधानमन्त्री ओलीले बताए । ‘सरकारले जनताका आकांक्षा पुरा गर्छ भन्ने बुझेका विरोधीहरुले, सामाजिक न्याय हुन नदिनेहरुले सरकारका विरुद्ध अफवाह फैलाएका छन’, प्रधानमन्त्री ओलीले भने, ‘पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ ।’
दुई–चार महिना मै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ’ ओलीले भने, ‘निर्वाचन आचारसंहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर काँग्रेसले विधि विधान विपरीत ग¥यो ।’
पार्टी कार्यलयमा प्रधानमन्त्री ओलीलाई विभिन्न संघ संस्थाहरुले मागपत्र बुझाएका छन् । एयर बंगालको विमान दुर्घटनामा मृत्यु भएका परिवारका आफन्त, पूर्व जनमुक्ति सेना, द्वन्द्व पीडित सुरक्षाकर्मीका परिवार, सामाजिक परिचालक संघ, मुस्कान सेना, जिफन्ट लगायतका संघसंस्थाले प्रधानमन्त्रीलाई माग पत्र बुझाएका छन् ।
पार्टी कार्यकर्ता र सर्वसारधणसँग भेटघाट गर्नका लागि प्रधानमन्त्री ओली महिनाको पहिलो दिन केन्द्रीय कार्यलय धुम्बाराही र १५ गते पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडा जाने कार्यक्रम छ । यस्तो भेटघाटको मंगलबार पहिलो दिन हो ।
Credit : onlinepana.com
