मानिस मरेर गए पनि त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ जसले मानिसद्वारा मानिसको शोषणको अन्त गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । पुष्पलाल श्रेष्ठ त्यस्तै व्यक्ति हुनुहुन्थ्यो जसले शोषित–उत्पीडित जनताको मुक्तिका लागि आफ्ना व्यक्तिगत स्वार्थहरूलाई त्यागेर लड्दै जादा अल्पायुमै मृत्युवरण गर्नुभएको थियो ।
नेपालको वाम एवं प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस साउन ७ गते देशव्यापी रूपमा मनाइँदैछ । नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता हुन, पुष्पलाल श्रेष्ठ । नेपाली कम्युनिष्ट आन्दोलनको पर्यायवाची नाम हो, पुष्पलाल श्रेष्ठ । नेका र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता हुन, कम्रेड पुष्पलाल ।
नेपाली कम्युनिष्ट आन्दोलनलाई विश्वसामु चिनाउने दक्षिण एशियाका क्रान्तिनायक हुन् , पुष्पलाल श्रेष्ठ । रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका जन्मिनु भएका नेता पुष्पलालको आज ४० औ स्मृति दिवस ।
पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ मा भएको थियो भने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा गराउँदै निधन भयो । नेपाली कम्युनिस्ट आन्दोलनको कालो दिन बन्यो,साउन ७ ।
मार्क्सवाद लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो। २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उहाँको जीवनमा नयाँ मोड ल्यायो। त्यसबखत पुष्पलाल पश्चिम बंगालका मुख्यमन्त्री ज्योति बसुको नजीक हुनुहुन्थ्यो।
पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार प्रसार गर्न ’कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभयो। सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो। उहाँको विवाह साहना प्रधान सँग भएको थियो।
बिपी र पुष्पलाल
बीपी कोइराला र पुष्पलाल श्रेष्ठ नेपालको प्रजातान्त्रिक आन्दोलनका दुई मुख्य हस्ती हुन्। २००७ सालमा प्रजातन्त्र स्थापना भएपछिको नेपाली राजनीतिलाई उनीहरूले डोहोर्याउँदै आएका छन्। उनीहरूको मृत्युपछि पनि नेपाली राजनीति उनीहरूकै विचारबाट आजपर्यन्त अनुप्राणित एवम् ध्रुवीकृत छ। नेपाली कांग्रेसका संस्थापक बीपीलाई उनको पार्टीसहित प्रजातन्त्रप्रति आस्था राख्ने दल, समूह र व्यक्तिले आदर्श मान्छन्।
अर्कोतर्फ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल नेपालको समग्र वाम आन्दोलनको आदर्श बनेका छन्। नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी भारतमै स्थापना भएका हुन् । तथापि नेपाली काङ्ग्रेसले बढ्ता भारतमुखी छवि देखायो तर पुष्पलाल कहिल्यै भारतको हितअनुकूल अघि बढेनन् ।तसर्थ जुन ढङ्गले पुष्पलालको भन्दा बीपीको राजनैतिक उँचाइ माथि देखाइन्छ, त्यो सर्वथा गलत छ । बीपीभन्दा राष्ट्रवादी नेता पुष्पलाल हुन ।
पुष्पलालको सपना
नेपालका दुई ठुला दल नेकपा एमाले र माओबादीको एकता भएको छ । पुष्पलालले देख्नुभएको वामपन्थी एकताको सपना लगभग पुरा भएकै हो । पुष्पलालले सङ्गठनात्मक जीवनको सन्दर्भमा ’पार्टी नीति प्रधान हो, नेता प्रधान होइन’ भन्नुहुन्थ्यो तर आज हाम्रो पार्टीको मूल सिद्धान्त जनवादी केन्द्रीयता तोडी दलबन्दी र गुटबन्दीमा जगडिएको छ।
त्यसैले सैद्धान्तिक, वैचारिक र व्यावहारिकरूपमा एकमत कायम गरेर पुष्पलालले देख्नुभएको वामपन्थी एकताको सपना पूरा गर्नैपर्छ। तबमात्र हामीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४० औं स्मृति दिवस मनाउनुको सार्थकता रहला ।
नेपाली प्रजातन्त्र सङ्घका संस्थापक हुँदै कम्युनिष्ट पार्टीका संस्थापक महासचिव, गणतन्त्रका प्रथम उद्घोषक, भौतिकवादी चिन्तक, सादा जीवन र कठोर सङ्घर्षमा धैर्य र शाहसका साथ अघि बढ्ने, लोकतान्त्रिक आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनका प्रवर्तक पुष्पलालको लोकतान्त्रिक र गणतान्त्रिक विचारप्रति सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि ।
(लेखक : अनेरास्ववियु चितवनका चर्चित नेता हुन)
Credit : onlinepana.com
