काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न सुझाएका छन्। सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले उक्त कुरा बताए। ‘एकपटक आरोहण गरेपछि पटक-पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ’, प्रधानमन्त्री ओलीले भने ‘सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नु राम्रो हुन्छ।’
प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा कहिले पनि लापरवाही गर्नु नहुने बताए। ‘हिमाल आरोहणलाई मजाकको विषय बनाउनु हुँदैन। स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु हुँदैन। स्वास्थ्य ठिक भएपछि वा जोखिम घटेपछि पुनः आरोहणको प्रयास गर्नुपर्दछ।
सफलता पाइन्छ’, उनले भने। आफूलाई पनि सगरमाथा आरोहणको रहर भएपनि युवा अवस्थामा राजनीति गर्दा भूमिगत बस्नुपरेको र त्यसपछि १४ वर्षसम्म जेल बस्नु परेकोले त्यो अवसर नपाएको प्रधानमन्त्री ओलीले बताए। ‘मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो, उनले भने ‘भूमिगत जीवन,जेल जीवनले पाइनँ। जब जेलबाट छुटेपछि कमजोर स्वास्थ्यले दिएन।’
सगरमाथा आरोहण गर्ने पाँच महिला पत्रकारको सम्मानमा प्रथम महिला राधिका शाक्यले कार्यक्रम आयोजना गरेकी थिइन्। पत्रकारहरु रोजिता बुद्धाचार्य, रोशा बस्नेत, देउराली चाम्लिङ, कल्पना महर्जन, प्रियालक्ष्मी कार्कीले केही समय अघि सगरमाथाको आरोहण गरेका थिए।
कार्की स्वास्थ्यको कारणले ७ हजार मिटर उचाइबाट फर्किएका थिए। आरोहीहरूलाई प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यले सम्मान गरे। यसैगरी उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोख्रेल, सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सम्मान गरेका थिए।
Credit : raranews.com
