शिक्षकलाई अब मासिक रुपमा तलब

चौमासिक तलब बुझ्दै आएका शिक्षकले अब आउँदो आर्थिक वर्षदेखि मासिक रुपमा तलब पाउने भएका छन् ।

नेपाल शिक्षक महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरक्षेत्रमा कार्यरत शिक्षकलाई मासिक रुपमा तलब दिने घोषणा गर्नुभयो ।

गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने जानकारी गराउँदै उहाँले सम्पूर्ण सेवा सुविधा प्रदान गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

प्रमुख केसीले बालकक्षामा अध्यापन गराउने शिक्षकलाई विद्यालय पोशाक खरिदमा केही रकम सहयोग गर्ने र बालकक्षामा पढ्ने बालबालिकालाई दिवा खाजाको समेत व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

विद्यालय पोशाक एकरुपता अभियानमा सरकारी विद्यालयमा अध्यापन गर्ने प्रथामिक तहका सबै विद्यार्थीलाई ट्र्याकसुट खरिद गर्दा रु ३० लाख खर्च भएको बताउँदै उहाँले नगरभित्रका १० विद्यालयमा विद्यार्थी संख्या अत्यन्तै न्यून रहेकाले त्यस्ता विद्यालयलाई तत्कालै एकआपसमा गाभ्ने (मर्ज) कार्य पनि अन्तिम चरणमा पुगेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मर्ज हुँदा केही शिक्षकलाई घरपायक केहीलाई टाढा पर्न सक्छ, यसमा सबैले चित्त बुझाउनु पर्छ ।”

नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाका अध्यक्ष बालकृष्ण दाहाल, सहअध्यक्ष इन्द्रकुमार बस्नेत र सचिव ध्रुव सापकोटाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा शिक्षकका पेशागत हकअधिकार सुरक्षित गर्दै शैक्षिक गतिविधि चुस्त दुरुस्त र प्रभावकारी बनाउन २८ बुँदे माग पेश गरिएको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.