विखण्डनकारी र हिंसा भड्काउनेविरुद्ध सरकार आक्रामक : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विखण्डन गर्न खोज्ने र साम्प्रदायिक हिंसा भड्काउने समूहलाई सरकारले संयमका साथ मूल प्रवाहमा ल्याउन कोसिस गरिरहेको बताएका छन् । तर, अटेर गरेर अघि बढे उनीहरूविरुद्ध सरकार आक्रामक हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरद्वारा आज सोमबार आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकारमा नरहेका पार्टीलाई पनि राष्ट्रको मूल प्रवाहमा ल्याई दिगो शान्ति र राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गराइने बताए ।

उनले छिमेकी राष्ट्र भारत र चीनसँग परिपक्व कूटनीतिक सम्बन्ध राख्दै केही वर्षभित्रै भारतको रक्सौल तथा चीनको केरुङबाट काठमाडौं जोड्ने रेल्वे र पानीजहाज चलाउने कार्यक्रमलाई दृढताका साथ कार्यान्वयन गरिने बताए । उनले कार्यकर्तालाई राष्ट्रिय अखण्डताप्रति संवेदनशील हुँदै जनताको घरदैलोमा पुगेर पार्टी सङ्गठनलाई क्रियाशील बनाउन तथा नेतामुखी र गुटबन्दीबाट अलग रहन सल्लाह दिए ।

भेलामा प्रदेश सभा सदस्यद्वय मुनु सिग्देल र कुमारी मोक्तानले प्रदेशका १३ जिल्लामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न केन्द्रीय सरकारबाट बजेट उपलब्ध गराउन प्रधानमन्त्रीसँग माग गरे ।

प्रधानमन्त्रीले आजै प्रदेश ३ का मुख्यमन्त्री तथा मन्त्री र विभिन्न मन्त्रालयका सचिवसँग मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा प्रदेश सरकारले जनताका लागि सुशासन र दिगो विकास दिन आवधिक योजना तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गरे । सो अवसरमा उनले सरकारको कामकारबाही पारदर्शी र निष्पक्षताका साथ सम्पन्न गर्न र आवश्यक ऐनकानुन तर्जुमा गरी आगामी आवदेखि सरकारको प्रभावकारिता बढाउन अनुरोध गरे ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.