मेरो आरोग्यको कारण लय योग र स्वस्थ आहार : राष्ट्रकवि माधव घिमिरे

राष्ट्रकविको रूपमा प्रतिष्ठित कवि माधव घिमिरे नेपाली गीत, काव्य, र गीति नाटकको क्षेत्रका एक शिखर श्रष्टा हुन् । गौरी, अस्वत्थामा, चैत वैशाख, मालती मङ्गलेजस्ता लोकप्रिय पुस्तकका श्रष्टा घिमिरे अहिले ९९ औँ वर्षमा छन् । केही महिना अगाडि नेपाल प्रज्ञाप्रष्तिठानको अनुवादप्रधान पत्रिका रूपान्तरणका लागि महेश पौड्यालले लिएको अन्तरवार्ताको नेपाली संस्करण यहाँ प्रस्तुत गरिएको छ । साथै, समालोचक डटकम राष्ट्रकविको स्वाथ्यलाभको कामना गर्दछ, र दीर्घजीवन, आरोग्य र अझ सिर्जनशील समयका लागि हार्दिक कामना गर्दछ ।

कविजी नमस्कार । पछिल्लो समय के लेखिरहनुभएको छ?

म रितम्भरा भन्ने महाकाव्य लेखिरहेको छु । यसले हाम्रो समयका दुईवटा जटिल समस्याको कुरा गर्छः आणविक त्रास, तथा मानवताको क्रमिक ह्रास । यो महाकाव्य पूर्वीय मिथकीय र दार्शनिक जगको आधारमा उभिएको छ, र म यसलाई छिटै नै सक्नेछु । अर्को वर्ष त म सय वर्ष पुग्छु, र त्योभन्दा अगाडि म यो सिद्ध्याउन चाहान्छु ।

कविजी, तपाईं ९९ वर्षमा हिँड्दैहुनुुहुन्छ । तर अझै सक्रिय देखिनुहुन्छ – स्वास्थ्यमा पनि, सिर्जनामा पनि । तपाईंको आरोग्य तर सधैँ क्रियाशील रहने सिर्जनक्षमता पछाडिको भेद के हो?

वास्तवमा हाम्रो स्वास्थ्य भनेको हाम्रै हातको कुरा हो । यो प्रकृति–निर्मित हुन्छ, र अन्य सबै प्राकृतिक चीजमा जस्तै यसमा पनि पानी, हावा र प्रकाशको सन्तुलन जरूरी हुन्छ । म यी सबैप्रति सजग रहन्छु । म मेरो आहार सचेततापूर्वक चयन गर्छु, मदिरा सेवनबाट आफैँलाई टाढा राख्छु, र धेरै खाने कुराबाट पनि परै बस्छु । दूध मेरो भोजनको अनिवार्य अङ्ग हो । म आफू करिब डेढ वर्षको शिशु हुँदै मैले आमा गुमाएको हुँ । मलाई बुवाले दूधमात्रै खुवाएर हुर्काउनुभएको हो । दूधप्रतिको मेरो आकर्षणको एउटा कारण यो पनि हो ।

म हल्का योग पनि गर्छु, जसलाई “लय योग” भन्छु । वास्तवमा हामी सबैभित्र सधैँ गुञ्जिरहने एउटा सङ्गीत हुन्छ । हामीले ध्यान दिएर त्यसको लय बुझ्नुपर्ने हुन्छ । यो सङ्गीतसँगै म समयमै सुत्छु, र समयमै जाग्छु । तर कहिलेकाहीँ कविताप्रतिको अनुराग ज्यादै चढ्यो भने म मेरो नियमित दिनचर्याको क्रमलाई मिचि पनि दिन्छु । अन्यथा, म चनाखो रहन्छु । यस प्रकारको दिनचर्याको पे्ररणा मैले भागवत गीतामा पाएको हुँः

युक्ताहार विहारस्य युक्तचेष्टस्य कर्मसु
युक्तस्वप्नावबोधस्य योगो भवति दूस्खहा
(गीता ६.१७)

[अर्थ: जसको आहार, विहार, विचार एवम् व्यवहार संतुलित तथा संयमित छ, जसको कार्यमा दिव्यता, मनमा सदा पवित्रता एवम् शुभका प्रति अभीप्सा छ, जसको शयन एवम् जागरण नियमित छ, उही सच्चा योगी हो ।]

म मेरो आहार सचेततापूर्वक चयन गर्छु, मदिरा सेवनबाट आफैँलाई टाढा राख्छु, र धेरै खाने कुराबाट पनि परै बस्छु । दूध मेरो भोजनको अनिवार्य अङ्ग हो । हल्का योग पनि गर्छु, जसलाई “लय योग” भन्छु । वास्तवमा हामी सबैभित्र सधैँ गुञ्जिरहने एउटा सङ्गीत हुन्छ । हामीले ध्यान दिएर त्यसको लय बुझ्नुपर्ने हुन्छ । यो सङ्गीतसँगै म समयमै सुत्छु, र समयमै जाग्छु ।

जहाँसम्म सिर्जनशीलताको कुरा छ, मेरो लागि त्यो मस्ष्किलाई विकारहरूबाट मुक्त राख्ने सर्वोत्तम उपाय हो । हामी सिर्जनशील भएको बेला हामीले गर्ने भनेको सिर्जना हो । त्यसो गर्नका निम्ति हामीले अन्य सबै कुरा त्याग्नुपर्ने हुन्छ । त्यसो गर्दा हामीले आफैँलाई सबै प्रकारका नकारात्मक सोचबाट पनि मुक्त राखेका हुन्छौँ ।

तपाईंले लेखनमा प्रवेश गर्दाताका, तपाईंका अगाडि कस्ता चुनौती थिए? त्यो बेलाका शासक त स्वतन्त्र लेखनका पक्षपाती थिएनन् नि ?

मलाई लेखनमा लोकगीतहरूले तानेको हो, जो म जन्मेका डाँडापाखाहरूमा गाइन्थे । एकपल्ट मैले विद्यालयमा एउटा प्रतियोगिता जितेँ, जसको पुरस्कारमा मलाई त्यो बेला साप्ताहिक रूपमा प्रकाशित हुने गोरखापत्र र केही नेपाली किताबहरू दिइयो । ती किताबभित्र मैले लेखनाथ पौड्यालको एउटा कविता पनि पढ्न पाएँ । त्यो पढ्दा मलाई कविता लेख्न मन लाग्यो, र म कविता लेख्न थालेँ । मैले कविता काठमाडौँ पठाउन थालेँ, र ती छापिन पनि थाले ।

मैले आफैँमात्र कविता लेखिनँ, साथीहरूका लागि पनि लेखिदिएँ । त्यसताका लेखनमाथि राज्यको नियन्त्रणका कुरा हामी त्यति सुन्दैनथ्यौँ । त्यसैले, हामीमा त्यस्तो भय कतै पनि थिएन । तर जब म अलि ठूलो भएँ, मैले राणा सरकारले लेखनमाथि लगाएको अङ्कुशबारे थाह पाएँ । स्वतन्त्रताको पक्षमा त्यो बेला मैले एउटा कविता लेखेँ, जसको शीर्षक थियो “विश्वबन्धुत्व” । तर त्यो नेपालबाट नभएर दार्जीलिङबाट प्रकाशित भयो । म सबै खाले एकाधिकारवाद र नियन्त्रित प्रजातन्त्रको विरोधमा थिए । म सधैँ नागरिक अधिकार र स्वतन्त्रताकै पक्षमा उभिएँ ।

र तपाईं काठमाडौँ आउनुभयो । तर पनि तपाईंबाट लेखनमा लोक र ग्रामीण कलेवर हटेन । लाग्छ, तपाईंको रचनामा काठमाडौँ पसेन । तपाईंले आफ्नो लेखनमा सहरको घुसपेठलाई कसरी छेक्न सफल हुनुभयो?

वास्तवमा, कुनै पनि व्यक्तिको स्मरणमा सबैभन्दा बलियो भएर बस्ने भनेको उसलाई सबैभन्दा बढी प्रभावित पार्ने परिवेश नै हो । मेरो सन्दर्भमा पनि सायद त्यही भयो । म लम्जुङका डाँडाहरूमा हुर्किएँ, र त्यहाँको प्रकृति नै मेरो लागि सबैभन्दा प्रभावशाली चीज रह्यो । त्यस भेगमा बोलिने भाषाको प्रभाव पनि त्यस्तै रह्यो । मलाई थाह छ, त्यस परिवेशबाहिर पनि उस्तै शक्तिशाली प्रभावहरू हुन्छन् र तिनीहरूले मान्छेका सोचाइमा ठूलो प्रभाव पर्छन् । तर मेरो सन्दर्भमा सायद मैले सहरमा त्यस्तो ठूलो प्रभाव केही पनि फेला पारिनँ ।

फेरि कविताकै कुरा गरौँ । तपाईंको विचारमा कविता केले बन्छ? एउटा कविले आफ्नो निजत्व कहाँ र कसरी फेला पार्छ?

मेरो पहिलो कविता भनेको “वैराग्य पुष्प” हो जुन मैले पन्ध्र वर्षको हुँदा लेखेँ । आज फर्केर हेर्दा, त्यस उमेरमा त्यस्तो गम्भीर विषय मजस्तो एउटा पन्ध्रवर्षे केटोको मस्तिष्कमा कसरी फुर्यो होला भन्ने सोचेर अचम्म पनि लाग्छ । त्यो बेला, कविता लेखनको नाममा मैले गर्ने भनेको मैले अरुबाट सुनेका कुरालाई आफ्नै शैलीमा पुनर्लेखन गर्ने मात्रै थियो । मेरो कवितामा निजत्व धेरै पछि मात्रै आयो, जब म सामान्यजस्ता लाग्ने कुराभित्र पनि म मेरो निजी विश्वदृष्टिहरू मिसाउन थालेँ । लेखनाथलाई हेर्नुस् न । ऋतु विचारका यी हरफमा उनको निजत्व कसरी प्रस्फुटित भएर आयोः —

धरतीको दिव्य सौन्दर्य, नअटाएर पट्ट भै
फुटी बाहिर निस्कियो, पुष्पको रूपमा सबै ।

त्यसरी नै देवकोटाजीले फूलमा श्रृष्टिकर्ताको भव्यता देख्नुभो । त्यो एउटा मौलिक चिन्तन हो । एउटा कविलाई आफ्नो परिपक्व र मौलिक व्यक्तित्व फेला पार्न लामो समय लाग्न सक्छ । त्यस्ता कवितामा कविले केही कुरामा आफ्ना निजी दृष्टिकोणहरू दिएको हुन्छ । मेरो सन्दर्भमा, प्रेम बारे मेरो निजी दृष्टिकोण दिनसक्ने यस्ता हरफ लेख्न थालेपछि म आफैँलाई मौलिकताको बोध भयोः

चौतारीमा बरपीपलको बोट नौलो लगाऊँ
छाहारीको तलतिर बसी गीत एउटा म गाऊँ
आई कहिल्यै पनि नसकिने चैत बैशाख मेरा
लाई कहिल्यै पनि नसकिने प्रीति नौलाख मेरो

मलाई लाग्छ, सत्य दुई खाले हुन्छन्ः शाश्वत र परिवर्तनशील । शाश्वत सत्य जहाँ पनि सत्य हुन्छन् र जहिले पनि । परिवर्तनशील सत्य केही अन्तरालपछि पुनः देखा पर्छन्, र तर कहिल्यै मर्दैनन् । माथिका हरफहरूमा मैले यो पछिल्लो विचार प्रकाट गरेको हुँ । ती हरफ भन्छन्, प्रेम कहिल्यै सकिँदैन । त्यो वसन्त फेरि फेरि आएजस्तै विभिन्न रूपमा आइरहन्छ ।

तपाईं कविताको विमोचनहरूमा गइरहनुहुन्छ । सायद आजभोलिको कविता पनि पढिरहनुहुन्छ । आजका कवितामाथि तपाईंको दृष्टिकोण के छ?

म त छन्दको मान्छे । त्यसैले म अरुभन्दा छन्द कविता बढी पढ्छु । नयाँ पुस्तका कविहरूबाट बलिया कविता आइरहेको मैले अनुभव गरेको छु । केही कमजोर पनि नभएका होइनन् । गद्य कविताका बारेमा भने, म कहिलेकाहीँमात्रै पढ्छु । तर मलाई थाह छ, गुणस्तरीय गद्य लेख्न पनि उत्तिकै चुनौतीपूर्ण छ । उदाहरणका लागि देवकोटाको “पागल” कविता हेर्नुहोस् न । सायद कसैले देवकोटालाई पागल भएको आरोप लगायो, र उनी उक्त कविता लेख्न प्रेरित भए । तर यो कविता आन्तरिक सङ्गीतबाट सुसज्जित छ । मेरो दृष्टिमा यस्ता कविता सुन्दर हुन्छन् । आजभोलिका कतिपय कविहरूले पनि यस्ता कविता लेखेका छन् ।

तपाईंले बालबालिका लागि पनि धेरै लेख्नुभो । बालसाहित्यका बारेमा तपाईंको दृष्टिकोण के हो?

हामी साना छँदा नेपालमा बालसाहित्य भन्ने केही पनि थिएन । केही थियो भने लोक गीत थिए । मेरो ग्रामीण पृष्ठभूमिका कारण मैले धेरै लोकगीत सुनेँ र जानेँ । देवकोटाले केही कविता लेखे बालबालिकाका लागि । मैले पनि केही लेखेँ । मैले देवकोटा र रविन्द्रनाथ ठाकुरको बालसाहित्य पनि पढेँ, र लोकगीत, देवकोटा र ठाकुरको त्रिपक्षीय प्रभावका कारण बालसाहित्य लेखनतिर लागेँ ।

हामीले बालसाहित्यमा गर्ने भनेको रोचक र बोधगम्य हिसाबले नैतिकता सिकाउने हो । हाम्रो रचनाभित्र बालकले आफूलाई आफैँ भेट्टाऊन् । त्यस पाठमा बालकहरूले पछि पुनः सोचून्, जब धेरै समयपछि उनीहरू माथिल्लो कक्षामा पुगिसकेका छन् । बालसाहित्यमा कुनै क्लिष्ट विचार घोल्नुभन्दा हामीले रोचक प्रस्तुतीभित्र नैतिक पाठकहरू पस्कनुपर्छ ।

अन्त्यमा रितम्भराको कुरा । रुमानी विषयहरूमा लेख्दै आएको एउटा कवि एक्कासि वैश्विक उपादेयताका दुई यथार्थवादी समस्यामा केन्द्रित हुनुभयोः हतियारको होड र मानवीय प्रेमको खडेरी । तपाईंलाई यस्तो विषयवस्तु टिप्न केले प्रेरित ग-यो?

मैले मेरो अस्वत्थामा पनि वैश्विक मानवीय समस्याका कुरा उठाएको थिएँ । रितम्भरामा मैले परमाणुको त्रास, र घट्दो मानवीय प्रेमका कुरा उठाएको छु । मलाई थाह छ, आज निर्माण भइरहेका परमाणु बमहरू हिरोसिमामा पड्केका भन्दा कइयौँ गुणा घातक छन् । यस आणविक त्रासभित्र सम्पूर्ण मानव सभ्यतालाई समाप्त पार्ने क्षमता छ । र अर्को समस्या यो छ कि आजभोलि हृदयमा मानवीय संवेदनाभन्दा पनि तर्क, बौद्धिकता र प्रविधि बढी हावी भइरहेका छन्, र वैश्विक मानवीय प्रेम चैँ घट्दै भइरहेको छ । आज सम्बन्धविच्छेदको अनुपात हेर्नुहोस् न ।

आज श्रीमान श्रीमतीबीच नै प्रतिबद्धताको कमी छ । म यो कुरा मान्छु कि विज्ञान विस्तारित भइरहेको छ, मान्छेहरू नयाँ नयाँ ग्रह पत्ता लगाइरहेका छन्, र रङ्गको विश्लेषण गरेरै कहाँ कुन् खनिज पाइन्छ, त्यो पत्ता लगाइरहेका छन् । हामीले विश्वास गर्नै गाह«ो हुने गरी प्रगति भइरहेको छ । तर पनि, हाम्रो संवेदनाको पक्ष मर्दै गयो भने, यी सबै कुराको के काम?

आज पारिवारिक मूल्यलाई हेर्नुहोस् न ! बालबालिकाहरू बाआमालाई छोडेर भागिरहेका छन् अथवा उनीहरूलाई बृद्धाश्रमतिर पठाइरहेका छन् । बाआमा, छोराछोरी र नातिनातिना सँगै बसेको संयुक्त परिवारमा कति प्रेमपूर्ण हुन्थ्यो वातावरण ! आजभोलि, बच्चाहरू आफ्ना बाआलाई घरबाट लखेटिरहेका छन् । प्रेमको यो ह्रास खेदपूर्ण छ ।

मेरो रितम्भरा यस्तै विषयमा लेखिएको छ । रित भनेको सत्य, जुन सधैँ अक्षुण्ण रहन्छ । यो एउटा उन्नत प्रकारको प्रज्ञा हो । यसको सम्बन्ध जीवनसँग छ, र स्वर्ग र मत्र्यको प्रेम यसका लागि आवश्यक हुन्छ ।धेरै धन्यवाद । सुस्वाथ्य र दीर्घायुको हार्दिक कामना ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.