मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थीले बुझाए ज्ञापनपत्र

काठमाडौं : सरकारले हालै गरेको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनहरूले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई ज्ञापनपत्र बुझाएका छन्। संयुक्त विद्यार्थी संगठनको प्रतिनिधि टोली मन्त्रालयमा पुगी मन्त्री यादवलाई गैरजिम्मेवार ढंगले बढाइएको मूल्यवृद्धि अविलम्ब खारेज गर्न माग गरेका छन्।

उनीहरूले मूल्यवृद्धि फिर्ता नभएमा संघर्षमा उत्रिन बाध्य हुने चेतानवनीसमेत दिएका छन्। अनेरास्ववियुका अध्यक्ष नविना लामा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, नेविसंघका अध्यक्ष नैनसिंह महर, अखिल छैठौंका अध्यक्ष बिमल पोखरेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जनताको दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रमा पार्न प्रभावले जनताको ढाड सेक्ने काम गरेको उल्लेख गरिएको छ।

‘बहुसंख्यक जनता गरिबीको रेखामुनी रहेको हाम्रो जस्तो देशमा सरकार केबल व्‍यापारी मात्र बन्न सक्दैन भन्ने हाम्रो धारणा रहेको छ। अत्यावश्यक क्षेत्रमा सरकारले जनतालाई राहत र सहुलियत दिनुपर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ। ज्ञापनपत्र बुझाउन गएको संयुक्त विद्यार्थी संगठनको टोलीलाई सम्बोधन गर्दै आपूर्ति मन्त्री यादवले अहिले नै पेट्रोलको भाउ घटाउन मन्त्रालयले नसक्ने जवाफ दिए। उनले छलफल गर्न बहसमा आउन आग्रह गर्दै आन्दोलनका कार्यक्रम भने नगर्न आग्रह गरे।

‘अहिले नै गाह्रो हुने बताउँदै आन्दोलन नगर्न बरु छलफल गर्न बहस गरौँ। सडक आन्दोलनमा नजानुस्। म बेथिति अन्त्यको लागि लागिरहेको छु र लाग्छु। केही दिन पख्नुस्’, उनले भने ‘पेट्रोलियम क्षेत्रमा भएको भ्रष्टाचारको अन्त्यको अभियानमा लागेको र यसका लागि सबैको साथ र सहयोगको अपेक्षा छ।’

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.