मन्त्रिपरिषदका निर्णय : फेरि विद्यालय भर्नादेखि दरबन्दी स्वीकृतसम्म

काठमाडौं : सरकारले विद्यालय भर्ना अभियान दोस्रो पटक सुरु गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गएको वैशाखमा सञ्चालन गरिएको विद्यालय भर्ना अभियानबाट पनि विद्यालयमा आउन नसकेका बालबालिकालाई पुनः विद्यालयमा ल्याउन भर्ना अभियान शुरु गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

विद्यालय आउन नसकेका ३ लाख १३ हजार विद्यार्थी मध्ये पहिलो चरणको अभियानमा २ लाख ५४ हजार विद्यार्थी विद्यालयमा भर्ना भएका छन्। भने अझै ५९ हजार विद्यार्थी  विद्यालय बाहिर रहेका छन्। जसमध्ये सबैभन्दा बढी २ नम्बर प्रदेशमा रहेकाले दोस्रो चरणको भर्ना अभियान सरकारले सञ्चालन गर्ने निर्णय गरिएको मन्त्री बास्कोटाले जानकारी दिए। ‘गएको वैशाखमा शुरु गरिएको विद्यालय भर्ना अभियान बाट अहिलेसम्म अभियान पछि ५९ हजार बालबालिका विद्यालय बाहिर रहेको पाइयो’ उनले भने, ‘जसमध्ये प्रदेश २ मा सबैभन्दा बढी बालबालिका विद्यालय भर्ना अभियानबाट पनि विद्यालय आउन सकेनन्।

त्यसकारण दोस्रो चरणको विद्यालय भर्ना अभियान शुरु गरी छुटेका विद्यार्थीलाई विद्यालय ल्याउने निर्णय गरेका छौँ।’ यसैगरी बैठकले बिमस्टेकको चौथो शिखर सम्मेलन भदौ १४ र १५ वा २१ र २२ गते नेपालमा आयोजना गर्न यसका सम्बन्धित सदस्य राष्ट्रहरूलाई प्रस्ताव गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्ले बिमस्टेक सम्मेलनका लागि आवश्यक उपसमिति समेत बनाएको छ।

काठमाडौं-तराई द्रुतमार्ग आयोजना सञ्चालन कार्यविधि २०७५ लाई मन्त्रिपरिषद्ले पारित गर्दै यसलाई छिटो सम्पन्न गर्नका निम्ति विभिन्न निर्देशक समितिलाई बढी भन्दा बढी कामको अनुगमन गर्न निर्देशन दिएको छ।   यसैगरी जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा कार्यालय, अध्यागमन कार्यालय, तथा कारागार कार्यालयको संगठन संरचना तथा दरबन्दी स्वीकृत गरेको छ। बैठकले प्रशासकीय अदालत सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संसद मा पेश गर्ने निर्णय गरेको छ। त्यस्तै कृषि, जैविक विविधता संरक्षण तथा सदुपयोग सम्बन्धि विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्विकृति दिने निर्णय गरेको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.