मकवानपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय विकासका लागि अनुकुल रहेको बताएका छन्। प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समयमा विकास गर्न सकिएन भने कहिले गर्न नसकिने बताएका हुन्।
उनले प्रदेश सरकारलाई विकासका काम गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्दै केन्द्रले साथ दिने बिताए । नेपालका सबै प्रदेशमा आत्मनिर्भर बन्ने मात्रै होइन निर्यात गर्ने सक्ने गरी उत्पादन गर्न सक्ने क्षमता रहेको र त्यसका लागि अब मेहनतको खाँचो रहेको बताए।
विकास र जनताका आकांक्षा पूरा गर्नका लागि अहिले देशको परिवेश अनुकुल रहेको र यसलाई प्रदेश तथा केन्द्र सरकारले अवसरको रुपमा लिनु पर्ने बताए ।
भ्रष्टाचार
प्रधानमन्त्री ओलीले देश विकासका लागि भ्रष्टाचार जरैदेखि उखेल्नु पर्ने बताए । उनले भने, ‘भ्रष्टाचार म पनि गर्दिन, गर्नेलाई पनि छोड्दिन । भ्रष्टाचार गर्नेको अनुहार हेर्दिन, चाहे ह्याण्डसम होस् वा ब्युटी, भ्रष्ट भएपछि सकियो । कारवाही हुन्छ ।’
उनले प्रदेश सरकारलाई भ्रष्टाचार विरुद्ध सजग भएर लाग्न आग्रह गरे । भ्रष्टाचार विकासको अवरोध रहेको र त्यसलाई उखेल्नु पर्ने ओलीको भनाई छ ।
सिन्डिकेट
प्रधानमन्त्री ओलीले आफ्नो सरकार सिन्डिकेट विरुद्ध डटेर लागेको बताए ।
उनले भने, ‘हामीले यातायातको सिन्डिकेट अन्त्य गर्छौँ भन्यौँ गरेरै छाड्यौँ । अब कुनै पनि क्षेत्रमा सिन्डिकेट रहन दिँदैनौँ ।’
प्रधानमन्त्री ओलीले सबै अवरोधहरु तोडेर विकासका लागि अघि बढ्न आग्रह गरे । उनले फेरी चलाएरै छाड्ने पनि बताए ।
हामीसँग प्रतिस्पर्धा गर्न भारतले सक्दैन
ओलीले नेपालमा सस्तोमा राम्रो सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको बताए ।
उनले भने, ‘हामीसँग राम्रा ढुंगा छन् । राम्रो सिमेन्ट सस्तोमा उत्पादन गर्न सक्छाैँ । भारतमा निर्यात गर्न सक्छौँ । भारतले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैन ।’
नेपालमा यस्तै अरु धेरै सम्भावनाहरु रहेको ओलीले बताए।
Credit : raranews.com
