बांगाबगरवासी वर्षौंदेखि पहिरोको जोखिममा बस्न बाध्य

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका–६ बांगाबगरका स्थानीय करिव एक दशकदेखि पहिरोको जोखिममा बस्न बाध्य भएका छन्। वर्ष याम सुरु भएसँगै यहाँका स्थानीयलाई फेरि पहिरोको चिन्ताले सताउन थालेको छ।  बर्षातको समय नजिकिएसँगै बांगाबगरबासीलाई पहिरोको चिन्ताले सताउन थालेको स्थानीय सुरेश श्रेष्ठले बताए। २०६४ सालमा बांगाबगरमा खसेको पहिरोले बर्षेनी खेतीयोग्य जमीन र घरहरु बगाउँदै आएको छ। बर्षातको समय नजिक आउन लागेकाले आफूलाई पहिरोको निकै डर लाग्ने गरेको अर्का स्थानीय धनीराम भुलले बताए।

‘यहाँका स्थानीयलाई सधैँ पहिरोकै चिन्ता लागेको हुन्छ’ उनले भने, ‘वर्षेनी खस्ने पहिरोले यो साल पनि वर्षात सुरु हुनै लाग्दा चिन्ता बढ्दै गएको छ।’ पहिरोले घरखेत बगाएपछि टिनको टहरामा बसिरहेको र टहरोसमेत पहिरोले बगाउने चिन्ता लागेको उनको भनाइ छ।  गाउँमाथिबाट खसेको पहिरोले वर्षेनी विकराल रूप लिँदै गएपछि स्थानीयवासी पहिरोको जोखिममा परेका हुन्।

यस्तै गाउँ जानका लागि काटेको नयाँ कच्ची सडकका कारण पनि पहिरो खसेको बताइएको छ। माथिको कच्ची सडकबाट पहिरो खस्ने भएकोले महाकाली राजमार्ग अन्तर्गत बांगाबगरमा सडक बेलाबेलामा अवरुद्ध हुँदै आएको छ। पहिरोकारण ६ परिवारको उठिबास नै भइसकको छ भने १५० रोपनी जमीन बगरमा परिणत भएको छ।  वर्षातको समय नजिक आउन थालेपछि बांगाबगरका स्थानीयहरु पहिरोको डर मान्न थालेको स्थानीय अमर नाथले जानकारी दिए। करिब ७०० मिटर लम्बाईको पहाडबाट खसेको बांगाबगर पहिरोले स्थानीय त्रसितसमेत बनेका छन्।

उनले भने, ‘यहाँका स्थानीय पहिरोकै जोखिमको बीचमा बस्न बाध्य छन्।’  भित्री कमेरोयुक्त माटो भएकाले बांगाबगर आउने पहिरो तत्कालै नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ। पहिरो नियन्त्रणमा लागी विपद् व्यवस्थापनको क्षेत्रमा काम गरिरहेको विभिन्न संघसंस्थाहरुले प्रयास गरे पनि सफल हुन सकेको छैन्। पहिरोको टुप्पोमा ताल भएकाले सोही तालका कारण पहिरो आएको हुन सक्ने विज्ञहरूले अनुमान गरेका छन्।

दुई वर्ष अगाडि त्रिभुवन विश्वविद्यालय इन्जिनियर संस्थानका अधिकारीहरूले अध्ययन गर्दा कमेरोयुक्त माटो र तालका कारण पहिरो आएको बताएका छन्। सो पहिरो नियन्त्रणका लागि सानो लगानी प्रयाप्त नहुने टोलीले बताएको थियो।   यता पहिरो  नियन्त्रणमा नआउँदा भने बांगाबगरका स्थानीय वर्षौंदेखि जोखिममा बस्दै आएका छन्।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.