फौजदारी अभियोग लागेपनि सांसद निलम्बन नहुने

काठमाडौं : फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन नगर्नेगरी संसद नियमावली आउने भएको छ। शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकमा संसद नियमावली निर्णयार्थ पेश गर्ने कार्यसूची छ।

संसदबाट नियमावली पास भएसँगै फौजदारी अभियोग लागेका सांसदहरू निलम्बनमा पर्ने छैनन्। अप्रत्यक्ष रुपमा भने उनीहरुलाई सांसदका रुपमा कुनै पनि सुबिधा लिन नपाउने गरी नियमावलीले बन्देज लगाएको छ। हाल नियमावलीको मस्यौदामामा फौजदारी अभियोग लागेका सांसदले सांसदको रुपमा कुनै पनि सुविधा लिन नपाउने उल्लेख गरिएको छ।

यसभन्दा अघिल्ला नियमावलीहरुमा फौजदारी अभियोग लागेका सांसहरु अदालतमा मुद्दा किनारा नलागेसम्म निलम्बनमा पर्थे। अहिले नेपाली कांग्रेसले निलम्बन शब्द राख्न नमानेको हो। कांग्रेसले निलम्बन शब्द राख्ने वित्तिकै राज्य आतंक सिर्जना गरेर सांसदहरूलाई निलम्बनमा पार्न सकिने भन्दै निलम्बन शब्द राख्न नमानेको हो।

राजपाले पनि कांग्रेसको कुरामा सहमति जनाएको छ।  सत्तापक्षले भने निलम्बन शब्दलाई राख्नुपर्ने अडान लिएको थियो। सभामुख कृष्णबहादुर महराले नियमावलीमा मतदान गर्न ठीक नहुने भएकोले सत्तापक्षलाई लचिलो बन्न आग्रह गरेका थिए। सभामुखको आग्रहसँगै सत्तापक्ष लचिलो भएको छ। संसद नियमावली आजै पास हुने सम्भावना रहेको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.