प्रधानमन्त्रीको निर्देशन : समृद्धिको खाकाअनुसार योजना ल्याऊ…

 

‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्ने बारेमा स्पष्ट योजना ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

विश्वविद्यालयको ५९औं वार्षिक दिवस र सिनेट बैठकलाई शनिबार सम्बोधन गर्दै मुलुकको विकास र समृद्धिका लागि आवश्यक पर्ने जनशक्तिको पूर्वानुमान गरी लक्षित क्षेत्र र वर्गलाई ध्यान दिएर कलेजको सम्बन्धन दिन र अध्ययन–अनुसन्धान गर्न पनि उनले निर्देशन दिए ।

विश्वविद्यालयका कुलपति समेत रहे‍का प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक जनशक्तिको आवश्यकताको पहिचानसम्बन्धी विवरण (प्रोफाइल) तयार पारिरहेको बताउँदै त्रिविले पनि त्यसअनुसार आफूलाई समयसापेक्ष, गुणस्तरीय, प्राविधिक, व्यावहारिक र अनुसन्धानमुखी शिक्षातर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

‘देशको समृद्धि र जनताको सुखका लागि परिपूरण हुने शिक्षाको खाँचो छ,’ उनले भने– ‘त्यसका लागि छलफल गरी निष्कर्ष र योजना तय गरेर कार्यान्वयनमा जानुपर्छ ।’ किराना पसल खोले झैं को ग्राहक आउँछ भनेर कुर्ने प्रकारले क्याम्पस खोलेर हुँदैन भन्दै आवश्यकताका आधारमा लक्षित क्षेत्रमा निर्भिकताका साथ स्थापना गरी जानुपर्ने धारणा प्रधानमन्त्री ओलीले व्यक्त गरे ।

‘निर्वाहमुखी कृषिको अवस्थाबाट माथि उठ्नुपर्छ,’ उनले भने– ‘नेपाललाई केही वर्षमै तीव्र आर्थिक विकास हुने मुलुकमा रुपान्तरण गर्नु पर्नेछ ।’

त्रिविका सहकूलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयले प्राविधिक धारलाई बढावा दिनुपर्नेमा जोड दिँदै विश्वविद्यालयका समस्या र समाधानका बारेमा औपचारिक बैठकमा नभई पदाधिकारीहरुसँग बसेर अलग्गै गम्भीर छलफल गर्नुपर्ने बताए ।

समय र परिस्थितिअनुकूल विश्वविद्यालयमा सञ्चालित उच्च शिक्षालाई विश्वपरिवेश अनुकूल गराउन तथा गुणात्मक रुपले उत्पादित प्रतिस्पर्धी विद्यार्थीले विश्वबजारमा स्थान प्राप्त गर्न सकुन् भन्ने शुभकामना पनि उनले व्यक्त गरे ।

उपकुलपति डा. तीर्थराज खनियाँले राष्ट्रको उच्च शिक्षामा ८० प्रतिशतभन्दा बढी जिम्मेवारी त्रिविले बहन गरिरहेको उल्लेख गरे । रजिस्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको ५६औं ‘ग्रेस लिस्ट’ को विवरण बैठकले स्वीकृत गरेको छ । विभिन्न संकाय र तहमा गरी यस वर्ष कूल ७३ हजार ९ सय १ विद्यार्थी आउँदो दीक्षान्त समारोहका लागि योग्य भएका छन् । रासस

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.