काठमाडौं : आफूले थाहै नपाइ नगरपालिकाको केन्द्र सार्ने निर्णय प्रदेश सरकारले गरेपछि डोल्पाको ठूलीभेरी नगरपालिकाका मेयर गणेशबहादुर शाही गुहार माग्दै सिंहदरवार आइपुगेका छन् । नगरपालिकाको केन्द्र र नाम फेरबदल गर्ने अन्तिम अधिकार संघ कि प्रदेश सरकारलाई भन्ने संवैधानिक प्रश्न समेत उनले उठाएका छन् ।
मेयर शाही कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गोष्ठीका सिलसिलामा आएका थिए । गोष्ठी सकेर मुख्यमन्त्रीको कार्यालयमा पुगेका शाहीले गत सातामात्र थाहा पाए-ठूलीभेरी नगरपालिकको केन्द्र जुफालबाट दुनैमै फर्काउने निर्णय प्रदेश सरकारले गरेको छ ।
विकासका योजना पार्न भनेर सुर्खेतबाट काठमाडौं आउन लागेका शाही त्यसपछि रन्थनिए । विकास होइन अबको सिंहदरवार ओहोर दोहोर आफू मेयर रहेको नगरपालिकाको केन्द्र बचाउनका लागि शुरु भएको छ । यो विषय अब संघीय सरकार सम्म आइपुगेको छ ।
शाही मेयर निर्वाचित भए लगत्तै बसेको पहिलो नगरसभा बैठकले ठूलीभेरी नगरपालिकाको केन्द्र सबैभन्दा बढी जनघनत्व रहेको र विमानस्थल समेत भएको जुफालमा सार्ने निर्णय गरेको थियो । नगर परिषदको निर्णय अनुसार संघीय मामिला मन्त्रालयले सिफारिस गरेपछि मन्त्रिपरिषद बैठकले जुफाल केन्द्र कायम गरेको थियो ।
तर यसबीचमा कर्णाली प्रदेश सरकारले दुनैलाई नै केन्द्र बनाउने सिफारिस गरेर पठाएको कुरा मेयरले सुर्खेत आएपछि मात्र थाहा पाए । यो निर्णय विरुद्ध अदालतमा पनि मुद्दा परेको छ भने संघीय मामिला मन्त्रालयले कानून मन्त्रालयसँग राय मागेको छ ।
मेयर शाही भन्छन्-म मेयर हुँ मसँग एक बचन सोध्दै नसोधी प्रदेश सरकारले नगरपालिकाको केन्द्र सार्ने सिफारिस गर्ने अधिकार कसले दियो ? मैले प्रदेशका मुख्यमन्त्रीसँग आपत्ति जनाएर लिखित उजुरी दिएपछि उहाँले त्यो पनि संघीय सरकारको मन्त्रालयमा पठाउँछु भन्नुभयो । तर यिनीहरुको भर नभएर म आफैं सिंहदरवार आएको हुँ ।
नगरपालिकाका केन्द्रको विवाद परेपछि कानूनको राय लिन कानून मन्त्रालय पठाइएको संघीय मामिला मन्त्रालयले जनाएको छ । प्रदेश सरकारका मन्त्री प्रकाश ज्वालाले भने यो विषय अदालतमा पनि बिचाराधीन रहेको र संघीय सरकारमा पुगिसकेको बताए ।
ज्वाला संयोजक रहेको कर्णाली प्रदेश सरकारको राजनीतिक समितिले एक कार्यदल गठन गरेको थियो । सोही कार्यदलले ठूलीभेरी नगरपालिकाको केन्द्र दुनैमा राख्नुपर्ने सिफारिस गरेको ज्वालाले भने ।
स्रोतका अनुसार प्रदेश सरकारका मन्त्री तथा दुनैकै बासिन्दा नन्द बुढाको चलखेलबाट नगरपालिकाको केन्द्र सार्ने सिफारिस गरिएको हो । दुनैबाट जुफालको दूरी १३ किलोमिटर छ । हाल नगरपालिकाको काम जुफालबाटै भइरहेको छ ।
साबिकका जुफाल, दुनै, माझफाल र रह गाविस मिलाएर ठूलीभेरी नगरपालिका बनाइएको थियो । जनघनत्व जुफाल र माझफालमा दुई तिहाइ रहेको मेयरले जनाए । माझफालका लागि पनि जुफाल पायक पर्ने उनको दावी छ । दुनै जोखिमपूर्ण रहेकाले दीर्घकालीन रुपमा सुरक्षित जुफाल नै हुने शाही बताउँछन् ।
स्थानीय तहलाई संविधानले नै निश्चित अधिकार दिएको भन्दै मेयर शाहीले प्रदेश सरकारले संविधान विपरीत आफूलाई थाहै नदिई केन्द्र सार्न सिफारिस गर्नु गलत रहेको बताए ।
पुनः केन्द्र दुनैमा सार्नका लागि ऐन अनुसार नगरसभाको दुईतिहाई बहुमत सदस्यको सहमति चाहिन्छ । तर प्रदेशका केही ब्यक्तिको चाहनामा बलजˆती गर्न खोजिएको आरोप उनको छ ।
सरकारबाट ठूलीभेरी नगरपालिकाको केन्द्र सार्ने निर्णय भई फागुन १६ गते जुफाल केन्द्र तोकेर राजपत्रमा प्रकाशित गरेको थियो । उक्त नगरपालिकाको पहिलो नगरसभाको २०७४ असार ३१ को निर्णयअनुसार बहुमतले नगरको केन्द्र दुनैबाट जुफाल सार्ने निर्णय गरेको थियो । र, २०७४ फागुनदेखि जुफालबाट नै नगरपालिकाका काम हुँदैआएका छन् ।
कानूनमा के छ ?
मन्त्रिपरिषद्को २०७४ माघ २४ को निर्णय र फागुन १६ मा राजपत्रमा प्रकाशित सूचनाअनुसार दुनैमा रहेको नगरको केन्द्र स्थायीरुपमा जुफाल-७ मा स्थापना गरिएको थियो । । २०७४ फागुन २५ मा त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख तथा नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका ओमबहादुर बुढाले औपचारिक रुपमै नगरको केन्द्र जुफालमा उद्घाटन गरेका थिए ।
त्यतिबेला प्रदेश सरकार नभएकाले नगरपालिकाको केन्द्र सार्ने निर्णयको जानकारी सोझै केन्द्र सरकारमा पठाएर राजपत्रमा सूचना प्रकाशित गरिएको मेयर शाहीले बताए । स्थानीय सरकार संचालन ऐन दफा ४ को ५ मा बहुमतका आधारमा पनि केन्द्र सार्न पाउने अधिकार छ ।
स्थानीय सरकार संचालन ऐनको दफा ५ मा उल्लेख छ-‘यस दफामा अन्यत्र जनुसुकै कुरा लेखिएको भए तापनि गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरी एक पटकका लागि गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिसबमोजिम नाम वा केन्द्र हेरफेर गर्नुपर्नेछ ।’ यही ऐनमा टेकेर ठूलीभेरी नगरपालिकाले जुफालमा केन्द्र सार्ने निर्णय गरेको थियो ।
स्थानीय निकाय संचालन ऐनअनुसार एकपटक सारिसकेको केन्द्र परिवर्तन गर्न नगरसभाको तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्ने ब्यवस्था स्थानीय सरकार संचालन ऐनको दफा ३ मा उल्लेख छ ।
ऐनको दफा ३ मा उल्लेख छ-‘गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेकामा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत् नेपाल सरकारमा पठाउनुपर्नेछ ।’
ठूलीभेरी नगरपालिकाको कार्यपालिकाले कुनै प्रस्ताव नै नपठाई कर्णाली प्रदेश सरकारले केन्द्र पुनः दुनैमै राख्नका लागि केन्द्र सरकारलाई लेखेर पठाएपछि विवाद सृजना भएको छ । यसरी प्रदेश सरकारले नगरपालिकाको निर्णयविना नै केन्द्र हेरफेरको सिफारिस गरेपछि यसले गलत नजिर बस्ने चिन्ता मेयरको छ ।
प्रदेश सरकारलाई स्थानीयतहको निर्णयविना नै केन्द्र हेरफेरको निर्णय गरी केन्ऽमा सिफारिस गर्ने अधिकार नै नभए पनि कर्णाली प्रदेशका पर्यटन मन्त्री डोल्पाकै नन्द बुढा भएकाले समस्या सृजना भएको हो ।
Credit : raranews.com
