रम्भा गाउँपालिका– ४, हुमिन, पाल्पामा शुक्रबार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनुका साथै १० घाइते भएका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार तानसेन, पाल्पास्थित लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक समूह रामपुरमा भएका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिँडेको लु २ त ९७५ नम्बरको बस दुर्घटना भएको हो ।
२७ जना सवार बसका १३ मृतकमध्ये १२ को सनाखत भएको छ । बस सडकबाट करिव २ सय मिटर तल खस्दा घाइते भएका १० जनामध्ये एकको अवस्था गम्भीर छ । घाइतेलार्इ उद्धार गरी अस्पताल लगिएको छ ।
मृत्यु हुनेमा तानसेन– ४ का विष्णुमान बज्राचार्य, तानसेन– ३ का देवेन्द्रलाल प्रधान, तानसेन– ३ का कृष्णमान बज्राचार्य, तानसेन– ३ का छत्रमान शाक्य, तानसेन– ६ का सुशीलप्रसाद श्रेष्ठ, तानसेन– ४ का कृष्णबहादुर बोहोरा, तानसेन– ६ का दुर्गाबहादुर सारु, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ की वसन्ती खाण, तानसेन– ६ की गीता बुढाथोकी, तानसेन– ३ की कमला कार्की र तानसेन– ६ का सचिन बज्रार्चायको मृत्यु भएको छ । मृतक एक महिलाको नाम खुल्न सकेको छैन ।
बज्रार्चायको दुर्घटनास्थलबाट उपचारका लागि युइनाइटेड मिसन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मिसन प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा प्रफुल्ल शर्मा, विमल रन्जन, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मीना खाम्चा, मुना सारु, अर्जुन थापा र प्रविण बज्राचार्य रहेको प्रहरीको भनाइ छ ।
Credit : newskoseli.com
