पशुपतिमा ९० किलो सुनको जलहरि !

काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत संसारभर रहेका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्ग मुनिको जलहरि सुनको बनाइने भएको छ।  पशुपति क्षेत्र विकास कोष कार्य सम्पादन समितिले सुनको जलहरि राख्ने निर्णय गरी तयारी थालेको छ। शिवलिङ्ग मुनि हाल चाँदीको जलहरि राखिएको छ। आगामी महाशिवरात्रिसम्म सुनको जलहरि हालिसक्ने गरी काम अघि बढाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।

सुनको जलहरि राख्न रु एक अर्ब खर्च लाग्ने कोषको प्रारम्भिक अनुमान छ। यसका लागि हाल कोषसँग रु ६० करोड बजेट छ। बाँकी बजेट भक्तजनसँग दानका लागि आह्वान गरिने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए। सुनको जलहरि राख्न सहयोग गर्ने प्रतिबद्धता आउन थालेपछि कोषले सार्वजनिकरुपमा विश्वभर फैलिएका भक्तजनसँग दान गर्न अनुरोध गर्ने तयारी गरेको हो।

सरकारले आगामी आर्थिक वर्ष २०७५-२०७६ का लागि प्रस्ताव गरेको बजेटमा पनि पशुपतिमा सुनको जलहरि राख्न रु ५० लाख बजेट विनियोजन गरिएको कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले बताए।  मूल मन्दिरमा सुनको जलहरि राख्नका लागि निर्माण समितिको पनि गठन गरिएको छ। पशुपतिनाथका मूल पुजारी रावल गणेश भट्टको संयोजकत्वमा गठन गरिएको समितिमा कोषाध्यक्ष डा मिलनकुमार थापा, सञ्चालक परिषद् सदस्यद्वय रमेशराज शिवाकोटी र राजु खत्री, कार्यकारी निर्देशक रमेशकुमार उप्रेती, कोषको संस्कृति महाशाखा प्रमुख निर्देशक भरत मरासिनी सदस्य रहेका छन्।

समितिको सदस्य सचिवमा कोषका प्रमुख लेखा अधिकृत प्रेमहरि ढुंगाना रहेको प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले बताए। जलहरि राख्नका लागि ९० किलो सुन लाग्ने अनुमान गरिएको छ। हाल रहेको चाँदीको जलहरिमा १८५ किलो राखिएकाले त्यति नै सुन राख्नुपर्ने मत पनि छ। जलहरि बाक्लो बनाउनुपर्ने भएकाले चाँदी जति नै सुन राख्नुपर्ने विषयमा पनि सोमबार समिति बैठकमा छलफल भएको छ।

बैठकले सात दिनभित्र जलहरि निर्माण कार्यविधि बनाउने निर्णय गरेको कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिए। तीन दिनभित्र प्राविधिकलाई अध्ययन गराई जलहरि बनाउन लाग्ने सुनको परिमाण सार्वजनिक गर्ने कोषले जनाएको छ। सुनको जलहरि राख्नका लागि भक्तजनले सुन नै पनि दान गर्न सक्नेछन्।  पशुपतिनाथलाई ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा पूजिन्छ।

पशुपतिनाथलाई आदि ज्योतिर्लिङ्गका रुपमा विभिन्न धार्मिक ग्रन्थमा व्याख्या गरिएको छ। हिमालयको काखमा उत्पत्ति भएका शिवजीको महत्व शिवपुराण, लिङ्ग पुराणलगायत धर्मशास्त्रमा उल्लेख गरिएको छ।  पशुपतिनाथको मूल मन्दिरको ज्योतिर्लिङ्गको शिरमा सबैको श्रीवृद्धि होस् भन्ने कामनाका साथ दैनिक श्रीयन्त्रको पूजा गरिन्छ। यस्तो ज्योतिर्लिङ्गको पृष्ठभूमिमा सुनको जलहरि स्थापना गरेपछि देश विदेशमा अझ बढी वैभवता फैलने विश्वास गरिएको छ।

पशुपतिनाथमा आधुनिक कालको शुरुमा राजाकी छोरीले चाँदीको जलहरि निर्माण गराएको विश्वास छ। सुनको जलहरि निर्माणसँगै कोषले पशुपति क्षेत्रका सम्पदाको अभिलेखीकरण पनि शुरु गर्ने जनाएको छ। अभिलेखलाई पुस्तकाकारमा प्रकाशन गरिने जनाइएको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.