भारत (पटना) : ‘चलिये पडोशी के पास,हरपल खुशहाल नजारा भी खास’ नाराका साथ चितवनका पर्यटन व्यवसायी यति बेला भारतीय सीमा शहर पटनामा पर्यटन प्रवर्द्धनमा जुटेका छन्। हिन्दी भाषामा लेखिएको यो नाराले छिमेकीकोमा घुम्न जाउँ, सदावहार विशेष दृश्यावलोकनको सौन्दर्भमा ‘रमाऔं भन्ने सन्देश दिएको छ’।
नेपालका पर्यटकीय गन्तव्यमा सुविधा सम्पन्न होटल थपिँदा पर्यटक आकर्षित गर्ने उद्देश्यले भारतका विभिन्न शहरमा प्रचारप्रसार अभियान थालिएको हो। चितवन राष्ट्रिय निकुञ्जलाई केन्द्र पारेर बारादेखि लुम्बिनी सम्मको क्षेत्रको पर्यटकीय गन्तव्यलाई सीमा क्षेत्रको बिहार र उत्तर प्रदेशमा प्रचार गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो। नेपाल पर्यटन बोर्डको सहयोगमा क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाले शुक्रबार भारतको पटनामा यहाँका पर्यटन व्यावसायीसँग अन्तरक्रिया गरेको छ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराई र चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले नेपाल र मुख्य रुपमा बारादेखि लुम्बिनीसम्मको पर्यटकीय गन्तव्यका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। उनीहरूको कार्यपत्रमा चितवन राष्ट्रिय निकुञ्ज परिसरका गन्तव्य, त्रिवेणी धाम, शास्वतधाम, गिद्ध संरक्षण केन्द्र, सौराहा, देवघाट, मेघौली, कसरा, शहीद स्मारक, इन्द्र सरोवर, भुटनदेवी, चुरीयामाई, गढीमाई, लुम्बिनी लगायतका पर्यटकीय गन्तव्यको विषयमा तस्बीरसहित प्रस्तुत गरेका थियो।
प्रस्तुतिमा दुर्लभ वन्यजन्तु एक सिंगेगैंँडा, पाटे बाघ, घडियाल, गोही, हात्ती, गौरीगाई, चरा लगायतबारे प्रकाश पारिएको थियो। चितवन निकुञ्ज र आसपाका क्षेत्रमा २३ मुख्य पर्यटकीय गतिविधि गर्न सकिने कार्यक्रममा जानकारी गराइएको थियो। कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले भारतीय सीमा शहरबाट छोटो दूरीमा थोरै लागतमा भारतीय पर्यटकले नेपालको मनमोहक प्राकृतिक सौन्दर्यता, अनुपम संस्कृति, दुर्लभ वन्यजन्तु तथा चरा चुरुंगी अवलोकन गरी आनन्द लिन सक्ने बताए।
उनले यहाँ बिदा र अत्याधिक गर्मी हुँदा नेपालमा मौसम अनुकूल रहने भन्दै भारतीय व्यवसायीलाई नेपाल भ्रमण गर्न आग्रह गरे। सोही अवसरमा पर्यटन व्यवसायी युवराज लामाले पर्सा राष्ट्रिय निकुञ्जकेन्द्रित पर्यटकीय गन्तव्यको विषयमा जानकारी गराएका थिए। कार्यक्रममा भारत सरकारका पर्यटन मन्त्रालयका निर्देशक गोविन्द भुयनले संयुक्त रुपमा दुई देशको पर्यटन प्रवद्र्धन गर्न सकिने बताए ।
सीमा क्षेत्र जोडिएकाले दुबै देशको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाबीच छलफल गरेर अघि बढ्नुपर्ने बताए। नेपाली समूहलाई स्वागत गर्दै उनले लक्ष प्राप्तिका लागि आफ्नो स्थानबाट सहयोग पुर्याउने बताए। कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीले नेपालमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न सुझाव दिएका थिए।
उनीहरूले वाल्मीकि आश्रमको संयुक्त रुपमा संरक्षण गर्नुपर्ने, धार्मिक पर्यटकीय क्षेत्रको सहज र सुलभ प्याकेज बनाउनुपर्ने, दुर्लभ वन्यजन्तु लगायतका नेपालका पर्यटकीय गन्तव्यको भारतीय क्षेत्रमा प्रचार गर्नुपर्ने जस्ता सुझाव दिएका थिए। कार्यक्रममा भारतको विहार प्रदेशका पर्यटन मन्त्रालयका पदाधिकारी, पटनाका होटल व्यवसायी, टुर अपरेटर, पत्रकारलगायतको उपस्थिति रहेको थियो।
नेपाल पर्यटन बोर्डको सहकार्य तथा क्षेत्रीय होटल संघ सौराहको समन्वयमा ३२ सदस्यीय टोली छिमेकी राष्ट्र भारतको रक्सौल, मोतिहारी, मोजफपुर हुँदै बिहीबार पटना आइपुगेको थियाे। टोलीले पटनापछि वनारस र लखनउका पर्यटन व्यवसायीसँग छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम गर्ने छ।
Credit : raranews.com
