सुन्दा अचम्म लाग्ला तर बर्षौँदेखि भोगचलन गर्दै आएको आफ्नै जग्गा भक्तपुरमा एकाएक गायब हुन्छ । भक्तपुरका कतिपय ठाउँमा आफ्नै जग्गामा धम्काउदै भू माफियाहरु कहिले किला ठोक्न आउने त कहिले जग्गाधनीको नाम एकजनाबाट अर्को जनाकोमा पार्ने काम रातारात गरिरहेको खुलासा भएको छ ।
पुर्खादेखि आफूहरुले भोगचलन गर्दै आएको जग्गा हडप्न दादागिरी देखाएर दलबलका साथ राजनीतिक संरक्षण पाएका गुण्डाहरु आउने गरेको भन्दै स्थानीय किसानहरुले गुनासो गर्ने गरेका छन् । त्यस्तै गुनासो गर्ने र आफूलाई अन्याय भएको बताउने एक प्रतिनिधिपात्र हुन् तीर्थबहादुर प्रजापति ।
उमेरले ८० कटेको पनि दुई बर्ष भइसक्यो । ‘भाई फुटे गभार’ लुटे भन्ने उखानजस्तै उसको परिवारमा छोरानातीहरु जग्गाको विषयमा विवाद गरिरहेका छन् । अर्कोतिर राजनीतिक आडमा तिघ्रा पाखुरा फुलाईरहेका ‘डन’ भनौदाहरुले बर्षौदेखि आफूले भोगचलन गरेको जग्गा हडप्दैछन् ।
बोल्न,डुल्न,न्याय खोज्न तीर्थबहादुर अशक्त बन्दै गएका छन् । तरपनि आफूप्रति परेको अन्यायविरुद्ध उनी निरन्तर ३० बर्षसम्म लडिरहे । अहिलेपनि उनी न्याय पाउने झिनो आशामा रहेको पारिवारीक स्रोत बताउछ ।
यस्तो छ तीर्थबहादुरलाई अन्यायमा पार्ने कहानी
भक्तपुर जिल्ला मध्यपूर थिमि नगरपालिका वडा नम्बर ५ तुलाननी का तीर्थबहादुर सिपाई प्रजापतिका जिजुबाजे भिमचन्द्र प्रजापतिलाई राजदरबारबाट १९३३ सालको लालमोहर सेवा– विर्ता वापत जग्गा प्राप्त भएको थियो । उनले माटोको भाँडो बनाएर दरबारमा पु¥याउथे ।
राजदरबारको सेवा गरेवापत उनलाई जग्गा प्राप्त भएको थियो । सोहि जग्गा भिमचन्द्र हुदै तीर्थबहादुरका बाजे शेषनारायण प्रजापतिले वि.सं १९६९ साल भाद्र पाँच गते बकसपत्र लिए । त्यसपछि तीर्थबहादुरका बुबा सिंहबहादुरकोमा आयो । सिंहबहादुर हुदै २०१८ सालमा सिंहबहादुरका छोरा तीर्थबहादुरको नाममा बकसपत्र प्राप्त भयो ।
२००६ साल १० महिना १९ गते को दरबारको एक छापे साविक भिमचन्द्रको नाममा भएको १९३३ सालको लालमोहरमा राजदरबारमा माटोको भाडा बुझाई जागिर वापत जग्गा खानु भनी प्राप्त भएको थियो ।
०२१ सालको नापीमा उक्त लालमोहरको जग्गा जग्गाधनी र मोही उल्लेख गरी विभिन्न व्यक्तिको नाममा लगेको देखियो । भूमी प्रशासन कार्यालय भक्तपुरको मिति ०२६ साल १० महिना ३ को निर्णयबाट सिद्धिगणेश,दिव्यश्वरी,बालकुमारी,निलबाराही,बालकोटका १०७ कित्ता जग्गाहरु विभिन्न व्यक्तिहरुको नाममा दर्ता भएतापनि सो बदर गरी श्री ५ महाराजधिराजको सेवा विर्ता राजदरबार अधिनस्थ भन्ने जग्गा धनी कायम गरिएको थियो । त्यसपछि ०२७ साल ४ महिना २२ मा उक्त जग्गाको लगत खडा गरी नारायणहिटी राजदरबार तहसिल अड्डा पठाएको थियो ।
उक्त जग्गामध्ये भक्तपुर थिमि बालकुमारी गाविस अन्तर्गत कुनै कम्पनीले योजना गर्नको निम्ती जग्गाहरु खरिदबिक्री गर्ने हल्ला चलेको थाहा पाई तीर्थबहादुर प्रजापतिले ०३९ साल ७ महिना १५ गते लालमोहर भित्रको सम्पूर्ण जग्गा विक्रीवितरण गर्न रोक्का गरिपाउँ भनि दरबारमा पेश गरेका थिए ।
सोहिअनुसार ०३९ साल ८ महिना ६ गते लालमोहर भित्रको जग्गा विक्रीवितरण रोक्का गर्न भनेर दरबारले श्री मालपोत कार्यालय भक्तपुरमा पत्र लेखेको थियो । ०४९ साल १ महिना २२ मा बनेन्द्र बिक्रम शाहको नाममा नामसारी हुनुपर्ने भनी दाबी गरेको आधारमा भक्तपुर जिल्ला बालकुमारी गाविस वडा नम्बर ३ कित्ता नम्बर २५४ क्षे.फ. ५–२–२ र ऐ.ऐ. वडा नम्बर सात कित्ता नम्बर २०४ क्षे.फ. ०–१४–० को जग्गा बनेन्द्र बिक्रम शाहको नाममा नामसारी भयो । जुन कित्ता साविकको लालमोहरअनुसार तीर्थबहादुर प्रजापतिले भोगचलन गर्दै आएका थिए । ०२१ सालको नापीमा कित्ता नम्बर २५४ र कित्ता नम्बर २५२ बदर गरी साविक नक्सामा समेत कित्ता नम्बर ३०० कायम भएको थियो ।
त्यसपछि तीर्थबहादुरले तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ०४९ साल ७ महिना १२ मा बनेन्द्र बिक्रम शाहको नाममा दर्ता भएकोलाई बदर गरी साविककै अनुसार गराई पाउँ भनि उजुरी गरेका थिए । सो उजुरीबाट समेत केहि नलागी तीर्थबहादुर ०५२ सालमा भक्तपुर जिल्ला अदालतमा मुद्धा दिए । उक्त मुद्धा पुनरावेदन अदालतमा पुग्दैगर्दा ०५७ साल १० महिना २७ गते तीर्थबहादुरको घरमा भूमिसुधारबाट मोही हक लिन भनी पत्र टाँसिएको थियो । ५७ साल फागुन ४ गते तीर्थबहादुरले पूनरावेदन अदालत पाटनमा यो विषय बिचाराधिन रहेकाले मोही बाँडफाँड रोक्का गर्न भूमिसुधारमा गई निवेदन पेश गरे ।
०५८ साल बैशाख २१ गते भूमिसुधारले तीर्थबहादुरको निवेदन बेवास्ता गरी जर्वजस्ती मोही बाँडफाँड गरेर जग्गाधनीले ५१९ को पुर्जा लिई तीर्थबहादुरलाई ५२० छुट्याइएको देखियो । त्यसपछि ५१९ ले पुर्जाअनुसार सो जग्गामा निर्माण गर्न आएपछि तीर्थबहादुरले वडा प्रहरी कार्यालय ठिमीमा ०६१ साल पौष ११ गते आफुले जोतपोत गर्दै आएको जग्गामा निर्माण कार्य रोक्का गरिपाउँ भन्दै सम्मानित सर्वोच्च अदालतबाट मुद्धा चलिरहेको र मुद्धाको अन्तिम टुंगो नलागेसम्म निर्माणकार्य रोक्का गरी शान्तीसुरक्षा पाउँ भनेर निवेदन दिए ।
०६१ साल कात्तिक २० गते सर्वोच्च अदालतका तत्कालिन न्यायाधिस अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठले सो विवादित बालकुमारी गाविस वडा नम्बर ३ को कित्ता नम्बर २०४ र ऐ.ऐ. वडा नम्बर ३ को कित्ता नम्बर २५४ को जग्गा १९३३ सालको लालमोहर र २०२३ सालको मन्त्रिपरिषदको क्याविनेट नम्बर ४६ को निर्णय बमोजिम श्री ५ महाराजधिराज स्वयमको जग्गा भएको अवस्थामा प्रतिवादीको हक हुनलाई कुनै कानुनको आधार नभएको ठहर ग-यो । बिर्ता उन्मुलन ऐन २०१६ बमोजिम प्रतिवादीको नाममा जग्गा दर्ता हुने अवस्था नरहेको बतायो ।
बिर्ता उन्मुलन ऐन २०१६ को दफा ४ को उपदफा २ र मिति ०२६ ÷ ६ महिना १३ को राजपत्र भाग ४ बमोजिम श्री ५ महाराजधिराज सरकारको नामबाट लगत कट्टा भएपछि दरबारमा माटोको भाँडा बुझाउने तिर्थ बहादुर प्रजापति कै नाममा जग्गाधनी दर्ता हुनुपर्ने प्रष्ट व्यवस्था छ । बृद्धाअवस्थाका तीर्थबहादुर प्रजापतिका तीन भाई छोरा मध्येका जेठा छोरा दिलकृष्ण प्रजापति र माईला छोरा हरिभक्त प्रजापतिले विपक्षीसँग मिलेमतोमा कित्ता नम्बर २५४ बाट कित्ताकाट भएर मोही हकको रुपमा विपक्षीले छुट्याएको कित्ता नम्बर ५२० को जग्गा धनी पुर्जा ०६५ साल ४ महिना २१ गते झुक्याएर प्रतिलिपी लिन लगाई त्यसपछि ०६५ साल ५ महिना ४ गते तीर्थबहादुरले आफ्नो नाती दिलकृष्णको जेठो छोरा दिल बहादुरलाई हालैको बकसपत्र पारित गरेको देखिन्छ । त्यसपछि दिलबहादुरले ०६५ साल ५ महिना ११ गते हाम्रो इन्भेष्टमेण्ट प्रा.लि. लाई रजिष्ट्रेसन पास गरेको देखिन्छ । सो जग्गामाथी तीर्थबहादुरको जेठो छोरा अर्थात दिलबहादुरको बुबा दिलकृष्ण प्रजापतिले अंश मुद्धा बुबा तीर्थबहादुर र छोरा दिलबहादुरविरुद्ध मुद्धा हालेको देखिन्छ । घरकै मानिस विपक्षी पार्टीसँग मिलेको र चलखेल गरेको यसबाट प्रष्ट हुन्छ ।
त्यसैगरी बालकुमारी गाविस वडा नम्बर ७ को कित्ता नम्बर २०४ क्षेत्रफल ०–१४–० जग्गा ०६३ साल ३ महिना १२ गते मोही वेपत्ता भयो भनि तत्कालिन जग्गा धनी राजेश अवालेले निवेदन माग अनुसार मध्यपुर थिमि नगरपालिका तत्कालिन वडा नम्बर १० वडा कार्यालयका सचिव सञ्जय पोखरेलले मोही वेपत्ता भई मोहीको हकदार समेत कोहि नरहेको भनि भूमिसुधारको पत्रको जवाफ फर्काएको र भूमिसुधार कार्यालयले जग्गा धनी राजेश अवालेलाई रु. २०० जरिवाना तिराई मोहिको लगत कट्टा गरी जग्गाधनी आफै बनाई किर्ते गरेको देखिन्छ ।
भूमिसुधारका तत्कालिन प्रमुख उपेन्द्र काफ्ले, नासुद्धय शंकरप्रसाद लामिछाने र लक्ष्मी प्रधानाङ्ग लगायत मालपोतका कर्मचारी,भूमिसुधार,वडाका कर्मचारी तथा भूमाफियाहरुको मिलेमतो रहेको पीडित परिवारहरुको दाबी छ ।
हाल उक्त जग्गा तीर्थबहादुरको कान्छा छोरा हरिकृष्ण प्रजापतिले नै भोगचलन गर्दै आएका छन् । तर उक्त जग्गा भक्तपुरको गुण्डुका अर्जुज थापाको नाममा रहेको र सो जग्गामाथी ०७४ साल ८ महिना ६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जसको मुद्धा ०६९ साल असार ३१ गते फैसला भएको र सर्वोच्च अदालतका तत्कालिन माननीय न्यायाधिस दामोदरप्रसाद शर्मा र माननीय न्यायाधिस कमलनारायण दासले हार्नैनपर्ने मुद्धालाई नियतवश हराएको देखिन्छ ।
०३९ सालदेखि निरन्तर ३० बर्ष न्यायका लागि अदालतको ढोका ढकढकाएका तिर्थबहादुर सिपाई प्रजापतिलाई अन्ततः आफ्नै घरपरिवारका कतिपय सदस्य विपक्षीसँग मिलेर हराईछाडे । यसमा आफ्नै परिवार र विपक्षी मात्र नभई जनताको न्यायको भरोसाको केन्द्र अदालतका माननीय न्यायाधिस लगायतको समेत संलग्नता र मिलेमतोको आशंका गर्न सकिन्छ ।
Credit : onlinepana.com
