धनगढी : दिनदाहाडै गोली प्रहार गरी ९ लाख ५० हजार लुटपाट घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। आक्रमणको एक सातापछि गोली प्रहार र लुटपाटमा संलग्न दुईजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना र कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रहेका छन्। उनीहरुलाइ महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार बिहान काठमाडौंको गोङ्गबु क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरु आक्रमणका संलग्न मात्रै नभई योजनाकार नै रहेको प्रहरीले जनाएको छ।
आक्रमण र लुटपाटमा संलग्न रहेको भन्दै पक्राउ परेकामध्ये कालु राना जबरजस्ती करणी मुद्दामा २०६८ सालमा कञ्चनपुर जिल्लामा पक्राउ परी ६ वर्ष कैद भुक्तान गरेर २०७४ सालको माघमा रिहा भएको खुलेको छ। गत आइतबार प्रदेश नम्बर सातको अस्थाई मुकाम धनगढीको मुख्य सडका सिद्धार्थ बैंकबाट रकम झिकेर आइएमई सेन्टरतर्फ जाँदै गर्दा निर्मल कार्कीमाथि गाली प्रहार भएको थियो।
गोली प्रहारबाट गम्भिर घाइते कार्कीको सेती अञ्चल अस्पातलमा उपचार भइरहेको छ। लु ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले कार्कीमाथि गोली प्रहार गरी ९ लाख ५० हजार लुटेर भागेका थिए। आक्रमण र लुटपाटमा संलग्न रहेका दुई जना पक्राउ परे पनि लुटिएको रकम र हतियार भने बरामद नभएको प्रहरीले जनाएको छ।
Credit : raranews.com
