द्वन्द्वमा परी घाइते/अपाङ्गता भएकाहरुको राहतमा निरन्तरता दिने

काठमाडौँ : सशस्त्र द्वन्द्वमा परी घाइते/अपाङ्गता भएका व्यक्तिलाई यसअघि निर्धारण गरिएकै अपाङ्गता प्रतिशतका आधारमा विगतबमोजिम तोकिएकै आर्थिक सहायता रकम वितरण गर्ने निर्णय भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयको आधारमा सबै जिल्ला प्रशासन कार्यालयमा सो सम्बन्धी परिपत्र आज गृहमन्त्रालयले पठाएको छ ।

यसअघि तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले विसं २०७४ भदौ २९ गते आर्थिक सहायतका सम्बन्धमा “सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरवलोकन कार्यविधि २०७४ बमोजिम प्रतिशत पुनरवलोकनपश्चात् यकिन गरी वितरण गर्नुहुन भन्ने” परिपत्र गरेको थियो ।

सोही परिपत्रका आधारमा जीवन निर्वाहका लागि राहत/आर्थिक सहायता निर्धारण गरिएकै मापदण्डको आधारमा सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुले पाउँदै आएको रकम विगत केही महिनादेखि रोकिएको थियो ।

एकातिर प्रतिशत पुनरवलोकन पनि नहुने र अर्कोतिर पाउनुपर्ने रकम पनि पाउन छाडेपछि द्वन्द्वमा घाइते अपाङ्गता भएका व्यक्तिहरुको उपचारलगायतमा समस्या पैदा भएको थियो ।

छिट्टै प्रतिशत पुनरवलोकन गरी सोही आधारमा राहत रकम दिइने र सो प्रक्रिया पूरा नहुन्जेलसम्मलाई विगतमा पाउँदै आएको रकम द्वन्द्वमा अपाङ्गता भएका व्यक्तिहरुले अब नियमितरुपमा पाउने गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालय पुनःसंरचनाको क्रममा शान्ति तथा पुनःनिर्माण मन्त्रालय अहिले गृहमन्त्रालयमा गाभिएपछि विगतमा शान्ति मन्त्रालयले गर्ने गरेका काम अहिले गृहले गर्ने गरेको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.