रुकुम : रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–३ र ५ को बिचमा पर्ने स्यार्पुताल दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ। वरिपरि गाईबस्तु चराउने, भैँसी आहाल बसाल्नेलगायत क्रियाकलापले ताल दुर्गन्धित भएको हो।
सडक निर्माणका क्रममा खसेको ढुङ्गा, माटोको कारण समेत तालको सुन्दरतामा कमी अाएको छ। ताल प्रदूषित हुँदा वरपर दुर्गन्ध फैलिएको छ भने यहाँ रहेका माछाको अस्तित्व संकटमा परेको छ। वातावरणीय पर्यावरण सन्तुलित राख्ने उद्देश्यले तालको वरिपरि गत वर्ष लगाइएका बिरुवा सुक्दै गएका छन्। ताल संरक्षण गर्न र यो क्षेत्रलाई हराभरा बनाउन विभिन्न संस्था तथा निकायबाट काम भए पनि प्रभावकारी नभएको स्थानीय यज्ञबहादुर चन्दले बताए।
तालमा आधुनिक डुंगा राखिएको छ तर दुर्गन्धका कारण पर्यटकहरू त्यहाँ जान मान्दैनन्। स्यार्पुताल सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर केसीले भने तालको संरक्षणको लागि काम गर्दै आएको दाबी गरे। तालको सफाइ गरी पर्यटन प्रवर्धन गर्न लागि प्रतिबद्ध रहेको उनले बताए।
Credit : raranews.com
