दलाल पुँजीवादको नेतृत्व नै हाम्रा पार्टीहरूले गरेको देखिन्छ : घनश्याम भुसाल, स्थायी समिति सदस्य, (नेकपा)

रुपन्देही–३ बाट निर्वाचित संघीय सांसद घनश्याम भूसाल नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य छन्। उनी लेख्न–पढ्न बढी मन पराउने वाचाल–वक्ताका रूपमा चिनिन्छन्। हाम्रो समाजको चरित्र  अर्धसामन्ती–अर्धऔपनिवेशिक कि पुँजीवादी, वर्गचरित्र, नोकरशाही, नवउदारवाद, साम्राज्यवाद, द्रव्य पुँजी, उत्पादक पुँजी, यी र यावत् सैद्धान्तिक–वैचारिक विषयलाई थाँती राखी उनीसित विमल आचार्यले गरेको संवाद :

यहाँ आफू नै पत्रकारजस्तो लाग्छ मलाई…
(हाँस्तै) किन यसो भन्नुभएको?

तपाईंको लेखाइ होस् वा बोलाइ, जहिल्यै प्रश्नै प्रश्न मात्र हुन्छन् । ११ वर्षअघि निकाल्नुभएको तपाईंको यो किताब (आजको माक्र्सवाद र नेपाली क्रान्ति) को पहिलो अध्याय नै ‘प्रश्नहरू’ छ, … प्रश्न आफैँप्रतिका प्रश्न…
एउटा कम्युनिस्ट कार्यकर्ताले गर्ने र बोकिहिँड्ने नै प्रश्न हो । पार्टी भनेकै प्रश्नले बन्ने हो।

अनि हामी पत्रकारले चाहिँ ठ्याक्कै उल्टो जवाफ दिँदै हिँड्ने होला नि?
पत्रकारले नै प्रश्न सोध्न छोडेपछि, पत्रकारले सही समयमा, सही व्यक्तिलाई सही प्रश्न गर्न छोडेपछि हामीले प्रश्न छोड्न त भएन । (हाँस्दै)

हजुर, अब सधैँ प्रश्न सोधिरहनुभएको यहाँ, अचेल आफूलाई नै अक्सर के के सोधिरहनुभएको हुन्छ ?
गणतन्त्रपछि, संविधानको घोषणापछि, अझ भनौँ, पछिल्लो चुनावपछि कम्युनिस्ट पार्टीको बहुमत आएपछि मेरो मनमा झन् झन् उठिरहेको मूलभूत प्रश्न के हो भने— यो त ठीक भइरहेको छैन । राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने दिशा हामीले नवौँ महाधिवेशनमा तय ग-यौँ । माओवादीले पनि हेटौँडा महाधिवेशनपछि यही भन्यो । अहिले एक भएपछि पनि यही तय गरेका छौँ । तर, प्रश्न उठिरहेको छ– राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी कसरी गरिरहेका छौँ ? राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्ने पार्टी कस्तो हुनुपर्छ ? हामी प्रश्नैप्रश्नैका जञ्जालमा झाँगिएका छौँ । यस विषयमा छलफल नै हुन सकेको छैन । यसले धेरै कुराको निक्र्योल गर्छ।

अनि सर, आफ्नै यी दुई प्रश्नमा आफैँ जवाफ पनि त दिनुप-यो …
हो, यो दुनियाँका सामु भन्नुपर्नेछ । भाषण गरेजसरी, संक्षिप्त जवाफ दिए जसरी भने हुँदैन ।

तैपनि जवाफ?
राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गरेकै छैनौँ । यो घनीभूत ढंगले छलफल नै हुन सकेको छैन।

किन हुन सकेको छैन त?
हामीले ऐतिहासिक जीत हासिल गरेका छौँ । अनि हामी ऐतिहासिक जितको रोमाञ्चबाट धरतीमा उत्रिसकेका छैनौँ । हाम्रा भाषण, हाम्रा प्रस्तुति, हाम्रा व्यवहारबाट हेर्दा त्यो देखिन्छ।

धरतीमा कहिले झर्नुहुन्छ या झर्दै झर्नुहुन्न?
नझरी सुखै छैन । चार–छ महिना त भयो भन्ने होला । तर, अब गम्भीरतापूर्वक पार्टीमा छलफल हुुनुपर्छ।

संविधानमा, यहाँहरूका घोषणापत्रहरूमा अनि वाम एकताको सहमतिपत्रमा छलफलविनै समाजवादमा जाने भनियो त?
छलफललाई निषेध गर्ने परिपाटी यहाँ यो पार्टी र त्यो पार्टीमा मात्र हैन, घरघरमा छ । यो ठूलो विडम्बना हो । हामी गम्भीर हुनुपर्छ । फेरि पनि समाजवाद कसैले अर्कैले ल्याइदिन्न । कर्मचारीतन्त्र, वैदेशिक सहयोग, अनुदान कसैबाट समाजवाद आउने होइन । यो दिशाबाट सोचेर पार्टी लायकको बन्दैन।

छलफल गर्न कति समय लाग्ला?
जितको रोमाञ्चबाट धरतीमा आएपछि।

जित्न त यहाँले पनि जित्नुभएको हो ? जितको रोमाञ्च त यहाँमा देखिएन?
जित संस्थागत हुनुपर्थ्यो। जित राष्ट्रिय हितमा केन्द्रित हुनुपथ्र्याे। राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको यात्रामा केन्द्रित हुनुपर्थ्यो। सरकार बनेको यति महिनासम्म राष्ट्रलाई, गरिबलाई सम्बोधन गर्ने ठोस कार्यक्रम नआउनु दुःखको कुरा हो।

यहाँले ११ वर्षअघिको आफ्नो किताबमा यो सामन्तवाद हैन भन्ने तर्क गर्दै एक पार्टीको आलोचना गर्ने सन्दर्भमा सामन्तवादसँग संघर्ष गर्नुपर्ने अवस्थामा पुँजीवाद कसरी आयो त भन्नुभएको छ ? आज हाम्रा बोली व्यवहारमा सामन्तवाद देख्नुहुन्न?
हामी अलि सैद्धान्तिक रूपमा प्रस्ट हुन जरुरी छ । घमण्ड गर्नु, अभिमान गर्नु होच्याउनु, अपमान गर्नु, भ्रष्टाचार गर्नु सामन्तवाद जस्तो लाग्छ तर यो सम्पूर्ण रूपमा सही होइन । नकमाइएको सम्पत्ति खाएर बाँचेकाहरूले ठ्याक्कै यस्तो गर्छन् । सामन्तवादबाट यता सरेको यो दलाल पुँजीवाद हो । दुःखले पालिएको जो हुँदैन, जो श्रम गर्दैन, त्यो वर्गको संस्कृति हो यो । यद्यपि यो सामन्तवादमा पनि हुन्छ।

कम्युनिस्ट भनेपछि वर्गीय पक्षधरता पनि हुँदो हो, यो दृष्टिबाट यहाँको पार्टी र सरकार ?
सरकारका कदम निमुखाको पक्षमा नदेखिएको सही हो भन्न डराउनुपर्ने कारण छैन । हामीले यो देखाउन सकेका छैनौँ।

किन होला त?
हाम्रो चुनौती नै भएन कि ? कांग्रेसको गतिहीनताले पनि हामी बिग्रियौँ कि जस्तो लाग्छ । हाम्रा कमजोरी बढ्नुमा कांग्रेसले पनि सघाएको छ।

यहाँ पार्टी र सरकारबाट ‘माथि उठेर’ बोल्नुभएको देखियो, यहाँबाट व्यक्तिगत धारणा नै त आइराख्या छ अहिले, डा. गोविन्द केसीको अनशनलाई कसरी हेर्नुभएको छ?
शिक्षा–स्वास्थ्य सुलभ हुनुपर्छ भन्नु कम्युनिस्टकै कुरा हो । सैद्धान्तिक रूपमा ठीक छ । जहाँसम्म गोविन्दजीको कुरा सुरुदेखि अलि राजनीतिक भएर आयो । हाम्रो पार्टी पंक्तिमा मनमोहन अधिकारीको विरोधी जस्तो बनेर सुरुमा आयो । उहाँमा माग सम्बोधन गरेर मात्र हामी समाजवादमा जान्छौँ भन्ने होइन । तर हामी कता जान्छौँ भन्ने कुरा तय ग¥यौँ भने उहाँका माग सम्बोधन हुन सक्छन्।

सरकारले देखाइदिन्छु जस्तो व्यवहार गरिरहेजस्तो देखिन्छ?
नेपालमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा संविधानले भनेजस्तो, हाम्रा घोषणापत्रले भनेजस्तो गर्ने हो भने यो विवादको कुरै हुँदैनथ्यो।

के दलाल पुँजीवादी र कम्युनिस्टको रेखा मेटिँदो छैन त यहाँ?
दलाल पुँजीवादको नेतृत्व नै यहाँका हाम्रा पार्टीहरूले गरेको देखिन्छ । यही नै सबभन्दा ठूलो विरोधाभास हो । पार्टीका हरेक सदस्यको क्रियाकलाप समाजवादमुखी छ कि छैन ? कमाएर खान्छ कि खान्न, कर तिर्छ कि तिर्दैन ? तिरेको कर सरकारले निमुखाका पक्षमा खर्च गरेको छ कि छैन भनेर चासो दिन्छ कि दिन्न ? यतातिर सोच्नुपर्छ ।

अवस्था त बिब्ल्याँटो पो छ त …
म त भन्छु, शिक्षा र स्वास्थ्यमा निजी लगानी गर्नेहरू कम्युनिस्ट पार्टीको सदस्य नै बन्न नसक्ने प्रावधान हुनुपर्छ । सुरुमा केन्द्रीय कमिटी सदस्य अनि यसलाई प्रदेश कमिटीको सदस्यमा पनि लागू गर्न जरुरी छ । हाम्रो शिक्षा स्वास्थ्य कस्तो हुनुपर्छ भन्नेबारे पार्टीको तल्लो तल्लो कमिटीमा बहस–छलफल हुनुपर्ने हो । तर, स्थायी कमिटीमा समेत यसबारे छलफल हुन सकेको छैन । गोविन्द केसीजस्ताका धेरै कुरा यही विन्दुबाट समाधान हुन सक्थ्यो।

सरकारलाई खास ठूलो अवरोध छैन । दुई तिहाइभन्दा बढी समर्थन छ । प्रतिपक्ष नै छैन जस्तो अवस्था छ । यस्तो स्वर्णिम समयमा पनि किन नेतृत्वले यतातिर ध्यान दिन नभ्याएको कि नचाहेको होला ?
सरकार नियमित दैनन्दिन क्रियाकलाप मात्र सोचिरहे जस्तो देखियो । बजेट, वैदेशिक सम्बन्ध सुधार, भ्रमणहरूमा व्यस्त भएर होला । हाम्रा नेताहरू व्यस्त हुनुहुन्छ । त्यसैले हामी शिक्षा–स्वास्थ्यजस्ता मूलभूत मुद्दामा बहस गर्न समय पाइरहेका छैनौँ । हामीसित यत्रो शक्ति छ । हामीले नगरी यो मुलुक अघि बढ्दैन । यत्रा सपना बाँड्यौँ । जनताले जिताए । अब हामीले जनतालाई जिताउने हो । यत्तिको अनुकूल अवस्थामा पनि जनतालाई जिताउनुको साटो रुवायौँ भने हाम्रो सत्यानाश हुन्छ।

कम्युनिस्ट पार्टीमै बहस कुन चरीको नाउँ हो जस्तो भइसक्यो है?
बहस भइरहेको छ । म आफैँ माक्र्सवादको प्रचारप्रसारमा हिँडिरहेको छु । तर, सरोकारवालामा वहसप्रति विषेध भावना छ । यो म यो वा त्यो पार्टी मात्र भनिरहेको छैन । माथि पुगेपछि वैचारिक बहसलाई खतरापूर्ण देख्ने आमप्रवृत्ति नै हो।

कम्युनिस्ट पार्टीको एकल वर्चस्व हुँदा पनि हामी यति गतिहीन हुनु नपर्ने हो । पार्टी पंक्तिमा अहिले वैचारिक बहस भएन भन्ने कुरा तल तलसम्म हुँदैछ। आउने महाधिवेशनमा हामी विचारमा केन्द्रित हुँदैछौँ। पद र पैसाका पछि कुद्नु समाजवाद हैन। सबै कमरेड निजी दाम र नाम कमाउन कुद्ने हो भने समाजवाद कसले ल्याइदिन्छ? पार्टीलाई सत्यानाश हुनबाट जोगाउन जरुरी छ।

यहाँहरूको नेतृत्व जन्मँदै, आफैँमा शोषक, जमिनदार होइन । वर्षाैं जेल बसेको, देश–दुनियाँ बुझेकै हो । तर, सत्तामा पुगेपछि वर्गीय पक्षधरता किन उल्टिन्छ ? किन कोही कम्युनिस्ट क्रमशः बरबाद हुन्छ?
यसलाई अलि बढी वैश्विक परिवेशमा हेर्नुपर्छ । मजदूरहरूले आन्दोलन गरे, आफैँ मालिक बन्न । किसान आफैँ जमिनदार बन्न पाइन्छ भनेर आन्दोलन गरे । उनीहरू समाजवाद ल्याउन लागेका थिएनन् । नयाँ युग ल्याउनका लागि लागेका थिएन । त्यसैले पीडित पछि पीडक बन्छ, ऊ समता र समाजवाद भन्दा ऐस आराममा निर्लिप्त भएको विश्व इतिहास छ । यहाँ पनि यसकै निरन्तरता देखिँदो छ । तर, म निराश भने छैन।

केपी ओली मेरो विचारमा आए भन्नुभएको छ। अब त नवगठित पार्टी नै यहाँको ‘लाइन’मा आयो। अबको महाधिवेशनमा जसको विचार, उसको नेतृत्व हुने सम्भावना छ?
म हिजो त्यस्तो उपमहासचिव हुँ, जसलाई पार्टीले केही जिम्मेवारी तोकेको थिएन। अरु सबै साथीका जिम्मेवारी थिए। मेरो थिएन। तर पनि म मेरो हिसाबले सक्रिय नै थिएँ । म हाम्रो कम्युनिस्ट आन्दोलनमा धेरै सम्भावना देख्छु । को के पदमा पुग्यो, को कति सम्पन्न भयो, यस्तो कुराले मलाई असर पार्दैन। म हिजो पनि र आज पनि पदको आकांक्षी छैन।

माओवादी केन्द्रसितको मिलनपछि अब त यहाँहरूजस्ता वैचारिक नेताहरूलाई खुब सजिलो हुने होला नि ?
हिजो एमाले र माओवादी दुवैमा राम्रा कुरा पनि थिए, नराम्रा कुरा पनि थिए । म के देख्दै छु भने हिजो एमालेका कमजोरीहरू, कचेराहरू, एक हिसाबले कम्युनिस्ट पार्टीका हिसाबले हेर्दा अनवान्टेड इलेमेन्ट (अवाञ्छित तत्व), दलाल व्यक्ति र विचारहरू अनि माओवादाीका यस्तै तत्वहरू एक भएर र बलियो भएर गए भने होल (पूरा) नेकपा खाइदिन्छन् । तर, दुवै पार्टीका क्रान्तिकारीहरू, समाजवादीहरू, माक्र्सवादीहरू, वैचारिकहरू एक भएर पार्टीमा प्रभुत्वशाली भए भने यो पार्टीको भविष्य असाधारण छ । कसले जित्ने हो, फैसला भएको छैन।

कहिले हुन्छ फैसला?
आगामी महाधिवेशनमा।

सत्तामा पुगेपछि कोही किन लोभी हुन्छ ? यहाँ पनि कही समय विनाविभागीय मन्त्री हुनुभएको थियो।
हो, म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री थिएँ।

ए, विना विभागीय हैन ?
मलाई दिएको कागजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थियो । त्यतिखेर मेरो उद्देश्य के थियो भने शान्ति प्रक्रियालाई टुंग्याउने । यसै भएर म अरु विभागमा जान चाहिनँ।

म कम्युनिस्ट हुँ, मेरो आचरण र व्यवहार अरुभन्दा अलिकति शुद्ध, अलिकति प्रगतिशील हुनुपर्छ भन्ने डर भनौँ न, अनुशासनमा स्खलन भइरहेको देख्नुहुन्छ?
हाम्रो पार्टीमा तीन थरी मान्छे छन् । पहिलो खालका मान्छेमा उही आदर्श, उही प्रतिबद्धता, उही इमानदारी, उही निष्ठा छ। यी दृश्यमा छैनन्। दबाइएका छन्। अर्काे खालकामा उनीहरूले कम्युनिस्ट बन्धन टुटाइसकेका छन् र अन्तै पुगिसकेका छन् । तिनको आदर्श, नैतिकता, मूल्य देखाउने दाँत मात्र हो । तिनको लवाइखवाइ, उठबस, घर जग्गाको संकलन, तिनको सम्बन्ध, पार्टीभित्रै र सरकारभित्रै पनि तिनको अचानकको उडान, कसरी उत्थान भयो भनेर हेर्नुभयो भने तिनको रहस्यमयी, तिलस्मी छ। पार्टी र सरकारमा तिनीहरूको भूमिका निरन्तर बढिरहेको छ । तेस्रो थरी छन्— हिजोका आदर्श छँदै छ, मूल्य सम्झेको पनि छ तर अर्काेतिर पार्टीमा बढेका नवधनाढ्यको चकचकी पनि देखिरहेको छ । ती अन्यमनस्क अवस्थामा छन् । ती तेस्रो खाले अन्यमनस्क पंक्ति नवधनाढ्यको पक्षमा लागे भने हामी सकियौँ।

अलिकति आलोचना गर्दैमा गाली गरिहाल्ने यो कस्तो प्रवृत्ति हो?
फासिस्टहरू मान्छेलाई मान्छेका रूपमा देख्दैनन्, उनीहरूका लागि हरेक मान्छे कि शत्रु हो कि चाकर हो। साभार नागरिक दैनिक 

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.