काठमाडौं– जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौ आउन तयार भएका छन् । डा. केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीले केहीबेरमा सेनाको हेलिकोप्टरमार्फत काठमाडौ ल्याइने जानकारी दिएको छ ।
टोलीका संयोजक सहसचिव गुणराज लोहनीले केहीबेरमा केसीलाई काठमाडौ ल्याइने बताए । ‘डा. केसी काठमाडौ आउन सहमत हुनुभएको छ । केहीबेरमा हेलिकोप्टर उड्छ’ लोहनीले रातोपाटीलाई बताए । यसअघि डा केसीको अनसनस्थलमा पुगेका मूख्यमन्त्री महेन्द्र बहादुर शाहीलगायतलाई छिर्न नदिएपछि झडप समेत भएको थियो|
झडपपछि मुख्यमन्त्रीको टोली नेपाली सेनाको भगवती दल गणमा गएर बसेको थियो । झडपका क्रममा अस्पतालमा क्षती पुगेको छ भने केही घाइते समेत भएका छन् । झडपपछि केसीपक्षधरसँग लोहनीलगायतले छलफल गरेका थिए । छलफलपछि लोहनी काठमाडौ आउन तयार भएका हुन् ।
यसैबीच डा केसीले एक पत्रकार सम्मेलनमार्फत सरकारले जबरजस्ती बल प्रयोग गरेर अस्पतालमा समेत क्षति पुर्याउन खोजेको भन्दै आफू काठमाडौं जान तयार भएको बताएका छन् । केसी समर्थकले डाक्टर केसीकै मुखबाट काठमाडौं जान लागेको सुन्नलाई माग गरेपछि सर्वसाधारणलाई केसीले सम्बोधन गरेर मात्रै हेलिकप्टर चढ्ने भएका छन् ।
Credit : onlinepana.com
