चिकित्सा शिक्षा सुधारको माग गर्दै कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लामा १९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको मुटुमा गम्भीर समस्या देखिएको छ । मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गड्बढी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।
यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बैठक बसेर डा. केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेको छ ।डा. केसीको अवस्था गम्भीर रहेको खबर शिक्षामन्त्री हुँदै नेकपाका नेताहरुसम्म पुगेपछि बालुवाटारमा आकस्मिक बैठक बसेर डा. केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेको छ ।
बैठकले डा. केसीका जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै भोलि नै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको छ । साथै आफ्ना मुद्दा सम्बोधन नभएसम्म डा. केसीले अनसन नतोड्ने भएकाले उनका मागबारे खुला छलफल गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए l
चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसनरत छन् । यो बीचमा डा. केसीका प्रतिनिधिसँग वार्ता भएपनि सहमति हुन सकेन ।
कर्मचारीको टोलीलाई पूर्ण अधिकार नभएको भन्दै डा. केसीका समर्थकले बुधबार नै मन्त्रीस्तरमा मात्र वार्ता गर्ने अडान सार्वजनिक गरेका छन् ।
Credit : janasanchar.com
