काठमाडौं– जुम्लामा आमरण अनसन बसेका प्रा डा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । बिहीबार डा. केसीलाई काठमाडौं ल्याउन कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली जुम्ला पुगेको थियो ।
त्यसक्रममा अनसनस्थलमा सरकारी टोलीलाई केसी समर्थकले प्रवेश गर्न नदिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
झडपमा प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु घाइते भएको बताइएको छ । बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं ल्याउने सरकारको निर्णयपछि कर्णालीका
मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । तर, उनीहरु अस्पताल प्रवेशमै केसी पक्षधरले अवरोध गरेका थिए ।
केसीको पक्षमा नाराबाजी गर्दै विद्यार्थीले बाटो छेकेपछि झडप भएको बताइएको छ ।
यस्तै आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।
प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’ अनसनरत डा. केसीसँगै रहेका डा. विषद दहालले भने ।
केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।
Credit : janasanchar.com
