जाजरकोटको सडक समस्या, खन्दै अपलत्र पार्दै

जाजरकोट : जुनीचाँदे गाउँपालिकामा सडक यातायातको पहुँच छैन। उक्त गाउँपालिकाको सिमानासम्म मात्रै सडक पुर्‍याउन १० किमि ट्रयाक खन्न गर्न बाँकी छ। तर, जुनीचाँदे गाउँपालिकाले चालु आर्थिक वर्ष सडक निर्माणमा दुई करोड ५० लाख बजेट खर्चंदै  छ । गाउँपालिका क्षेत्रभित्रका १४ वटा सडक निर्माण गर्न बजेट खर्च हुने भएको हो। बारेकोट गाउँपालिकाको सिमानासम्म सडक पुग्न २० किमि छ ।

बारेकोटले पनि गाउँपालिका क्षेत्रभित्रका दुई सडक निर्माणमा डेढ करोड खर्चंदै भएको छ। त्यस्तै, चालु आर्थिक वर्षमा शिवालय गाउँपालिकाले १४ सडक निर्माण तथा स्तरोन्नतिका लागि साढे ३ करोड, कुशे गाउँपालिकाले १० सडक निर्माणमा ३ करोड, भेरी नगरपालिकाले ४ दर्जन सडकका लागि साढे ५ करोड बजेट खर्चंदै छ। ती गाउँ र नगरपालिकाले चालु आर्थिक वर्ष सडक निर्माणमा आधा बढी बजेट खर्च पनि गरिसकेका छन् ।

जिल्लाका बारेकोट गाउँपालिका र जुनीचाँदे गाउँपालिकालाई सडक संजालले छोएको छैन। यिनीहरू मात्र हैन, जिल्लाका सातवटै स्थानीय तहले सडक निर्माणमा मोटो बजेट खर्चंदै  भएका छन् । ती स्थानीय तहले महिला तथा बालबालिका, स्वास्थ्य, कृषि तथा पशु, सूचना सञ्चार, उद्योग, ऊर्जालगायत शीर्षकलाई बेवास्ता गर्दै सडक निर्माण मात्र ठूलो बजेट छुट्याएका छन्। चालु आर्थिक वर्षजस्तै विगतमा दर्जनौं सडक निर्माण भएका छन् । तर, ती सडकमा यातायात सञ्चालनका योग्य छैनन्। जाजरकोटमा निर्माण भएका आधा दर्जन सडकमा मात्र यातायात सञ्चालन हुँदै आएको छ।

विगत आर्थिक वर्षमा विभिन्न निकायबाट निर्माण भएका एक सय ग्रामीण सडक प्रयोगविहीन छन्। पछिल्लो समय जाजरकोटका सातवटै स्थानीय तहमा अन्धाधुन्ध सडक निर्माण हुने गरेका छन्। सातै स्थानीय तहमा एक सय बढी सडक डोजरले अन्धाधुन्ध खन्ने काम भइरहेको छ। जाजरकोटमा लाखौँ खर्चेर सडक खन्ने तर १० वर्षसम्म गाडी नगुडाउने प्रचलनको विकास भएको छ । कतिपय सडक प्राविधिक स्टिमेट तथा डिजाइनबिना नै निर्माण भएका छन् । जुन सडक वातावरणीय प्रभाव मूल्यांकन र सडक निर्माण मापदण्डविपरीत निर्माण भएका छन्।

प्राविधिक सर्भे, डिजाइनबिना नै मनोमानी ढंगले सडक निर्माण हुने गरेका छन्। ‘जथाभावी खनेर बनाएका सडकमा बस गुड्ने त परैको कुरा, ट्याक्टर र जिपसमेत गुड्न सक्दैनन्,’ गाउँपालिकाका प्राविधिक डिलाराम आचार्यले भने। जाजरकोटमा करोडौं बजेट खर्चेर निर्माण थालिएका १ सय २१ सडक प्रयोगविहीन छन्। निर्माणमा ढिलासुस्ती हुँदा जाजरकोट- पाँचकाटिया-पैंक-ब्याउलीढुंगा-जुम्ला सडक, छेडा-चाँदे-जुम्ला सडक र जाजरकोट-बारेकोट-चाखुरे-जुम्ला सडक अलपत्र छन्।

डोजरले स्थानीयको रोजगारी खोस्यो
जाजरकोटका सातवटै गाउँनगरपालिकामा डोजरले यतिबेला धमाधम सडक खन्ने काम गरिरहेका छन्। जाजरकोटमा सडक, कुलो, पुलको जग, घरको जगलगायत निर्माण गर्ने काममा डोजरकै प्रयोग हुने गरेको छ।

निर्माण कार्य डोजरले गर्न थालेपछि यहाँका स्थानीय बासिन्दा भने बेरोजगार बनेका छन्। जिल्लाभरका सडकलगायत पूर्वाधार निर्माण डोजरको माध्यमले गर्दा स्थानीय बेरोजगार बनेका हुन् । घरछेउमा सडक बनाउने, कुलो खन्नेलगायत काम गर्ने मौका नपाएपछि बेरोजगार स्थानीय कामको खोजीमा भारतीय श्रमबजार पुग्न बाध्य छन्।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.