काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुईतिहाइको नाममा नेपाल कम्युनिस्ट पार्टीले दम्भ देखायो भने राजनीतिक अनिष्ट निम्तने निश्चित रहेको बताएका छन् । बहुमत हुँदाहुँदै दुईतिहाइ पुऱ्याउने नाममा नेकपाले अधिनायकवादको सङ्केत देखाउँदै छ, दुईतिहाइ पुऱ्याएर जथाभावी संविधान संशोधन गरे काङ्ग्रेस चुप लागेर नबस्ने र त्यतिबेला राजनीतिक सङ्कट निम्तने शर्माले चेतावनी दिए ।
पछिल्लोपटक नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दम्भमिश्रित भाषा प्रयोग गरिरहनुभएको छ, पूर्वीरुकुमको सदरमुकाम सिस्ने गाउँपालिका–३ पोखरामा आज सोमबार आयोजित कार्यकर्ता भेलामा काङ्ग्रेस प्रवक्ता शर्माले भने, ‘बहुमतको नाममा जे पनि गर्ने र जे पनि बोल्ने काम जारी रहे काङ्ग्रेस कडा रूपमा अघि बढ्नेछ ।’
अहिले काङ्ग्रेसले शालीन र भद्र राजनीति गरिरहेको र राम्रा कामहरूमा सरकारलाई रचनात्मक सहयोग गरिरहेको उल्लेख गर्दै उनले संविधान र लोकतन्त्रविरुद्ध कम्युनिस्ट सरकार गयो भने काङ्ग्रेसले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए ।
सरकारले अहिले जारी गरेको बजेट नै सङ्घीयताविरोधी भएकाले केन्द्रीकृत राज्य–प्रणाली सञ्चालन गरेर कम्युनिस्टले सङ्घीयताको नाटक मञ्चन गरेको आरोप लगाए । काङ्ग्रेस प्रवक्ता शर्माले एकपटक प्राविधिक हार भए पनि कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै कम्युनिस्टको शासनबाट जनता आजित भएपछि अबको पाँच वर्षपछि हुने चुनावमा काङ्ग्रेसले बहुमत ल्याएरै छोड्ने जिकिर गरे ।
सरकारको काम बयलगाडाको भन्दा सुस्त र बेकामे भइसकेको उल्लेख गर्दै प्रवक्ता शर्माले कम्युनिस्टका नाममा अहिले जनतालाई ‘आँखामा छारो हाल्ने’ काम भइरहेको बताए । अब जनताले कम्युनिस्टको बहुमतीय सरकारको असली चरित्र देख्नेछन्, अनि जनता पछुतो मानेर फेरि काङ्ग्रेसलाई विजयी गर्नेछन्, त्यसैले सबै कार्यकर्ता जनतालाई जागरुक पार्न देशभर खट्नुपर्ने उनको भनाइ छ ।
Credit : onlinepana.com
