धनगढी : कैलालीमा विकास निर्माणका कामको ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदारहरुको सूची गृह मन्त्रालयमा पठाइएको छ। जिल्ला भित्र निर्माण प्रक्रियामा रहेका २० ठूला योजनामा लापरबाही गर्ने १६ ठेकेदार र निर्माण कम्पनीको सूची गृह मन्त्रालयमा पठाइएको हो। धनगढीस्थित डिभिजन सडक कार्यालयअन्तर्गत ठेक्कापट्टा भई निर्माणाधीनआयोजना समयमा नसक्ने नौ ठेकेदारलाई कारबाहीका लागि सिफारिस गरिएको छ।
यस्तै जिल्ला प्राविधिक कार्यालबाट ठेक्का पाएका तीन जना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका दुई ठेकेदार पनि काम नगर्नेको सूचीमा छन्। यस्तै सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट ठेक्का पाएका दुइ जना, मेडिकल कलेज पूर्वाधार विकास समिति एक र हुलाकी राजमार्ग कार्यालयमार्फत ठेक्का लिएर सम्झौता मितिमा काम सम्पन्न नगर्ने तीनजना ठेकेदारको नाम संकलन गरी गृह मन्त्रालयमा पठाइएको छ। उनीहरुलाई नेपाल सरकारको निर्देशन बमोजिम कारबाही हुने कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।
उनले भने ‘केन्द्रको निर्देशनअनुसार कारबाही हुन्छ।’ केही समयअघि गृहमन्त्री रामबहादुर थापा बादलले कैलाली पुगेरै काम नगर्ने ठेकेदारको सूची तयार पारी गृहमन्त्रालयमा पठाउन प्रशासन कार्यालयलाई निर्देशन दिएका थिए। सोहीअनुसार जिल्ला प्रशासन कार्यालयल योजनाको अनुगमन तथा सम्बन्धित कार्यालयमा तथ्याङ्क संकलन गरेर ठेकेदारको सूची मन्त्रालय पठाएको हो। ठेक्कापट्टा लिई निर्माण नगर्ने चन्द्रशेखर मल्लको नाम पहिलो नम्बरमा छ। उनले सडकपुर बौनिया थापापुर सडक स्तरोन्नति र मोहना नदिको पक्की पुल निर्माणको ठेक्का लिए पनि काम नगरेको देखिएको छ।
यस्तै हसुलिया मसुरिया सडकको स्तरोन्नति र धनगढीको सन्तोषी टोलको ठेक्का पाएका सुनिल थापा काम नगर्ने ठेकेदारको दोस्रो नम्बर परेका छन्। देवहरीया–वेहडावा– चौमाला सडकखण्डको ठेक्का पाएका किशोर ठगुराठीको नाम पनि काम नगर्ने ठेकेदारको सूचीमा परेको छ। महाकाली राजमार्ग र मनहरा कान्द्रा नदी नियन्त्रणको ठेक्का पाएका रोशन भट्ट, पूर्वपश्चिम राजमार्ग निर्माणको जिम्मा लिएका गोविन्द भट्ट,गजवा नालामा पुलको ठेक्का पाएका लक्ष्मण स्वार र घैला बौनिया ओरहेड ट्यांकी निर्माणको काम नगर्ने तपेन्द्रबहादुर शाह पनि काम नगर्ने ठेकेदारको सूचीमा परेका छन्।
कैलाली नालाको ठेक्का पाएका गोकर्ण कुमार शाह, गोदावरीको भालुखोलको पुलको ठेक्का लिएका शेरबहादुर खड्का र बर्दगोरीयाको जरजिया सिँचाइ आयोजनाको जिम्मा पाएका भुपेन्द्र सिह धामी पनि काम नगर्ने ठेकेदारमा परेका छन्। यस्तै गोदावरीमा हेल्थपोष्ट भवन निर्माणको जिम्मा पाएका ठेकेदार सिह आली, मालाखेतीमा प्राथामिक स्वास्थ्य केन्द्रको जिम्मा पाएका प्रकाश शर्मा र उदासीपुरमा प्राथामिक स्वास्थ्य केन्द्रको ठेक्का पाएका विष्णु कुँवरलाई पनि सूचीमा समावेश गरिएको छ।
उनीहरू तीनै जनाले शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट ठेक्का पाएका थिए। राम गोपाल श्रेष्ठ, बद्री सिग्देल,लक्ष्मण स्वाँर र रंगबहादुर रावल पनि काम नगर्ने ठेकेदारमध्य परेका छन्। श्रेष्ठले मेडिकल कलेजको प्रशासनिक भवन निर्माणको ठेक्का पाए थिए भने सिग्देलले हुलाकी राजमार्गमा नदीको पुल निर्माणको जिम्मा लिएका थिए। यस्तै स्वाँरले पवेरा खोलमा पुल निर्माण र रावलले खक्रौला घाटको पुल बनाउने जिम्मा लिए पनि काम नगरेको जनाइएको छ।
Credit : raranews.com
