केसीको भोक हड्ताल कांग्रेस आन्दोलनको मुख्य एजेन्डा, बुढानिलकण्ठमा के–के भयो तयारी ?

जुम्लामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले जारी राखेको भोक हड्ताल नेपाली कांग्रेसले घोषणा गरेको सरकारविरोधी कार्यक्रमको मुख्य एजेन्डा बनेको छ ।

सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा भेला भएका कांग्रेस पदाधिकारीले केसीको सत्याग्रहमा टेकेरै सरकारविरोधी आन्दोलन चर्काउन सजिलो हुने ठहर गरेको छ ।

कांग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध विभिन्न ठाउँमा प्रदर्शनका लागि केसीको सत्याग्रहसहित निषेधित क्षेत्र घोषणाको विरोध, अदालतमा हस्तक्षेप र मिडियामाथि प्रहार भएको भन्ने मुद्दा पनि थपेको छ ।

कांग्रेसले केसीको मुद्दालाई नै लिएर दुई पटक प्रतिनिधि सभाको बैठक पनि अवरोध गरिसकेको छ । ‘सरकार एकाधिकारवादी सोचमा लागेपछि विरोधका अन्य विकल्प छैनन्, लोकतन्त्र मास्ने शैलीमा उत्रिएका कारण मुद्दा तयार पारिएका हुन्’, कांग्रेसका एक नेताले भने,‘जिल्ला–जिल्लामा भ्रातृ संगठन र पार्टीलाई एजेन्डा सर्कुलर भइसकेका छन् ।’

विहीबार, ५ र ८ गते तीन दिन देशभर कांग्रेसका विभिन्न संघ संगठनले आन्दोलनको तयारी गरिसकेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘प्रतिपक्षका मागलाई सम्बोधन नगरी सरकारले मनोपोली गरेपछि आन्दोलनका कार्यक्रम तय भई सर्कुलर जारी भइसकेको छ’, पौडेलले भने,‘लोकतन्को रक्षाका लागि कांग्रेसले यस्तो तयारी गरेको हो ।’नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संगठनलगायतले आन्दोलनको तयारी थालिसकेका छन् ।

यता, सडकमा शुभेच्छुक र भ्रातृ संगठनको आन्दोलन परिचालन हुँदै गर्दा संसदमा सांसदले अवरोध जारी राख्नुपर्ने पनि बताइएको छ । ‘सरकारले डा. केसीसँग वार्ता गरेपनि तयार पारेको चिकित्सा शिक्षा विधेयकको परिमार्जित प्रस्ताव फिर्ता लिने छैन’, एक सांसदले भने,‘त्यसैले त्यसलाई फिर्ता गराउनका लागि सदन चल्न नदिने तयारी पनि भएको छ ।’

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.