कांग्रेसले चक्काजाम र सदनमा होहल्ला गर्दैन : विश्वप्रकाश शर्मा

 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर नमूना प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । कांग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमीकमजोरी औँल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले बताए ।

‘कांग्रेसले सडकमा चक्काजाम र सदनमा होहल्ला गर्ने काम गर्दैन, शान्तिपूर्ण र रचनात्मक तरिकाले सरकारका नकारात्मक निर्णयको विरोध गर्छ’– प्रवक्ता शर्माले भने । जनतालाई दुःख दिने काम कांग्रेसले कहिल्यै पनि नगर्ने उनले स्पष्ट पारे ।

कांग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको भन्दै पार्टीमा देखिएको गुटबन्दी र वामपन्थी एकताका कारण कांग्रेसले निर्वाचनमा पराजय भोगेको बताउँदै अब पार्टीलाई नवीनतम बनाउन लागिएको उनले उल्लेख गरे । ‘कांग्रेसले नेतृत्व गरेको सरकारलाई जति चुनौती थिए, अहिले ओली नेतृत्वको सरकारलाई छैन, यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई आठ अंकमा पुर्‍याउन सकेन भने त्यो सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ’– युवानेता शर्माले भने।

प्रधानमन्त्रीलाई दृढ इच्छाशक्ति, विशाल हृदय र अधिकतम लचकता अपनाएर समृद्धिका पक्षमा अघि बढ्न पनि उनले सुझाव दिए । वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरकभन्दा पनि बढी महत्त्वाकांक्षी भएको उनले बताए । रासस

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.