तस्करीको साँढे ३३ केजी सुन र सनम शाक्य हत्या अभियोगमा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्द निरौलादेखि एसपी विकासराज खनाल र डीएसपी सञ्जय राउतसम्म पक्राउ परेपछि एसएसपी श्यामबहादुर खत्री एकाएक भूमिगत भएका थिए ।
खत्री खुला सीमानाको फाइदा उठाउँदै भारतको देहरादुन गए । केही महिना उतै लुके । तर, उनले त्यहाँ पनि आफूलाई असुरक्षित महशुस गरे । त्यही क्रममा गोरे पक्राउ परे । बयानमा गोरेले खत्रीलाई पोले । त्यसपछि नेपाल प्रहरीमा खत्रीविरुद्ध डिफ्युजन नोटिस जारी गर्न दबाव पर्यो । नोटिस जारी भए खत्री जुनसुकै बेला भारतीय प्रहरीबाट पक्राउ पर्न सक्थे । यो विषयमा उनी जानकार थिए ।
त्यसैले उनी एक साताअघि देहरादुनबाट सुटुक्क नेपाल छिरे । काठमाडौं आई आफन्तकहाँ लुकेर बस्न थाले । तीन दिनअघि पौडेल समितिले यसको सुइँको पायो । लगत्तै समितिले उनको लोकन्थलीस्थित निवासदेखि आफन्तको घरमा छापा मार्ने काम तीब्र बनायो ।
दबावमा रहेको नेपाल प्रहरीले खत्रीविरुद्ध बुधवार डिफ्युजन नोटिस जारी गर्यो । अब उम्कने ठाउँ कतै नदेखेपछि अन्ततः खत्री अदालतमा आत्मसमर्पण गर्ने ‘मुड’ मा पुगे । यसका लागि अदालतको प्रक्रिया मिलाउन वरिष्ठ अधिवक्ता हेमराज पन्तलाई भने । पन्तकै पछि लागेर पत्नी उमासँगै बिहीबार खत्री मोरङस्थित जिल्ला अदालत पुगेर अत्मसमर्पण गरेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
