कविता : विप्लव र बादल…

 

 

 

 

 

 

अचेल सगरमाथातिर
विशेष चर्चा–परिचर्चा
विप्लव र बादलको चलेको छ
हिजो महासमरमा
एउटै उद्देश्यका सारथि
विप्लव र बादल
आज दुई विपरीत ध्रुवमा पुगेका छन्
विडम्बना ! दुई ध्रुवबीच
पुरानो मित्रता हराइसकेको छ
सपनाहरू फेरिँदा
एक–आपासमा दुस्मनी बढेको छ
बादलले नाम फेरिएको
पुँजीवादी सत्तामा पुगेर
जनवादी–समाजवादी आन्दोलनविरुद्ध
दमनचक्र मच्चाएका छन्
विप्लवले दमनचक्रको
प्रतिरोध गर्ने घोषणा गर्दै
एकीकृत क्रान्तिको रणनीतिबाट
राज्यलाई चुनाैती दिएका छन् ।

खुला आँखाले हेर्दा !
विप्लव इमानदार देखिन्छन्
क्रान्तिकारी देखिन्छन्
विचार, सिद्धान्त र
कार्यक्रमका हिसाबले
जनपक्षीय देखिन्छन्
सहिदका सपना पूरा गर्न
दृढसंकल्पित देखिन्छन्
इतिहासको समीक्षा गर्दै
नयाँ क्रान्तिको तयारीमा देखिन्छन् ।

विप्लव सफल हुन्छन् कि हुँदैनन् ?
विप्लवको सफलता
उही प्रचण्डको जस्तै
नातावाद, परिवारवादमा सिद्धिने हो वा
वैज्ञानिक समाजवादसम्म पुग्ने हो ?
त्यो भविष्यको गर्भमा छ
तर, अहिलेसम्म विप्लव
आमूल परिवर्तनको पक्षमा नै देखिन्छन्
यो अाैंशीको कालरात्रिमा
प्रतिक्रान्तिले देश निलेको पल
एउटा आशालाग्दो
जुनकीरीको संगीत बनेका छन् ।

खुला आँखाले हेर्दा !
हिजोका शालिन बादल
आज निकै क्रूर देखिन्छन्
कथित मूर्दाशान्ति र
समृद्धिको बहानामा
महाकालीवालासँग मिलेर
साँचो शान्ति र समृद्धिविरुद्ध
साँचो परिवर्तन र क्रान्तिविरुद्ध
‘प्रभु’ लाई रिझाउन
मरिहत्ते गरेर लागेका छन् ।

यतिबेला बादललाई
दक्षिणपन्थी हावा–हुरीले उडाएको छ
जब साम्राज्यवाद र विस्तारवादले
बादलको आँखामा
कालो पट्टी बाँध्न सफल भयो
त्यसपछि उनले क्रान्तिलाई
अतिवाद, आंकतवाद देख्न थालेका छन्
जनयुद्धको ‘ज’ उच्चारण
कसैले गर्‍यो भने,
दलाल पुँजीवादी राज्यविरुद्ध
कसैले बोल्यो भने,
उनलाई ‘एलर्जी’ हुन थालेको छ ।

स्वयम् बादलले आफैं
तीन दशकदेखि भन्दै आएको
‘दलाल फलाउने’ सिंहदरबार
अझै फेरिएको छैन
तर, बादल र बादलहरू फेरिए
बादल र बादलहरू
फेरिका मात्रै छैनन्
त्यही ‘दलाल फलाउने’ सिंहदरबारको
अंगरक्षक बनेर
माअोवाद र सर्वहारा क्रान्तिविरुद्ध
हात धोएर लागेका छन् !

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.