कर्णाली प्रदेश मा हटलाइन सेवा सुरुः मुख्यमन्त्री शाहीको पहिलो कुराकानी सार्की र बाँठामगरसँग

सुर्खेत: कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा शुभारम्भ गरेको छ ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसिकोट नगरपालिकका दीपक बाँठा मगरका प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गरे ।

हेलो कार्यक्रममा सार्कीले आफ्नी आमाको हत्यारालाई कारवाहीको माग राखेका थिए भने बाँठामगरले त्रिभुवन जनता माविको भवन निर्माण र खानेपानी आयोजना निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा गुनासो राखेका थिए ।

मुख्यमन्त्री शाहीले दुवैजनाले उठाएको समस्या समाधानका लागि सूचीबद्ध गर्नुका साथै सम्बन्धित निकायलाई समाधानका लागि निर्देशन गर्ने बताए ।  जनताका समस्या मुख्यमन्त्रीले प्रत्यक्ष सुनेर तिनको सहज सम्बोधन भएको जनतालाई प्रत्याभूति गराउने उद्देश्यले हटलाइन सेवा शुभारम्भ गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

हटलाइन सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले भने, “समग्र योजना विकास निर्माण नेतृत्वले मात्र गर्दा मनोगत हुन्छ, जनताको समस्या समाधानसहितको वस्तुगत योजना विकासमा सहयोग पुगोस् भनेर हटलाइन सेवा शुरु गरिएको हो ।”

उनले मुख्यमन्त्री हटलाइन सेवा (१०९६) सँगै कर्णाली प्रदेश सरकारको आधिकारिक वेबसाइट www.ocmcm.karnali.gov.np  को उद्घाटन गरेका थिए । वेबसाइटले प्रदेश सरकारद्वारा भए गरेका गतिविधि जनतालाई सजिलै सूचित गर्ने उनको भनाइ थियो ।

डिजिटल प्रदेश निर्माण गर्ने अवधारणा लिएको यो प्रदेश सरकारको वेबसाइट निर्माण तथा विकासले विस्तारै यहाँका सरकारी कार्यालयका सबै कामकाज प्रविधिबाटै गर्न सघाउ पुग्ने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.