‘ओली सरकार सामाजिक फासीवादतर्फ’ : अध्यक्ष गजुरेल

 

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता एवं सो पार्टीसम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले केपी ओली नेतृत्वको सरकारले फासीवादी कदम चालेको आरोप लगाएका छन् ।

जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई बिहीबार राजधानी ल्याउने क्रममा सरकारले अपनाएको शैलीलाई नेता गजुरेलले फासीवादी कदमको संज्ञा दिएका हुन् । शुक्रबार बिहानै ‘जुम्लामा भएको सरकारी दमनको भर्त्सना !’ शीर्षक विज्ञप्ति जारी गर्दै नेता गजुरेलले भनेका छन्– ‘नेपालमा शिक्षा र स्वास्थको सुधारसम्बन्धी मागलाई लिएर गत २० दिनदेखि अनसनमा बसेका प्रा.डा. गोविन्द केसीलाई ‘उपचारका लागि’ बलपूर्वक काठमाडौं ल्याउने क्रममा के.पी. ओली नेतृत्वको (नेकपा) को सरकारले जुम्लाको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा यही ०७५ साउन ३ गते अत्यधिक मात्रामा बल प्रयोग गर्दै अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास प्रयोग गर्दा अस्पताल रगताम्य भएको छ र २० जना डाक्टर, विद्यार्थी र बिरामीहरु समेत सख्त घाइते भएका छन् ।’

अध्यक्ष गजुरेलले अगाडि लेखेका छन्– ‘सरकारले गरेको राष्ट्रघाती र जनघाती कामको सर्वत्र विरोध भैरहेका बेला, संसदमा भएको कथित दुईतिहाई बहुमतको दम्भ प्रदर्शन गर्दै जथाभावी गर्दै आएको यो सरकारले जुम्लामा अस्पताल हाताभित्र जुन बर्बर दमन गरेको छ, हामी त्यसको घोर भर्त्सना गर्दछौं । जनविरोधलाई दबाएर सत्तामा टिकिरहनका लागि यो सरकारले लागू गर्दै आएको सामाजिक फासिवादी कदमका विरुद्ध संघर्षमा उत्रनका लागि तयार रहन पनि हामी आदरणीय जनसमुदायसँग अनुरोध गर्दछौं ।’

विज्ञप्तिको अन्त्यमा उनले लेखेका छन्– ‘जनताको शक्तिका अगाडि यो कथित दुईतिहाई बहुमत टिक्न नसक्ने कुराको पनि हामी स्मरण गराउन चाहन्छौं ।’

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.