ओली र दाहाललाई मार्सी चामलको भात खुवाउने प्रसाईं को हुन् ?

 नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएको तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ भएसँगै एउटा नाम निकै चर्चामा आयो– दुर्गा प्रसाईं । उनी झापाको बिर्तामोडस्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक हुन् ।

बिर्तामोड निवासी प्रसाईंले भक्तपुरस्थित घरमा पनि वाम एकता हुनुअघि फागुन ६ मा दुवै अध्यक्षलाई मार्सी भातको ‘मेजमानी’ पस्किएका थिए। साविक शनिश्चरे गाविसमा जन्मिएका उनले शनिश्चरे माविमा कक्षा ८ सम्म अध्ययन गरेका छन्।

नजिकैको बिर्तामोडमा सहरीकरण बढदै गएपछि उनले आफ्नो बसाइ पनि त्यहीँ सारे। भैंसी चराउँदै बाल्यकाल बिताएका प्रसाईंले कुनै बेला भैंसीपालन व्यवसाय गरेका थिए। उनले केही समय फर्निचर व्यवसाय र भिट्टा व्यापारसमेत गरे। प्रसाईंले एकाएक बिर्तामोडमा मेडिकल कलेज खोल्छु भन्दा धेरैले उनको मजाक उडाए। कतिपयले त ‘बहुलायो’ सम्म भन्न भ्याए।

उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘गरिब थिएँ, सबैले हेलाँको दृष्टिले हेर्थे। तर, आज तिनीहरूकै अगाडि यत्रो हस्पिटल खोलेको छु। यो गर्वको कुरा हो। म सपना देखेपछि पूरा गर्ने मान्छे हुँ।’ उनले भनेका छन्, ‘हिजोका दिनमा भैंसी चराउने र दूध बेच्ने काम गर्थे। कुकिज र चिया खाएर काम गरेको अहिले पनि झल्झली याद आउँछ। मलाई मन नपराउनेहरूले खेदो गरेकाले नै मैले प्रगति गर्ने मौका पाएँ।’ प्रसाईं पिता कृष्णप्रसाद र माता कौशिलाका साइलो छोरा हुन्।

बिर्तामोडमा एक बिघामा अस्पताल र धाइजनमा १६ बिघामा मेडिकल कलेजको संरचना निर्माण भएको छ। हस्पिटल २०७१ फागुनदेखि सञ्चालनमा छ। प्रसाईंले कलेजका लागि ६ अर्ब लगानी गरेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘तीन सय करोड बैंकमा ऋण छ। दुई सय करोड बजारमा ऋण छ। बाँकी बिर्तामोडको जग्गा बेचेर पुर्‍याएको हुँ।’

९ सय ५० शय्याको शिक्षण अस्पताल सञ्चालनमा रहेको दाबी गरिए पनि अहिले बीएन्डसीमा त्यति संख्यामा बेड छैनन्। अस्पताल प्रसाईंका ससुरा भगवान गिरी र सासू चन्द्रमाया गिरीको स्मृतिमा खोलिएको हो। अस्पतालको अध्यक्षमा उनकी जेठी सासू इन्दिरा गिरी र सञ्चालकमा सालो डा. रामबाबु गिरी छन्।

प्रसाईंबारे नजिकबाट जानकारी राख्नेहरूका अनुसार अस्पतालमा इन्दिरा र रामबाबुको लगानी धेरै छ। भगवान गिरीका कान्छी श्रीमतीतर्फका तीन सन्तान इन्दिरा, उमा र रामबाबु हुन्। दुर्गा उमा गिरीका पति हुन्।

गिरी परिवारमा अंशसम्बन्धी विवाद भएपछि इन्दिरा, उमा र रामबाबुलाई अंश दिलाउन दुर्गाले लामो समय अदालती मेहनत गरेका थिए। अंश मुद्दा पर्दा सालो रामबाबु नाबालक थिए। दुर्गाले नै संरक्षकको भूमिका निर्वाह गर्दै रामबाबुलाई डाक्टरी पढाएका हुन्।

इन्दिरा, उमा र रामबाबुले मुद्दा जितेपछि दुर्गाको दैनिकीमा परिवर्तन आएको निकटस्थहरूको भनाइ छ। तर, प्रसाईंले आफ्नो बुबाको एक सय बिघा जमिन भएको र पैत्रिक सम्पत्तिबाटै मेडिकल कलेज खोलेको दाबी गरेका छन्। प्रसाईंका एक छोरा निराजन र छोरी आर्जु छन्। निराजनले एमबीबीएस सकेका छन् भने आर्जु एमबीबीएस अध्ययन गरिरहेकी छन्।

प्रसाईंले अनशनरत डा. गोविन्द केसीको मागअनुसार नै आफूले सुदूरपूर्वमा मेडिकल कलेज सञ्चालनमा ल्याउन लागेको बताए। प्रसाईं तत्कालीन माओवादी केन्द्रनिकट हुन्। उनले भूमिगत कालमा पार्टीलाई महत्त्वपूर्ण सहयोग गरेको नेता गोपाल प्रसाईंले बताए। ‘पार्टी कामका सिलसिलामा दुर्गाजीलाई २०५६ देखि चिन्छु। त्यतिबेला पार्टीलाई महत्त्वपूर्ण सहयोग गर्नु भएको थियो।

शान्ति प्रक्रियापछि भने पार्टीमा संगठित भएर अघि बढ्नुभएको हो। उहाँलाई पार्टीमा संगठित गराउन मैले नै भूमिका खेलेको हुँ।’ प्रसाईं सैनिक हिरासतमा समेत बसेका थिए।उनी छोटो समयमै अध्यक्ष पुष्पकमल दाहालको विश्वास पात्र बन्न सफल भएको पार्टीका जिल्ला नेताहरूको भनाइ छ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.