ओली ज्यू बिर्सनु भयो कि ‘तपाई देशको प्रधानमन्त्री पो त !’

मानिसको दम्भरुपी महलले त्यतिबेला दम तोड्छ जतिबेला उसको दम्भको आयू सकिन्छ । दम्भ आफैमा नकारात्मक हो । दम्भले कसैलाई पनि चर्चित बनाउँदैन । दम्भको भरमा लडेको युद्धले पनि निचोडमा पुर्याउँदैन । अर्थात् दम्भको दम कम समयमै सकिन्छ ।

विश्वका थुप्रै तानाशाहले समय अगाडि नै दम छाड्नु परेको छ । गद्दी त्याग्नु परेको छ । र अकल्पनीय जीवन शैली अपनाउनु परेको छ । त्यसैले दम्भको राजनीति क्षणिक हुन्छ ।

जबजब समयसंगै प्रविधिको विकास भयो तबतब मानिसका वितृष्णाका विचार पनि बाहिर आउन थालेका छन् । उदाहरणका लागि फेसबुक वा ट्वीटरजस्ता सामाजिक संजाल हेरे काफी हुन्छ ।

त्यहाँ खुशीसंगै आक्रोश पोखिन्छ । अनि लुकाउन खोजेका कुनै पनि कुरा प्रविधिले लुक्न पनि दिँदैन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जुन दम्भ प्रदर्शन गर्न खोजिरहेका छन् त्यसले आक्रोश र वितृष्णा पोखिरहेको छ ।

बहुमतको सरकारका प्रधानमन्त्री ओलीलाई लाग्दो हो कि उनले पहुमत पाएपछि आफूले जे जस्तो काम गरे पनि मतका आधारमा मतदाता तथा कार्यकर्ताले आफ्नो बचाउ गर्नेछन् ।

सामाजिक संजाल हेर्दा फाट्फुट रुपले उनको बचाउ भए पनि प्रतिकार गर्नेहरु नै बढी भएका छन् । किनकि ओलीले अझै पनि काम भन्दा कुरा नै बढी गरेका छन् ।

देशको अवस्था दिनानुदिन गिर्दो छ । सडकदेखि सिंहदरबारसम्मको हालत खराव हुँदै गएको छ । तर उनी त्यसलाई नदेखेझैं गरिरहेका छन् । यसअघि बहुमतको सरकार नभएकाले काम गर्न पाइन भन्ने उत्तम बहाना बनाएको कम्युनिष्ट सरकारले यसपटक बहुमत हुँदा समेत कुरा गरेरै सकेको छ ।

जनता कुराले मात्र लठ्ठ पर्दैनन् भन्ने कुराको ज्ञान ओलीलाई नभएको निश्चित छ । किनकि उनी रेल र पानी जहाजको सपना देखाइरहेका छन् । तर अहिले ठेलागाडा गुड्ने राम्रो सडकसमेत छैन राजधानी काठमाडौंमै ।

विरोध सहन नसक्ने पुरानो रोग

ओली विरोध सहन सक्दैनन् । आफू दशकौं राजनीति गरेर यहाँसम्म आएको फेहरिस्त बताउने गरे पनि ओलीले आत्मआलोचना गर्ने काम गरेनन् । अहिले त उनको दम्भ अझ बढी शिखरमा पुगेको छ । सरकार र दलको अवस्था हेर्दा उनी सर्वोच्च पदमा छन् । यही दम्भले विभिन्न निकायमा उनी आफू सुहाउँदो परिणामका लागि दवाव समेत दिइरहेको पाइन्छ ।

उनी विरोध सहन नसक्ने भएरै आफ्ना कार्यकर्तालाई गाली गर्न समेत भ्याएका छन् । उनको गाली थियो – सरकार विरोधीको प्रतिवाद किन नगरेको ? प्रतिवाद गर्नू ।उनी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष । उनलाई अरु पार्टी पनि छन् । उनीहरुका पनि कुरा सुन्नुपर्छ भन्ने नै लागेको छैन । उनले प्रतिपक्षी दलका आवाजलाई निस्तेज पार्न र प्रतिकार गर्न आदेश दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार पार्टीका कार्यकर्तासँगको भेटमा ओलीले मैले जे गरिरहेको छु त्यो देशको भलाईका लागि गरिरहेको छु भन्दै कार्यकर्तालाई कसैले यो सरकारले गलत काम गरिरहेको छ भनी अफवाह फैलाउँछ भने प्रतिकार गर्नु पनि भनेका छन् ।

ओली विपक्षीप्रति रुष्ट छन् । किनकि उनलाई थाहा छ बहुमतको सरकारलाई कसैले औंला ठडाउन पाउँदैन । पाँच वर्षसम्म तमासामात्र हेर्नुपर्छ । उनले नेकपा गठन भएपछि पहिलो पटक कार्यकर्तालाई समय दिए । त्यो समयमा कार्यकर्तालाई हपारे । तताउन खोजे ।

तर कार्यकर्ताले पनि त सडकको दुःख भोगेका छन् । उनीहरुलाई पनि महंगीले पिरोलेको छ । उनीहरुलाई पनि इन्टरनेटमा लागेको चार्जले छुन्छ होला । अनि उनीहरुलाई पनि रिचार्ज गरेरै फोन गर्नुपर्छ होला । आफूहरु मर्कामा परेको थाहा पाउँदा पाउँदै पनि कसरी प्रतिकार गर्ने ? यस्तो लाग्छ ओली नेकपाका मात्र प्रधानमन्त्री हुन् ।

अब यथार्थमा आउँ कि ?

प्रधानमन्त्री ज्यू अब भ्रमरुपी संसारबाट पछाडि हट्ने हो कि । तपाई सिंगो देशको प्रधानमन्त्री हो । त्यो पनि २१ औं शताब्दीको । तपाई जे भन्नुहुन्छ त्यो गर्नुभयो भने मात्र तपाईको विश्वास हुन्छ । ठेलागाडा गुडाउन समस्या भएका बेलामा पानीजहाजका कुरा गर्नुहुन्छ । हो सपना देख्नुपर्छ । तर सपना भन्दाभन्दै आजको दिनलाई नै रात पार्न त भएन नि ।

तपाई मनपरी भन्दै हिंड्ने अनि तपाईको विरोध सामाजिक संजालमा गर्यो कि कार्वाही गर्छु भन्न सुहाउने कुरा होइन ।
तपाईले चुनाव जित्नुभयो । नेकपाबाट प्रधानमन्त्री बन्नुभयो । अब त तपाई देशको प्रधानमन्त्री । नेपालीको प्रधानमन्त्री । तसर्थ तपाईले बिर्सनु भएन तपाई देशको प्रधानमन्त्री हो । सबैको प्रधानमन्त्री हो ।

विपक्षीले पनि तपाईलाई प्रधानमन्त्री भन्न पाउनु पर्छ । विदेशीले पनि तपाईलाई नेपालको प्रधानमन्त्री भन्न पाउनु पर्छ । तपाईले विपक्षीका कुरा पनि सुन्नुपर्छ ।

शक्ति पृथकीकरणको पनि तपाईले विचार गर्नैपर्छ । दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि तपाई पहिलो पटकको भन्दा बढी छाडा भएर हिंड्न थाल्नुभयो भने मुलुक त दिनानुदिन अधोगतिमा जान्छ प्रधानमन्त्री ज्यू । अब सबैको प्रधानमन्त्री हुँ भनेर बाहिर आउनुस् प्रधानमन्त्री ज्यू । सपना धेरै देख्नुभयो ब्यूँझनुस् । अब काम गरौं । मिलेर काम गरौं । सत्ताधारी त छँदैछ विपक्षीलाई पनि काममा लगाऔं ।

मुलुकका माग गर्ने र आन्दोलन चर्काउने माग सकिए भन्नुभएको छ । त्यही नै हो भने सबैलाई साथमा लिएर अगाडि बढ्नुस् । तपाई त देशको प्रधानमन्त्री पो त ।

गोविन्द केसीलाई हेर्नुस्

डा. गोविन्द केसी कुनै दलका कार्यकर्ता हैनन् । उनी नेपाली हुन् । त्योभन्दा पनि उनी सत्याग्रही हुन् । जसको अगाडि पछाडि सन्तान दर सन्तान छैनन् । उनले जे गरिरहेका छन् नेपालीका लागि गरिरहेका छन् ।

उनले राखेका माग गलत हुन् र ? माग गलत भए त माथेमा आयोग नै फ्लप भयो । आयोगका विज्ञहरु कहीं कतै गलत नियत भएका पाउनु भएको छ र प्रधानमन्त्री ज्यू । कि पाउनु भएको छ गोविन्द केसीको कतै लगानी भएको अस्पताल छ ।

उनले त सर्वसुलभ शिक्षा र सर्वसुलभ सेवा भनिरहेका छन् । व्यक्तिगत स्वार्थ कहाँबाट आयो ? गोविन्द केसीले त कम्युनिष्ट विचार बोलिरहेका छन् । कम्युनिष्ट सरकारले गर्नुपर्ने काम उनले गरिरहेका छन् । गोविन्द केसीलाई बचाउनुस् । सत्याग्रही मर्नुहुँदैन ।

तपाई देशको प्रधानमन्त्री । तपाईसंग धेरैको अपेक्षा हुन्छ । तपाई त देशको अभिभावक । अभिभावकले पनि कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्छ र ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.