संघीय समाजवादी फोरम केपी ओली नेतृत्वको सरकारमा सामेल भएको छ । फोरमको संघीय सरकारमा सहभागितापछि प्रदेश– २ को सरकार के हुन्छ भन्ने चर्चा–परिचर्चा सुरु भएको छ ।
यादवको एक तीरले दुई सिकार
प्रदेश– २ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एउटा तीरले दुईवटा सिकार गर्न खोजेको चर्चा पनि सुरु भएको छ । अध्यक्ष यादव खासमा मुख्यमन्त्री राउतलाई फेर्न र राजपालाई प्रदेश– २ को राजनीतिमा कमजोर बनाउन चाहन्छन् ।
त्यसैका लागि उनले अहिलेको समय रोजेको विश्लेषण छ । राजपाका महासचिव केशव झाको विश्लेषणमा राजपालाई किनारामा राख्न फोरमको सत्तारोहण भएको हो । हुन तयादव समुदायबाट मुख्यमन्त्री नबनाएको भन्दै उपेन्द्रमाथि चर्को आलोचना पनि छ ।
के गर्छ फोरम अब ?
फोरम तत्काल प्रदेश– २ को सरकार परिवर्तन गर्ने खेलमा भने लाग्ने छैन । यदि प्रदेश– २ को सरकारबाट राजपा नेताहरूलाई बाहिर पठाएमा मधेसको राजनीति पुनः अशान्त र अस्थिर हुने फोरमका नेताहरूको धारणा छ । त्यो अवस्थामा राजपा सडक आन्दोलनमा जाने र फोरमविरुद्ध मोर्चाबन्दी गर्ने अवस्था आउनेछ ।
सरकारबाट बाहिरिएपछि सडक आन्दोलनको विकल्प नभएको राजपाका महासचिव मनीष सुमन बताउँछन् । संविधान संशोधनको मुद्दा किनारा लगाउने र प्रदेश– २ को सरकार पनि ढल्ने अवस्थामा जनताको बीचमा जानुको विकल्प नरहेको उनले बताएको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
