नेकपाकै भ्रातृसंस्था राष्ट्रियकरणको पक्षमा
नेकपाका चार भ्रातृसंस्थाले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी बनाउन माग गरेका छन् ।
वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघका अध्यक्ष रमेश पौडेल, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले नौबुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेज राष्ट्रियकरण गर्न माग गरेका हुन् ।
स्वास्थ्यलाई राज्यको मौलिक हकका रूपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधानअनुसार निजी मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी ट्रस्टमा रूपान्तरण गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सबै प्रदेशमा सुविधासम्पन्न सरकारी शिक्षण अस्पतालको सञ्चालन, चिकित्सा शिक्षाभित्रको छात्रवृत्तिलाई न्यून आय, गरिब र लक्षित समुदाय आधारित बनाई त्यसलाई पारदर्शी ढंगले वितरण गर्न पनि माग गरिएको छ ।
स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउन पनि उनीहरूले माग छ । जनताको करबाट तलब खाने, तर जनतालाई सेवा नदिनेलाई तत्काल कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।
सुन तस्करी प्रकरणः अनुसन्धान रोकियो तस्करी रोकिएन
सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि अनुसन्धान रोकिएको छ । सरकारले गृह मन्त्रालयका सहसमचिव ईश्वरराज पौडेललको संयोजकत्वमा गठन गरेको अनुसन्धान समितिको म्याद असार मसन्त सकिएको छ ।
चार महिनासम्म चर्चाको शिखरमा रहेको सुन तस्करी प्रकरणमा अनुसन्धान टोली टुंगोमा नपुगी विश्राम लिन पुगेको छ । अनुसन्धान रोकिए पनि तस्करहरुले आफ्नो धन्धा भने रोकेका छैनन् ।
प्रहरीले हरेक साताजस्तो विमानस्थलबाट सुन बरामद गर्दै आएकाले तस्करी नरोकिएको पुष्टि हुन्छ । विगत दुई साता अवधिमा त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले तीन किलोभन्दा बढी सुन बरामद गरेको छ ।, यो खबर आजको नागरिकदैनिकमा छ ।
मलेसिया जान अनुमति, ४ सय बढी लाभान्वित
काठमाडौं–सरकारले जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ । यो निर्णयबाट कम्तीमा ४ सय ५३ जना लाभान्वित भएका छन् ।
काठमाडौंस्थित दुतावासबाट सक्कल राहदानीमा भिसा स्टयाम्पिङ भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदरालाई मलेसिया जान श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको हो ।, आजको कान्तिपुरमा खबर छापिएको छ ।
पाहुना चराले बसाइ लम्ब्याए
काठमाडौं-मुलुकका विभिन्न सिमसार र जलाधारमा चरिचरणका लागि भित्रिने हिउँद यामका पाहुना चराले नेपाल बसाइ अवधि लम्ब्याउन थालेका छन् । मनसुनअगावै फर्कनुपर्ने जलपन्छी मध्य वर्षात्मा पनि यतै भेटिन थालेका छन् ।
खडखडे हाँस (गडवाल) को एउटा समूह कपिलवस्तुको जगदीशपुर तालमा भेटिएपछि सो पन्छीले नेपालमा बसाइ अवधि लब्याउनुको कारण पहिचान गर्न पन्छीविद्हरुले चासो लिएका छन् । पन्छीविद् डा. हेमसागर बरालसहितको टोलीले जगदीशपुरमा मध्यअसारको समयमा करिब १ दर्जनको संख्यामा खडखडे हाँस भेटेको हो ।
‘जेठ दोस्रो हप्ताअघि नै फर्कनुपर्ने खडखडे हाँसको समूह धेरैपछि पनि भेटियो’, डा. बरालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यसले आगन्तुक पन्छीबारेको अध्ययन अनुसन्धानको दायरा बढाएको छ ।’ हिउँदे आगन्तुक जलपन्छी वर्षाको अन्त्यसँगै नेपालका सिमसार, जलाधार र तालतलैयामा भित्रिने गर्छन् । खड्खडे हाँससहित जलपन्छीको ठूलो संख्या चीन, मंगोलिया र रुसको दक्षिणी भू–भागबाट नेपाल भित्रिने गर्छन् ।
जगदीशपुरमा गत वर्ष पनि मध्य वर्षाद्मा सुनजुरे, सिन्धुरे र खड्खडे हाँसको समूह भेटिएकोमा यसपटक खड्खडे मात्रै भेटिएको बरालले जानकारी दिए, अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
Credit : raranews.com
