अब ट्याक्सीभित्र पनि नम्बर प्लेट, गाडीभित्र कोचाकोच मान्छे राखे कारवाही !

काठमाडौँ ; महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा चल्ने ट्याक्सी, पर्यटक बोक्ने सवारी तथा अन्य सार्वजनिक बसहरु भित्रपट्टि पनी नम्बर प्लेट राख्ने कार्यको शुरुवात गरेको छ ।

मिटरजडित ट्याक्सीबाट यात्रुलाई ठगीनबाट जोगाउन तथा सार्वजनिक सवारीले नियम उल्लंघन गरेमा कारवाही गर्न सजिलो होस भन्नका लागी सवारी साधानको भित्रपट्टी पनि नम्बर राख्न शुरु गरिएको महानगरीय ट्राफिक महाशाखाका निमित्त प्रमुख (एसएसपी) बसन्त पन्तले जानकारी दिएका छन् ।

शुक्रवार ट्राफिक महाशाखामा पत्रकार सम्मेलन गरेर एसएसपी पन्तले केही ट्याक्सी र पर्यटक बोक्ने गाडीको भित्रपट्टी नम्बर टाँसेर यो अभियानको शुरुवात  गरेका छन् । ट्याक्सीभित्र यात्रुले नम्बर देख्नेगरी राखेमा मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई १०३ मा फोन गरेर अथवा प्रहरी एप मार्फत ट्याक्सी भित्रबाट सजिलै उजुरी गर्न सकिने बताइएको छ ।

ट्राफिक महाशाखाले कोचाकोच गरेर यात्रु राख्ने सार्वजनिक सवारीलाई पनि कारवाही शुरु गरेको छ । ‘अहिले सानो माईक्रोबस र तिनपांग्रे सवारीमा कोचाकोच मान्छे राख्नेलाई कारवाही शुरु गरेका छौँ,’ एसएसपी पन्तले भने, ‘ठूला बसको हकमा सिटभन्दा ५० प्रतिशत बढी मान्छे उभिएमा समस्या आएको छैन, अस्वभाविक रुपमा यात्रु कोचेको पाइएमा कारवाही गर्छौँ ।’

सार्वजनिक सवारीको संख्या कम भएको हुनाले ठुला बसमा स्वभाविक रुपमा पनी यात्रुलाई उभिन बन्द गरेमा आवत जावतमा समस्या हुने उल्लेख गर्दै एसएसपी पन्तले सिन्डीकेट हटेपछी प्रतिस्पर्धाको आधारमा सवारी साधन चल्न थालेको बताएका छन् । उनले भने, ‘३–४ वटा नयाँ कम्पनीहरु दर्ता हुने क्रममा छन्, जत्ति नयाँ कम्पनीहरु आउँछन् त्यसलाई हामी स्वागत गर्छौँ ।’

महाशाखाले सिट संख्या भन्दाबढि यात्रु राख्ने सवारी साधनको जरिवाना पनि थप गरेको छ । पहिला ५ सयसम्म लिईदै आएको जरिवाना १ हजार पु¥याएको हो । यातायात व्यवस्था विभागले प्रत्यायोजन गरिएको अधिकार अनुसार यसको जरिवाना १ हजार पु¥याइएको महाशाखाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए । त्यसैगरी महाशाखाले सार्वजनिक सवारी साधनमा धुम्रपान गरेमा १ हजार जरिवान लिने व्यवस्था पनि गरेको छ । ध्वनी संकेत निषेध गरेको ठाउँमा ध्वनी दिएमा पनि १ हजार जरिवाना तोकिएको पनि वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताए ।

एक ट्राफिक बराबर १ हजार ४४ सवारी ! 

काठमाडौँ उपत्यकामा ११ लाख ३२ हजार ९२५ सवारी साधन छन् । तर, सवारीको तुलनामा ट्राफिक प्रहरी भने न्युन संख्यामा रहेका छन् । एकजना ट्राफिकले १ हजार ४४ सवारी साधनलाई ब्यवस्थापन गर्नुपर्ने जिम्मेवारी रहेको एसएसपी पन्तले बताएका छन् । उपत्यकामा ट्राफिक प्रहरीले यो आर्थिक बर्षमा ३ लाख ७८ हजार सवारी साधनलाई कारवाहीको दायरामा ल्याएको छ । त्यसमध्ये लेन अनुशासनको कारवाहीमा पर्ने सवारीको संख्या निकै ठुलो परिमाणमा रहेको छ ।

‘यो आर्थिक बर्षमा हामीले ३८ हजार ८१४ वटा सवारीलाई लेन अनुशासनमा कारावाही गरेका छौं’ पन्तले भने, ‘दुई पाङ्ग्रे सवारीले ठूलो समस्या ल्याएको छ ।’

गत वर्षको तुलनामा मापसेमा कारवाही हुनेको संख्या घटेको छ । मिटरमा जान नमान्ने ६ हजार ६ सय ट्याक्सी कारवाहीमा परेका छन् भने हर्न बजाएको अभियोगमा १३ हजार सवारीले यस आर्थिक बर्षमा कारवाही भोगेका छन् । गत आर्थिक बर्षको तुलनामा यस बर्ष सवारी दुर्घटनाको संख्या घटेको भएपनी उपत्यकामा कुल ५ हजार १८० सवारी दुर्घटना भएको ट्राफिक महाशाखाले जनाएको छ ।

जथभावी पिक एण्ड ड्रप बन्द   

ट्राफिक महाशाखाले सार्वजनिक सवारीलाई जथाभावी यात्रु चढाउने र ओराल्ने कार्य बन्द गराउन विशेष अभियान सञ्चालन गरेको छ । ‘जेठ १६ गतेदेखी हामीले विशेष कार्यक्रम शुरु गरेका छौं’ एसएसपी पन्तले भने, ‘जथभावी पिक एण्ड ड्रप गर्ने कार्यलाई कडाईपुर्वक रोकेका छौँ, यात्रुको हकमा जेब्राक्रसिङको प्रयोग र लाईन लागेर गाडी चढ्नुपर्ने संस्कारको विकासलाई निरन्तरता दिएका छौं ।’

लेन अनुशासन कारवाही र फुटपाथ ब्यवस्थापनमा ट्राफिकले विशेष ध्यान दिएको उल्लेख गर्दै एसएसपी पन्तले बढी भाडा लिने र मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई फोकस गरेर कारवाही प्रक्रिया अगाडी बढाइएको बताएका छन् ।

यसैबीच, तिब्र गति नियन्त्रणका लागी भक्तपुरमा राडार गनको प्रयोग शुरु गरिसकेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.