हाँस्दै पसेका मन्त्री जब भावुक भए…

 

कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि मंगलबार उनले राजीनामा दिएका हुन् ।

दिउँसो २ बजेपछि मन्त्रालयमा पत्रकार सम्मेलन सुरु भयो । तामाङसँगै उपस्थिति थिइन् पत्नी उषकला राई । हाँस्दै पत्रकार सम्मेलनमा प्रवेश गरेका तामाङले आफ्ना कुरा पनि हाँस्दै राखे । मन्त्रालय सम्हालेको छोटो समयमा आफूले गरेका कामको फेहरिस्त सुनाए । ३ असोजसम्म सबै कानुन बनाउनुपर्ने संवैधानिक व्यवस्था अनुसार काम गरेको बताए । मौलिक हकसँग सम्बन्धित १५ वटा कानुन बनेर अगाडि बढिसकेको जानकारी दिए ।

सार्वजनिक पद धारण गरेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुन मन्त्रिपरिषदमा दर्ता भइसकेको, प्रदेश तहलाई १७ वटा कानुन बनाएर पठाएको, स्थानीय तहका न्यायिक समितिका लागि आवश्यक कानुन पनि पठाइसकेको लगायतका प्रगति सुनाउँदै गर्दा उनी रोकिए । यी सबै कामहरू ‘अन्ततोगत्वा…’ भन्दै भावुक बनेका उनी केही बेर बोल्नै सकेनन् । उनका आँखाबाट आँशु झर्न थाल्यो ।

सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न कानुनमा सुधार गर्नुपर्ने आफ्नो मान्यता रहेकाले सोही अनुसारका कानुन बनाउने काम गरेको उनले बताए । समयमा सम्पत्ति विवरण नबुझाउने २५ जना न्यायाधीशलाई ५ हजारका दरले जरिवाना लगाउने निर्णय न्यायपरिषदबाट गराइएको पनि बताए ।

आफूले मन्त्री पदमा रहेर गरेका प्रगतिबारे जानकारी गराउने क्रममा उनले यी सबै कामहरू ‘अन्ततोगत्वा…’ भन्दै पुनः भावुक भए । पटक–पटक आँशु पुछ्दै बोल्ने प्रयत्न गरे पनि उनको गला अवरुद्ध भइरह्यो । अन्ततः सम्हालिएर बोल्दै उनले समयसीमाभित्रै मौलिक हकहरुको कार्यान्वयन गर्ने कानुन बन्ने दृढता व्यक्त गरे ।

सिन्धुपाल्चोक– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तामाङले २ चैतमा मन्त्रीको सपथ लिएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.