सुदूरपश्चिमको राजधानी गोदावरीमाथि १९६ पहिरो

असाेज १६ । सुदूरपश्चिम प्रदेशको राजधानी घोषित गोदावरीको तेघरी समुद्री सतहबाट २१० मिटर उचाइमा छ । २३० मिटरबाट चुरे सुरु हुन्छ । चुरेको अलिकति भित्र छिर्नेबित्तिकै पहिरोहरू सुरु हुन्छन् ।गोदावरी नगरपालिकाको चुरे क्षेत्रमा मात्र १ सय ९६ वटा सानाठूला पहिरो छन् ।

गोदावरी नगरपालिकासँग जोडिएका आसपासका चुरे क्षेत्रमा ८ सय हाराहारीमा पहिरो छन् । विशेषज्ञहरूले ४ सय मिटरभन्दा बढी लम्बाइ भएका पहिरोलाई मात्र ‘पहिरोको गणना’ मा राखेका छन् ।

भीमदत्त राजमार्गस्थित गोदावरी खोलाको पुलबाट करिब एक किलोमिटरमाथि भीमकाय पहिरो रहेको सूदूरपश्चिमको चुरे क्षेत्रका पहिरोबारे अध्ययन गरेका इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकालले जानकारी दिए । उनका अनुसार गोदावरीमाथिको चुरेको शिरमा केही सय मिटरको ग्यापमा कयौं पहिरो छन् । ती पहिरो कमलो माटोबाट बनेकाले मनसुनका बेला वेगमा बग्ने गेग्रानले तल्लो तटीय क्षेत्रमा असुरक्षा बढाउने उनले बताए ।

त्रिभुवन विश्वविद्यालयको वातावरण तथा विज्ञान केन्द्रीय विभागले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको आर्थिक सहयोगमा करिब डेढ वर्षअघि सुदूरपश्चिममा चुरेका पहिरोबारे विस्तृत अध्ययन गरेको थियो ।

अध्ययनमा संलग्न विभागका तत्कालीन प्रमुख प्राध्यापक केदार रिजालले चुरेका पहिरो र विनाश रोक्नेतिर ध्यान दिनुपर्नेमा राजधानी घोषणा गरिनु गलत भएको टिप्पणी गरे । बेलैमा चुरे र त्यहाँ देखिएका पहिरो नियन्त्रण तथा रोकथाममा ध्यान नदिने हो भने गोदावरीमा मात्र होइन तल्लो तटीय क्षेत्रका बहुमूल्य संरचना, कृषियोग्य जमिन र भारतीय सीमासम्मै मरुभूमीकरण निम्तिन सक्ने रिजालको विश्लेषण छ ।

गोदावरीको तेघरी चुरे पर्वत शृंखलाको काखमा छ । भूगर्भविद् ढकालका अनुसार चुरेबाट बगेर आउने गेग्रानले भावर र समथर भाग बर्सेनि पुरिने क्रम बढिरहेको छ । गोदावरी क्षेत्रमा पनि त्यो समस्या निम्तिन सक्ने उनको बुझाइ छ ।

चुरेमै विद्यावारिधि गरेका विजयसिंह दनुवारका अनुसार झापादेखि कञ्चनपुरसम्मै भावर र तराई क्षेत्रमा चुरेले बगाएर ल्याएका गेग्रानले मलिलो जमिन र भौतिक संरचना पुरिने क्रम बढिरहेको छ । विकास निर्माण गर्दा त्यसबाट पनि पाठ सिक्नुपर्ने उनले बताए ।

पूर्वपश्चिम राजमार्गमा रहेका धेरै पुल गेग्रानले पुरिने अवस्थामा पुग्नुले पनि दनुवारको भनाइलाई पुष्टि गर्छ । धेरै पुल नदी छुने अवस्थामा पुगेका छन् भने कयौं सहर मनसुनको समयमा बाढी र गेग्रानको चपेटामा पर्ने गरेका छन् ।

सुदूरपश्चिमको कैलालीसहित, डोटी र डडेलधुराका चुरेको पहिरो अध्ययन गरेका त्रिविको वातावरण र विज्ञान केन्द्रीय विभागका विज्ञले तल्लो तटीय क्षेत्रको दिगो संरक्षणका लागि ठूला पहिरोको उपचार (नियन्त्रण) गर्न सुझाएका थिए ।

पूर्वसचिव रामेश्वर खनालले चुरे समितिको नेतृत्व गर्दा चुरेको पहिरो नियन्त्रणलाई प्राथमिकता दिएका थिए । उनकै सोचअनुसार बढी क्षति निम्त्याउन सक्ने खतरा भएका स्थानमा चुरेको पहिरो अध्ययन गरी नियन्त्रणको काम अघि बढाइएको थियो ।

उनीपछिको नेतृत्वले त्यसमा खासै चासो देखाएको देखिन्न । ‘पूर्वदेखि पश्चिमसम्मै चुरेबाट निम्तिएका पहिरोले राजमार्ग र आसपासका बस्तीलाई विनाश गर्न सक्ने भएकाले नियन्त्रण गर्नुपर्छ भन्नेमा हामी एकमत थियौं,’ खनाल नेतृत्वको समितिमा बोर्ड सदस्य भएर काम गरेका दनुवारले भने, ‘चुरे समितिले पहिरोको अवस्था बुझेर काम गर्न सुरु गरेको भए अहिलेजस्तो विकास आयोजना चुरे र वन क्षेत्रतिर सोझिने थिएनन् ।’ कान्तिपुरमा खबर छ ।

Share this:

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.