वृद्धहरूबाट थिचिएका युवा

सरकारले युवानीति ल्याएको धेरै भयो । तर, निर्णायक तहमा युवा नेतृत्व कहिल्यै पुगेन । अपवादमा केही युवाले पाउने अवसर पनि वृद्धहरूकै निर्देशनबाट चल्यो । यसले नीति र नियम समयसापेक्ष निर्माण हुन सकेन । वृद्धहरूको थिचाइले नेपाली युवाको शक्ति नष्ट गरिदिएको छ । युवाको प्रवेश राजनीतिमा मात्र शुरु भयो । प्रशासनिक संयन्त्रमा युवाको नेतृत्व नगन्य छ । राजनीतिमा युवा प्रवेश हुन्छन्, तर नेतृत्वमा पुग्नै नसकेर रोकिन्छन् । युवा उमेरको विचार र जोस मरिसकेपछि मात्र त्यही व्यक्तिले नेतृत्वको अवसर पाउँछ । अहिलेसम्म नेपाली राजनीतिमा देखिएको दृश्य यही हो ।

‘केपी शर्मा ओलीबाट समाधान हुन्छ भन्ने आशा रहेन अब, उनी प्रधानमन्त्री भएपछि धेरै आशा थियो, ‘केही दिनअघि एकजना मित्रले फेसबुकमा तिक्तता पोख्दै थिए ।’ हुन त स्वयम् ओलीले पनि पछिल्ला दिनमा के–के न गर्छु भन्ने अभिलाषा लिएर आफू प्रधानमन्त्री भएको, तर विपक्षीले काम गर्न नदिएको बताउन थालेका छन् । उनले प्रधानमन्त्री भएपछि ठू्लाठूला दीर्घकालीन योजनाहरू त सुनाए, तर समस्याको समाधान पहिल्याउन सकेनन् । उनको शक्ति विपक्षीले के भन्छन् र कसरी उत्तर दिने भन्नेमा खर्च भएको देखिन्छ ।

अघिल्लोपटक प्रधानमन्त्री हुँदा आधा कार्यकाल नाकाबन्दीको चपेटामा थियो ओली सरकार । त्यतिबेला खर्बौँ रुपैयाँको राजस्व उठ्ती ठप्प भो । यही राजस्वबाट मुलुक चल्थ्यो । त्यतिबेला विदेशी अनुदान वा ऋण पनि औसतभन्दा धेरै तल झऱ्यो । तर, त्यसबेलाको पाठबाट सिकेर अनुशरण गर्ने धैर्य वर्तमान सरकारले राख्न सकेन । अझै राजनीति तिक्ततामै रगडिएको छ । यो मिहिनेत मुलुक निर्माणमा खर्च गर्ने परिपाटी सरकारले शुरु गर्न जानेन । विपक्षीले काम गर्न दिएन भन्ने बहानाबाजी वर्तमान सरकारले भन्न थाल्नु असफल राज्यको सूचक हो ।

हाम्रो राजनीतिले युवाको विचार र नेतृत्व कहिल्यै स्वीकार गरेन । युवाहरू पार्टीको कारिन्दा मात्र बने । एउटै व्यक्ति पटकपटक राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री हुने अवसर दिने छुटले हाम्रो राजनीति खराब बन्दै गएको छ । विगतका हरेक राजनीतिक धरातललाई हेर्ने हो भने समस्या यहीँ अड्केर बसिरहेको छ । जुन समस्या अहिले झन् विकाराल बनेर तेर्सिएको छ ।

कार्यक्षमता र सिर्जनशीलको अभावमा पनि कोही मानिस छिट्टै बूढो हुन्छ । उमेरले युवा हुँदैमा उसको काम गर्ने शैली पुरानै प्रकारको छ भने उसलाई वृद्धहरूको कोटरीमा राख्नुपर्छ ।

पछिल्ला वर्षमा नेपाली राजनीतिमा युवापङ्क्तिले सीमित घेराभित्रको अवसर पाए । खासगरी, कम्युनिस्टले युवालाई प्राथमिकतामा राखेको नाटक मञ्चन गरे । तर, नेतृत्व वृद्धहरूले नै गरिरहे । मुलुकको एउटा युवापङ्क्तिलाई राजनीति पटक्कै मन पर्दैन । कहिलेकाहीँ यही पङ्क्ति तटस्थका साथ सडकमा सामाजिक अभियान लिएर पनि ओर्लन्छ ।

कहिले चिकित्सा क्षेत्रको आन्दोलन त कहिले महँगीविरुद्धको अभियान यो युवा जमातले गर्दै आएको छ । तर, यिनै युवाहरू पनि कुनै न कुनै दलहरूले उपयोग गरिरहेका हुन्छन् । हाम्रो राजनीतिमा युवा वर्गबाट प्रगति हुने अपेक्षा कहिल्यै हुन सकेन । जनताले सधैँभर युवालाई नै राजनीतिमा देख्न चाहे । दलहरूको युवा राजनीति किन सफल हुन सकेन र एकाध युवाले पाएका जिम्मेवारीमा पनि फरक भूमिका किन देखिएन ? यसका अन्तर्वस्तु केलाउन सान्दर्भिक देखिएको छ ।

दलहरूको शीर्ष नेतृत्व भूमिकामा रहेका नेताहरूले कहिल्यै कमजोर महसुस गरेनन् । यिनले आफूलाई निर्णय गर्ने, काम गर्ने क्षमतामा युवाभन्दा सधैँ अब्बल ठाने । ९० वर्षको हाराहारीसम्म सक्रिय राजनीति गरेर विश्राम नलिई एकैपटक मृत्युवरण गरेका गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापाकै लहरमा अहिले नेपाली राजनीतिमा दुई दर्जन हस्ती छन् । कुनै पनि वृद्ध नेता विश्राम लिएर युवाहरूलाई मौका दिन चाहँदैनन् ।

थला नपरुन्जेल आफैँ मात्र काम गर्ने नेपाली राजनीतिको पुरानो चलन हो । यो परम्परावादी शैलीलाई कम्युनिस्ट नेताहरूले उस्तै रूपमा पछ्याए । प्रधानमन्त्रीको जिम्मेवार पाइसकेर उमेरले ६० नाघेका ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईजस्ता अनुहारहरू अझै युवालाई आफ्नो सिट छोड्न तयार छैनन् । भट्टराईले त नयाँ शक्ति पार्टी नै खोलेर आफैँ नेतृत्व गरिरहेका यसका पछिल्ला उदाहरण हुन् ।

मानिस उमेरले मात्र बूढो हुँदैन । कार्यक्षमता र सिर्जनशीलको अभावमा पनि कोही मानिस छिट्टै बूढो हुन्छ । उमेरले युवा हुँदैमा उसको काम गर्ने शैली पुरानै प्रकारको छ भने उसलाई वृद्धहरूको कोटरीमा राख्नुपर्छ । अहिलेका केही व्यक्ति उमेरले युवा भए पनि विचारले वृद्ध भइसकेका छन् । यसका उदाहरणहरू रवीन्द्र अधिकारीहरू हुन् । केही मानिस भने उमेरले वृद्ध भए पनि युवाकै क्षमता राख्छन् । यसका उदाहरण भनेका काङ्ग्रेसका प्रदीप गिरिहरू हुन् । सोच, क्षमता, ज्ञान र अभ्यासले मानिसलाई सधैँ युवा बनाउँछ ।

बर्माकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी ६४ वर्षको उमेरमा पनि युवा राजनीति गरेर विश्वचर्चित छिन् । नेपालमा वृद्ध होस् वा तन्नेरी नेताहरू कसैले पनि युवा राजनीति गर्न सिकेनन् । युवाहरूले जानेर पनि पार्टीकै पुरानै पद्धति पछ्याए । जुन युवाले राजनीति शुरु गर्छ, उसले पद हत्याउन अघिल्लो पुस्ताकै आनीबानी सिकिरहेको हुन्छ । गुटबन्दीमा लाग्नु, कुनै सिनियर नेतालाई उस्काउनु, चाकडीलाई प्रोत्साहन दिनु आदि कार्यबाट अहिले नेपाली युवाको राजनीति उग्र रूपमा अघि बढेको छ । अधिकांश दलका युवा सङ्गठनहरू मूल पार्टीलाई सघाउ गर्ने भऱ्याङ मात्र बनेका छन् ।

काङ्ग्रेसलाई उछिन्दै कम्युनिस्ट

काङ्ग्रेसमा युवा नेता सम्झिनेबित्तिकै झ्वाट्टै गगन थापाको नाम लिने धेरै छन् । उनको उमेर ४० कटिसक्यो । हुन त अझै पनि युवाकै श्रेणीमा चन्द्र भण्डारी वा विश्वप्रकाश शर्मालगायतका नाम पनि नसुनिने होइन । तैपनि सबैजसो युवा नेता गुमनामजस्तै छन् । १० वर्षअघिसम्म काङ्ग्रेसको एउटा पङ्क्तिले रामचन्द्र पौडेल, शेरबहादुर देउवालाई युवा नेताको श्रेणीमा राख्थ्योे । जतिबेला यी लगायत धेरै नेता ६० वर्ष पार गरिसकेका थिए ।

काङ्ग्रेसमा कलेजको राजनीति गर्ने २० वर्षे युवा र पार्टीमा अड्डा जमाउने ७० वर्षको नेतामा कुनै अन्तर भेटिँदैन । उही शैली, उस्तै राजनीतिक चरित्र र संस्कार व्याप्त छ । यही गतिमा कम्युनिस्ट युवाहरू पनि होमिएका छन् । कम्युनिस्टका परशुराम जमरकट्टेल, महेश बस्नेत वा रवीन्द्र अधिकारीलगायतमा युवा थोपडा अलिअलि त देखिन्छ, तर पार्टीको वृद्धहरूकै पथमा यिनीहरू कुदिरहेका छन् । काङ्ग्रेसले यही गरेर ठूलो पार्टी बनेको भन्ने नेपालका कम्युनिस्टलाई गतिलो छाप परेको छ ।

वर्तमान राजनीतिक सङ्कटलाई पार्टीको युवापङ्क्तिले झन् जटिल बनाइदिएको छ । सरकार गठन भएदेखि कम्युनिस्टले निरङ्कुश राजनीतिको अभ्यास गरेको छ । यसलाई कम्युनिस्ट युवापङ्क्तिले साथ दिएको छ ।

अनि, उस्तै गुटबन्दी, उस्तै कार्यगत भूमिकामा कम्युनिस्ट युवाहरू सक्रिय देखिन्छन् । युद्धको पृष्ठभूमिबाट आएको तत्कालीन माओवादी टुक्राटुक्रा भए पनि उसले पनि युवा–राजनीतिलाई निषेध गरेर अहिलेसम्म निरङ्कुशता थोपरिरहेको छ । पूर्वएमालेले पनि उही वृद्धहरूकै घरमा युवाहरूलाई थिचेर राजनीति गरेको थियो । अहिले यी दुवै पार्टी एकीकरण भएपछि झन् युवा नेतृत्व पेलिएको छ ।

वृद्ध नेताहरूलाई नै पद नपुगेको अवस्थामा युवाले मौका पाउने सम्भावना यो कम्युनिस्ट पार्टीमा ‘फलामको च्युरा’ हुने निश्चित छ । किनकि अहिलेका वृद्ध नेताहरूले यही सङ्केत देखाइरहेका छन् । स्थापनाकालदेखि हालसम्म पुष्पकमल दाहालको नेतृत्वले पूर्वमाओवादी यहाँसम्म आयो । एमालेसँग एकीकरण भएपछि झन् यसले मलजल पायो । अहिले त झन् दुवै वृद्ध नेता दाहाल र ओली मिलेर युवालाई पाखामा मिल्काउने गठजोडमा लागेका छन् । कम्युनिस्टको यो प्रवृत्ति काङ्ग्रेस शैलीकै निरन्तरता हो । अहिले पनि कम्युनिस्ट पार्टीको निर्णायक तहमा युवाको भूमिका प्रबल छैन ।

वर्तमान राजनीतिक सङ्कटलाई पार्टीको युवापङ्क्तिले झन् जटिल बनाइदिएको छ । सरकार गठन भएदेखि कम्युनिस्टले निरङ्कुश राजनीतिको अभ्यास गरेको छ । यसलाई कम्युनिस्ट युवापङ्क्तिले साथ दिएको छ । उही चाप्लुसीकै भरमा र आर्थिक उपार्जनमा कम्युनिस्ट युवाहरू सरकारको फाइदा उठाइरहेका छन् ।

सरकारले मन्त्रीबाटै बद्नामको सामना गर्नुपरेको छ । यो अँध्यारोबाट पार पाउन युवापङ्क्तिले फोहोर राजनीतिलाई सफा गर्ने मनसाय राखेका छैनन् । युवातहबाट जनतालाई केन्द्रबिन्दुमा राखेर भूमिका निर्वाह गरेनन् भने सङ्कट अझै गहिरिने निश्चित छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.