यसरी हुँदैछ नेतृत्व बाँडफाँट : पूर्वएमालेले ४ र पूर्वमाओवादीले ३ प्रदेशको नेतृत्व लिने…

 

पूर्वएमालेले चार वटा र पूर्वमाओवादीले तीन वटा प्रदेश कमिटीको नेतृत्व लिने अनौपचारिक सहमति भएको छ । १, ३, कर्णाली र ७ प्रदेशको अध्यक्ष पूर्वएमालेको तथा २, गण्डकी र ५ प्रदेशको अध्यक्ष पूर्वमाओवादीको भागमा पर्ने नेकपाका एक केन्द्री सचिवालय सदस्यले बताएका छन् ।

प्रदेश संगठन कमिटीमा स्थायी समिति तहका नेताहरूलाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिइने भएकाले अध्यक्ष र सचिव पदको बाँडफाँड पनि सन्तुलन मिलाएर गर्ने तयारी छ । प्रदेश र जिल्लामा एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव लिने गरी छलफल चलिरहेको स्थायी समितिका सदस्य तथा प्रदेश– ३ कार्यदलका सदस्य अग्निप्रसाद सापकोटाले बताए ।

‘एकताको स्पिरिटअनुसार भावनात्मक एकता प्रतिबिम्बित हुने गरी पूर्वपार्टीका तर्फबाट प्रदेश र जिल्लामा एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव लिने गरी छलफल चलिरहेको छ’– सापकोटाले भने । प्रदेश– ६ मा तत्कालीन माओवादीका नेता मुख्यमन्त्री रहेकाले पूर्वएमालेका नेताहरूले सो प्रदेशमा अध्यक्षको दाबी गरेका छन् ।

उता, प्रदेश– २ मा पूर्वमाओवादीले अध्यक्षभन्दा इन्चार्जमा बढी रुचि राखेको छ । यसअघि प्रदेशको जिम्मेवारी सम्हालेका नेताहरूको मर्यादाक्रमलाई समेत ख्याल गरेर इन्चार्ज र अध्यक्ष तथा सहइन्चार्ज र सचिव बाँडफाँडको सन्तुलन मिलाउने तयारी छ । अहिलेसम्म टुंगिएका प्रदेश– १ मा पूर्वएमाले बढी समेटिएको कमिटी बन्ने भएको छ ।

कर्णाली प्रदेशमा भने पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना समेटिएको कमिटी बन्ने भएको छ । बाँकी प्रदेशमा २ नम्बरबाहेक पूर्वएमाले बढी सदस्य रहेको कमिटी बनाउने तयारी भएको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.