‘मेहनत गरे नेपालमै सुन फल्छ’: हर्कसिंह भण्डारी

 मलेसियामा काम गरेर फर्किनुभएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्छन् । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम गर्थे । विदेशमा धेरै दुःख गरेर उनले चार वर्ष बिताए तर पैसा कमाउन सकेनन् । त्यहाँ छँदै उनले अठोट पनि गरे – स्वदेश फर्केर यही पेशा अपनाउने ।

विदेशबाट फर्केर भण्डारीले श्रीमती पार्वतीको सहयोगमा खौलाबजारमा कुखुरापालनसँगै अहिले माछापालन, बाख्रापालन र गाँउमै खुद्रा पसल सञ्चालन गरिराख्नुभएको छ । तीस वर्षीय भण्डारीले अब भुलेर विदेशमा नजाने बताउछन् । उनि भन्छन् – “मेहनत आफ्नै भूमिमा गर्न सकियो भने सुनै फलाउन सक्छौं । हामी नेपाली स्वेदशमा मेहनत गर्दैनौं । विदेश गएर पछुताउँछौं । नेपालमै सबै कुरा सम्भव छ ।”

विसं २०६६ सालमा कामको खोजीमा २१ वर्षको उमेरमा भण्डारी विदेश भासिए । विदेशी भूमिमा मालिकको आदेश मानेर बसे। मलेसियाको गर्मी, कठिन काम र न्यून तलब सम्झेर उनि अझै झस्किन्छन् । आफ्नो भोगाइ सुनाउँदै उनले भने– “आफ्नो घरपरिवार माया मारेर ऋणको भारी बोकेर विदेशिएँ । चार वर्षपछि घर फर्किंदा ल्याएको पैसा साहुको ऋण तिर्नमै ठिक्क भयो ।”

मलेसियाको ५४६ रुपैयाँ न्यूनतम तलब (नेपाली १० हजार रुपैयाँ) मा चार वर्ष गुजार्नुभएका भण्डारीलाई ती चार वर्ष काट्न निकै गाह्रो भएको रहेछ । विदेशमा पाएको कष्ट सम्झंदै उहाँले भन्नुभयो – “विदेशमा आफ्नो भन्ने कोही थिएन । बिरामी हुँदा समेत बोल्ने मान्छे पाइन्नँ” । देशमा रोजगारीको अवसर नहुँदा युवा विदेशिन बाध्य भइरहेको उनको ठम्याइ छ ।
धैरेजसो विदेश जाने बेला शुरुमा हौसिने भएपनि त्यहाँ पुगेर काम शुरु गर्दा विदेश किन आएँ होला भनेर उदेक मान्ने गरेको उहाँको अनुभव छ ।
मलेसियामा पोल्ट्री फार्ममा काम गर्दा भण्डारीलाई ६ महिनासम्म निकै दुःख भयो । “काम सुरु गरेको ६ महिनासम्म त आत्महत्या नै गरौं कि भनेर पनि सोचें,”उनले भने – “दुःख गरे एक दिन अवश्य सुख मिल्छ भन्ने सोच आयो । अनि आफैंलाई सम्हालें ।”

निर्वाचनका बेला भोटका लागि मात्रै थुप्रै नेताले आश्वासन दिने गरेको उहाँको बुझाइ छ । रोजगार दिलाइदिने आश्वासन दिने नेताहरु चुनाव जितिसकेपछि बिर्सन्छन् ।
विदेशवाट फर्केको केही दिनमै गाउँमै खुद्रा पसल थाप्नुभएका भण्डारीले केही महिनामै कुखुरापालन शुरु गरे। अहिले आएर माछापालन व्यवसाय शुरु गरेका छन्।

भण्डारीलाई श्रीमती पार्वतीले सघाइ राखेकी छिन् । पार्वतीले भनिन् – “पैसा कमाउन विदेश गएका श्रीमान् रित्तो हात आए । अनि त हाम्रो व्यवसायमा लाग्नेबाहेक अरू विकल्प नै भएन । अहिले खुशीसाथ व्यवसाय गरिरहेका छौं ।” कुखुरापालन, माछापालन, बाख्रापालन तथा खुद्रापसलबाट भण्डारी दम्पतीले मासिक रु ३० हजार जति कमाउने गरेका छन् ।

खौलाबजारसम्म पुग्न यातायात तथा विद्युत्को सुविधा नहुँदा व्यवसाय गर्न उहाँले केही असजिलो भएको छ । “दुई घण्टा लगाएर पन्ज्यु नयाँ सडकसम्म पुगिन्छ,” उहाँले भन्नुभयो – “सडक र बिजुली पुग्यो भने व्यवसाय अझै फस्टाउने थियो ।”
एक छोरा एक छोरी रहेका भण्डारी दम्पतीले छोराछोरीको लालनपालनमा समेत राम्रैसँगै गरिरहेका छन् ।

भण्डारीका व्यवसायमा स्थानीय सरकारले पनि सहयोग गरिरहेको छ । दोगडाकेदार गाउँपालिकाले माछापालनका लागि रु ८० हजार सहयोग गरेको उहाँले जानकारी दिए ।
व्यावसायिक रुपमा कृषि पेशामा लागेका कृषकहरुलाई गाउँपालिकाले अनुदान सहयोग गरिरहेको छ । दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले भने – “विदेशबाट फर्केर राम्रो व्यवसाय गरिरहेकाले हामीले भण्डारीलाई अनुदान सहयोग गरेका हौं ।”
आम्दानी बढाएर गाउँपालिकालाई मासु, अण्डा र फलफूलमा आत्मनिर्भर बनोउने उहाँहरुको लक्ष्य छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.